+
+

लोडसेडिङ अन्त्यको कोसेढुंगा : पाँच वर्षअघिको त्यो लक्ष्मीपूजा

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक १८ गते १८:३९

१८ कात्तिक, काठमाडौं । आज ‘उज्यालोको दिन’ अर्थात् लक्ष्मी पूजा । ०७३ को लक्ष्मी पूजाको दिनसम्म नेपालमा तिहारको उज्यालो ‘दियो’ र ‘मैनबत्ती’सँग मात्रै जोडिएको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ पुगेका बेला तिहारमा बिजुली बत्तीको उज्यालो दुर्लभ भइसकेको थियो । नियमित दिनहरु बिजुली नहुँदा सकसपूर्ण थिए नै, तिहारकै दिनहरुमा बिजुली बाल्न पाउनु सौभाग्य थियो ।

२०७३ वर्षको लक्ष्मीपूजाको दिनमा नेपालमा लोडसेडिङ अन्त्य गर्ने योजना बनेको थियो । त्यसपछिको पाँचौं लक्ष्मीपूजाको दिन आज नेपालका बिजुलीको कथा बिल्कुल फेरिएको छ । यो पाँच वर्षमा मुलुक लोडसेडिङको भयावह अवस्थाबाट इनर्जी स्पिल (विजुली खेर जानु) को चुनौतीपूर्ण तथा र भारत बिजुली निर्यातको सुरुआत भएको गौरवपूर्ण अवस्थामा आइपुगेको छ ।

पाँच वर्षअघिको त्यो लक्ष्मीपूजा..

पाँच वर्षअघिसम्म नेपाल चरम ऊर्जा संकटमा रुमल्लिएको थियो । लक्ष्मीपूजाकै दिनमा नेपाल विद्युत् प्राधिकरणले ‘झिलिमिली बत्ती नबाल्नू’ भन्ने सूचना नै निकाल्ने गरेको थियो ।

लोडसेडिङका बेला तिहारमा प्राधिकरणले निकालेको सूचना

२०७३ सालको लक्ष्मीपूजामा भने प्राधिकरणले बत्ती नबाल्नू भनेन । अघिल्ला वर्षहरुमा पत्रिकाभरि छापिने त्यस्ता सूचना प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछि रोकेका थिए । उनले सो दिनमा काठमाडौं र पोखरामा बिजुली नकाटिने गरी आवश्यक प्रबन्ध गर्न विभिन्न निर्देशनालयका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

लक्ष्मी पूजाकै दिनमा नियमित तालिका लोडसेडिङ त हुन्थ्यो नै, बाँकी क्षेत्रमा पनि लोड धान्न नसकेर लाइन जाने समस्या व्याप्त हुन्थ्यो । सो दिनमा परीक्षण रुपमा काठमाडौंमा कतै लाइन नकाट्ने तयारी भएको थियो ।

त्यसका लागि घिसिङसहित प्राधिकरणका उच्च अधिकारी स्युचाटारस्थित विद्युत भारप्रेषण केन्द्रको मास्टर कन्ट्रोल रुममा पुगेका थिए । साँझ छिप्पँदै र रात पर्दै जाँदा काठमाडौंको डिमान्डको उच्चतम् विन्दु ३१५ मेगावाट पुगेर तलतिर र्झन थाल्यो ।

त्यसपछि काठमाडौंको ‘उच्च माग’लाई हेरेर आपूर्तिको योजना बनाउन सकिने निष्कर्ष निकाल्दै कुलमान राति १० बजे स्युचाटारबाट निस्किए । त्यसपछि १२ बजेसम्म प्राधिकरणको टोलीले काठमाडौंमा सबै वितरण केन्द्र पुगेर परीक्षणको सफलताबारे केन्द्र प्रमुखसँग बि्रफिङ लिएको थियो ।

विगतकै जस्तो ‘अँध्यारो अपेक्षित’ त्यो तिहारमा लक्ष्मीपूजाका दिनमा पनि उज्यालो नै भइरह्यो । प्राविधिक कारणवश फ्युज गएका कारण काठमाडौं महाराजगञ्जका दुईवटा घरमाबाहेक कतै पनि बिजुली बत्ती नबलेको सूचना प्राधिकरणमा आएन ।

तिहार सकिएलगत्तै खबरहरु आए, अब काठमाडौं लोडसेडिङमुक्त हुँदैछ । यो काठमाडौंका लागि मात्रै सरप्राइज थिएन, देशभरमै यो खबरले तरंग ल्यायो । प्राधिकरणले अब क्रमैसँग देशभर नै लोडसेडिङ हटाउने घोषणा त्यसैबेला गरेको थियो ।

यसले देशभर कुलमान चर्चाको पात्र बने । त्यतिबेला केही मेगावाट बिजुली थप्न डिजेल प्लान्ट चलाउनेदेखि उपत्यका र बाहिरको लोड व्यवस्थापनको लागि वितरणलाइनहरु सुधार्नेसम्मका काम रातारात भएको थियो ।

बितेका पाँच लक्ष्मीपूजा : लोडसेडिङदेखि विद्युत निर्यातसम्म

यसरी हट्यो लोडसेडिङ

प्राधिकरणले त्यतिबेला उपलब्ध बिजुलीलाई लोडअनुसार ब्यवस्थापनलाई नै बढी ध्यान दिएको थियो । सिस्टमलाई ब्यवस्थापन गर्ने कुरामा नै कुलमान र उनको टिमले जोड दियो । आपूर्ति र मागको कुशल व्यवस्थापनबाटै लोडसेडिङ अन्त्य भएको थियो ।

पहुँचका भरमा असमान तरिकाबाट उद्योगहरुलाई वितरण भइरहेको बिजुली कटौती पनि गरिएको थियो । जनताको घरमा लोडसेडिङ गराएर केही उद्योगहरुलाई २४ घण्टा नै बिजुली दिने कुरालाई कुलमानले स्वीकारेनन् ।

२०७३ को लक्ष्मीपूजापछि लोडसेडिङ तालिका निकाल्न पनि बन्द भयो । विस्तारै उपत्यकाबाहिर लोडसेडिङ हटाउँदै लागियो । नागरिकस्तरमा आशा जाग्दै गर्दा प्राधिकरणले कम खपत गर्न गरेका सार्वजनिक अपीलमा नागरिकहरुले साथ दिए ।

२४ घण्टा लाइन दिन थालेपछि प्रणालीबाट इन्भर्टरको लोड हट्यो । प्राधिकरणका अनुसार त्यतिबेला काठमाडौंको सिस्टमबाट इन्भर्टर हट्दा २ सय मेगावाट बराबरको लोड घटेको थियो ।

बेलुकाको समयमा ठूला पिकिङ जलविद्युत गृहहरुको उपयोग गरियो । दिउँसो पानी रोकेर पिक समय (साँझ) मा कालिगण्डकी, मस्र्याङ्दी, त्रिशूली लगायतका प्लान्टहरु पूर्ण क्षमतामा चलाइयो ।

आयोजनाहरु मर्मतका लागि हिउँदसम्म कुर्ने क्रम पनि हट्यो । क्रमैसँग हिउँद लाग्नुअघि नै आयोजनाको नियमित मर्मत सम्भार गराउने र प्राविधिकरुलाई प्रोत्साहन भत्ता थपेर जतिसक्दो छिटो मर्मतको काम गराउने काम शुरु भयो । लोड व्यवस्थापनबारे जानकारी लिनका लागि प्राधिकरणको नेतृत्व नै भारप्रेषण केन्द्रमा पुग्ने गरेको थियो ।

प्राधिकरणले त्यतिबेला बेलुका उद्योगलाई बिजुली दिइएन । लोडसेडिङ नहट्दासम्म उद्योगहरुमा कसैले ८ घण्टा, कसैले १२ घण्टा र कसैले लगातार पाएको अवस्था थियो । त्यो विभेद पनि हट्यो । सबै उद्योगले २० घण्टा पाए । प्राधिकरणले लोडसेडिङ हटाउने घोषणा गरेको भारतबाट अघिल्लो वर्षभन्दा ४० मेगावाट थप बिजुली आयात गरेको थियो ।

खपत र निर्यात वृद्धिको योजना…

यसै हप्ता नेपालले पहिलोपटक भारतको प्रतिस्पर्धी बजारमा खपत भएर बढी भएको बिजुली बेच्न शुरु गरेको छ । दैनिक बोलकबोल हुने बजारमा ३९ मेगावाट बिजुली बेच्न भारतले नेपाललाई अनुमति दिएको छ । तर, नेपालले अरु ५७० मेगावाट बिजुली पनि निर्यातका लागि भारतसँग अनुमति कुरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालमा अहिले रातमा उत्पादित करिब ५ सय मेगावाट बिजुली खेर गइरहेको छ । दिनमा पनि खेर गइरहेको बिजुलीको परिमाण २ सय मेगावाट छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन दिनमा देशभर १५ सय मेगावाट मात्रै बिजुली माग हुने बताउँछन् । तर, देशभित्र विद्युत उत्पादनको जडित क्षमता भने दुई हजार मेगावाट छ ।

‘भदौको कुनै दिनमा हाम्रो प्रणालीमा अहिलेसम्मकै धेरै १६२० मेगावाट बिजुली माग आएको थियो, त्यो लगभग हाम्रै उत्पादनबाट पूर्ति भयो,’ उनी भन्छन्, ‘हामीले उपयोग गरिरहेको भन्दा बढी बिजुली उत्पादन भएकाले हामी भारतको बजारमा निर्यात गर्न थालेका छौं । यो सुखद अवस्था हो ।’

यसैवर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सकिएपछि विजुली पर्याप्त भएको हो । निजी क्षेत्रका प्रवर्द्धकहरुले पनि पछिल्ला वर्षमा आयोजना बनाउने क्रम बढ्दै गएकाले प्रणालीमा बिजुलीको पर्याप्तता बढेको घिसिङ बताउँछन् ।

अहिले प्राधिकरणले भारतको विहार प्रदेशको मागअनुसार थोरै मात्रामा भएपनि हिउँदमा फर्काउने शर्तमा पैंचोको रुपमा बिजुली दिइरहेको छ । यो वषर्ायाममा भने नेपालले भारतबाट हुने बढी निर्यात गरेको तथ्यांकबाट देखिन्छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा १ लाख २१ हजार ९ सय मेगावाट विद्युत् बिहारमा निर्यात भएको छ । यो अवधिमा नेपालले भारतबाट १ लाख ११ हजार ६ सय मेगावाट विद्युत् ल्याएको छ । तर, हिउँदमा नदीको सतह घट्दा विद्युत उत्पादन पनि घट्ने भएकाले भारतबाट विद्युत आयात बढ्ने निश्चितजस्तै छ ।

‘देशभित्र उत्पादित बिजुली देशभित्रै अधिकतम् उपयोग गर्ने नीति अनुरुप हामीले विद्युत् महसुल पनि घटाउँदै लगेका छौं, हालसालै पनि त्यो काम भएको छ’ घिसिङ भन्छन्, ‘विद्युतीय सवारी, घरायसी विद्युतीय उपकरण, उद्योग कलकारखानाको प्रवर्द्धन, पम्प सिँचाइसहित जे जति माध्यमबाट विद्युत्को खपत बढ्छ, त्यसमा केन्दि्रत भएर भविष्यमा महसुल घटाउँदै लैजान्छौं ।’

उपभोक्तालाई कम मूल्यमा बिजुली उपलब्ध गराउन प्राधिकरणको वित्तीय अवस्था पनि बलियो बन्दै जानुपर्ने र चक्रीय रुपमा त्यसले देशको अर्थतन्त्रलाई नै फाइदा पुग्ने उनले बताए ।

‘खपत हुन नसकेको बिजुली विद्युत निर्यात पनि गर्नुपर्छ,’ उनले भने, ‘योजनाअनुसार उत्पादन र खपत बढाउँदै लैजाँदा देशमा कहिल्यै कुनै किसिमबाट लोडसेडिङ गर्ने अवस्था आउँदैन, त्यसका लागि हामी प्रणालीलाई प्रविधिमैत्री, विश्वसनीय र सुदृढ पनि बनाउँदैछौं ।’

लोडसेडिङ अन्त्यपछि त्यो भन्दा धारिला चुनौती सरकार र प्राधिकरणसामु आएको बताउँछन् । ‘विगतको लोडसेडिङलाई पाठका रुपमा लिएर सम्झनामै सीमित राख्ने हो,’ उनले भने,’हामीले त्यसैअनुसर गरिरहेका छौं ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?