+
+
अविच्यूरीः किशन राई :

हङकङका नेपालीले सधैं सम्झिरहने किसन

टंक राना टंक राना
२०७८ कात्तिक १९ गते १६:५१

हङकङका नेपाली समुदायका लागि एकजना जुझारु र मनमा लागेको विचारलाई निर्धक्क व्यक्त गर्ने किशन राई हामी माझ छैनन् । दैवको लिला नै त होला, अधवैंसे उमेरमा उनले संसार छाडेर गए । दिवंगत किशन नाताले मेरो ज्वाईं पनि हुन् । सबैकुरा शतप्रतिशत नभएपनि मृत्यु शाश्वत र शतप्रतिशत हुन्छ । उनको निधनलाई स्वीकार्नु बाहेक अर्को विकल्प छैन ।

जब उनी हङकङ प्रवेश गरेर केही समयपछि एभरेस्ट खबर पत्रिका प्रकाशन सुरु गरे तब पत्रकारिताको माध्यमबाट होस् वा व्यक्तिगतरूपमा हङकङका नेपाली समुदायलाई सधैं खबरदारी गरिरहेका हुन्थे किशन राई । त्यो खबरदारी कसैका लागि तितो लाग्थ्यो त कसैका लागि नमिठो । म किशनलाई त्यसरी नै बुझ्छु ।

उनी पुख्र्यौली थलो ओखलढुङ्गाबाट धरान आए । धरानमै वाम राजनीतिमा सक्रिय रहे । महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनसँगै स्वतन्त्र विद्यार्थी युनियनको सचिवको नेतृत्व पनि सम्हाले । धरानको देशीलाइनको भौडीमा ज्ञानोदय नामको एउटा सानो पत्रिका र स्टेशनरी पसल सञ्चालन गर्दै धरान–१५ बाझगराको पिण्डेश्वर चोकनजिकै ज्ञानोदय बोर्डिङ स्कूलका संस्थापक निर्देशकको रूपमा पनि अनुभव बटुले ।

पछि उनको जीवनको यात्राले कोल्टे फेर्‍यो र दुई दशक अघि हङकङ प्रवेश गरे । त्यसछि भने हाम्रो निकट सम्बन्ध झन झाङ्गियो । उनी एभरेष्टखबर हङकङका सम्पादक/प्रकाशक छँदै थिए, आदिवासी जनजाति महासंघ हङकङ, नेपाल पत्रकार संघ हङकङका अध्यक्ष, गैरआवासीय नेपाली संघ एनआरएनएका नवनिर्वाचित केन्द्रीय सदस्य भएर हङकङका नेपाली समुदायमा उनको उपस्थिति बराबर रहने गरेको थियो । ९ भदौ ०२४ मा जन्मेका किशनको कात्तिकको ७ गते देहान्त भयो ।

दुई दशकदेखि हङकङमा बसेर विशुद्ध पत्रकारिता गरेर पहिचान बनाएका मित्र नेपाल घुम्न गएको बेला खोटाङमा आइपुग्दा संसार छाडे । उनले संसार छाडे पनि स्मृतिमा भने सदाका लागि रहिरहने छन् ।

किशन जीवितै हुँदा कैयौं पटक हामीबीच कहिले मायालु भलाकुसारी भएको छ, कहिले पाखुरा सुर्किने गरी विवाद पनि भएका छन् । ती घट्नाहरू अहिले सम्झँदा एकजना स्पस्टवक्ता मित्र गुमाएको महसुस गरिरहेको छु ।

पत्रकार र निर्धक्क बोल्ने लेख्ने बानीले होला उनले हङकङका नेपाली समुदायमा दुईखाले मित्र कमाएका थिए । एक खाले उनका विरोधी र अर्को खाले समर्थक । म चाही उनको न विरोधी भएँ न समर्थक ।

उनको काम पत्रकारिताको माध्यमबाट खबरदारी गर्नु हो, कसैले गलत गर्दैछ भने त्यसलाई खबरदारी गर्नु हो भनेर बुझेको थिएँ । समाचार लेखेककै कारण उनको प्रकाशन गृहमा एकपटक केही साथीहरूले तोडफोड र हंगामा पनि मचाएका थिए ।

म सामाजिक संघसंस्था विषेशगरी पूर्वअध्यक्षहरू हेजेन राई, हेम लिम्बु, प्रदीप थापा, रिता गुरुङलगायतका मित्रहरूले हाँकेर ल्याएको हङकङ नेपाली महासंघमा आवद्ध हुँदै आफ्नो व्यापार व्यवसायमा पनि व्यस्त हुन्थें । त्यसबेला यदाकदा विभिन्न अवसरमा हुने कार्यक्रममा हाम्रो भेटघाट र भलाकुसारी हुन्थ्यो ।

म पनि धरानबासी र उनी पनि धरानबाटै उदाएर आएको र हङकङ जस्तो कस्मोपोलियन नगरमा नेपाली भाषाको पत्रिका प्रकाशित गर्ने साहस गरेकोमा खुशी लाग्थ्यो । हुन त उनले आफ्नो पत्रिकामार्फत समग्र चिनिया–हङकङेको बारेमा समाचार नलेखेपनि नेपाली पाठक समुदायलाई उनले सूचना र समाचार पढाउने सुनाउने जमर्को गरिरहे । मैले पनि एउटा नेपालीले पत्रिका प्रकाशन गरेकोमा खुशी स्वरूप नियमित विज्ञापनहरू दिएर सहयोग गरिरहे थिएँ ।

हङकङ सरकारले समेत यो २१ शताब्दीको डिजिटल युगमा समेत छापामाध्यमको उनको एभरेष्ट खबर पत्रिकालाई मान्यता दिएको थियो । जबकी हङकङमा अन्य अल्पसंख्यक समुदायको कुनै छापामाध्यमबाट प्रकाशित खबर पत्रिका देखिएका छैनन् । हङकङमा कि चिनिया भाषाका पत्रिका छन् कि अंग्रेजी भाषाका पत्रिका छन् ।

कतिपय विषय र सन्दर्भमा हामीबीच असहमति वा विमति रहन्थ्ये । आदिवासी जनजाति महासंघको हङकङ अध्यक्ष भएको नाताले उनी तिनै जनजाति समुदाय र एनआरएन संस्थामा बढी सक्रिय रहे । साथै उनी हङकङमा बस्ने सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने हङकङ नेपाली महासंघको भने कुनै पनि कार्यकारी समिति सदस्यमा नरहेपनि समयसमयमा तिता मिठा राय सल्लाहसुझाव भने दिँदै आएका थिए । कम्तिमा पनि उनी धेरैलाई प्रश्न गर्नुपर्छ र खबरदारी जारी राख्नुपर्छ भनेर सिकाएर बिते ।

हङकङको येमाताई आगलागीमा परेका पीडित प्रवासी नेपालीलाई सहयोग गर्न उनले नै सर्वप्रथम नेतृत्वदायी भूमिका निभाएका थिए । आदिवासी जनजाति समुदायमा हङकङमा बस्नेहरू विषेशगरी पूर्वका लिम्बु, राई, पश्चिका गुरुङ र मगरको ९९ प्रतिशत बाहुल्यता छ ।

सुन्दा र देख्दा झिलिमिली विशाल आधुनिक कस्मोपोलिटीयन शहरमा सुखले बसेको जस्तो देखिन्छन् । तर सबैको अनेक अनेक समस्या छन् । चीनको एउटा समृद्ध टापुमा हाम्रै पितापुर्खाको योगदानका कारण नेपालीहरूले पनि बस्न पाएका छन् ।

बस्न पाएपनि चिनिया हङकङे जतिको हैसियत त कुनै पनि हालतमा नेपालीले बनाउने कुरै भएन । भाषा, शिक्षा र संस्कारले गर्दा उनीहरू भन्दा हामी केही न केही फरक हुने नै भयौं । यो फरक बीचमा समस्या त हुने नै भयो ।

हङकङ नेपाली महासंघले ती आम समस्यालाई समाधान गर्न हङकङ सरकारलाई कन्भिन्स गर्ने प्रयास गरिरहेको छ । किशन जीवित रहँदासम्म हङकङमा रहेका नेपाली आदिवासी जनजातिको पक्षमा खरो वकालत गरिरहे । त्यसलाई महासंघले पनि साथ र समर्थन दिएर सरकार समक्ष बुँदागत रूपमा समस्या समाधानका लागि ज्ञापनपत्र दिनेकाम जारी राखीरह्यौं ।

पूर्व पदाधिकारीहरूको सल्लाह सुझावमा म आफैं चिफ सेक्रेटरीदेखि मन्त्रीहरूलाई भेट्ने, महासंघको कार्यालयमा बोलाउने, कुरा राख्ने कामहरूमा सहभागी भएँ । कहिले प्रदीप थापा र रिताजीले हङकङ सरकारका प्रतिनिधि सांसद पदाधिकारीलाई भेटेर नेपाली समुदायको समस्याबारे व्रिफिङ गरिरहे । महासंघमा किशन प्रत्यक्षरूपमा कार्यसमिति सदस्य नभएपनि उनको राय सल्लाह सुझाव र खबरदारीले ती प्रयासहरू भए भन्न रुचाउँछु ।

हङकङ नेपाली महासंघले हङकङ बस्ने सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रम निरन्तरता दिँदै आएको छ । याउमातेइ आगलागी, कोरोना महामारी, लकडाउन जस्ता प्रतिकूल परिस्थितिमा सम्पूर्ण हङकङे नेपालीलाई हङकङ सरकारसँग सहकार्य गर्दै हङकङ नेपाली महासंघ, आदिवासी जनजाति महासंघ हङकङ तथा गैर जनजातीय संघसंस्थासँग मिलेर समस्या समाधान गर्न किशनले महत्वपूर्ण भूमिका खेलेको कुरालाई बिर्सन सकिन्न ।

यतिमात्र नभएर हङकङमा नेपाली समुदायमा आदिवासी जनजाति बाहुल्य रहेकाले नेपाल सरकारले पठाउने महावाणिज्य दूत पनि जनजाति मुलको हुनुपर्छ भनेर उनले व्यक्तिगतरूपमा होस् या आफ्नो पत्रिकामार्फत मुखर रूपमा भनिरहे । त्यसैको नतिजा पछिल्लो समयमा नेपाल सरकारले पनि जनजाति मुलका महावाणिज्य दूत पठाउन बाध्य भएको हामी सबैमा छर्लङ्ग छ ।

खासगरी हङकङमा नेपाली समुदायमा पाँचसात वटा समस्याहरू छन् । तीमध्ये पनि चिनिया भाषामा पकड नहुँदा सरकारी स्तरको रोजगार नपाउने मुख्य समस्या हो । अर्को समस्या भनेको समाधि स्थलको । किशनहरूले आदिवासी जनजातिको हितमा नेपाली समुदाय बीचमै वकालत गरिरहँदा महासंघले सरकारी स्तरको रोजगार र समाधि स्थलको बारेमा सरकारसँग पटकपटक छलफल गरेको छ । जुनसुकै संस्थाबाट नेतृत्व गरेपनि हाम्रो साझा उद्देश्य त एउटै थियो ।

यी विषय सन्दर्भमा आज उनको उपस्थिति नभएपनि त्यसलाई पूरा गर्ने थप जिम्मेवारी महासंघको काँधमा आइलागेको छ । हङकङमा नेपालीको देहान्त हुँदा लाखौं खर्च गरेर नेपाल पुर्‍याएर समाधि स्थलमा पुर्नुपर्ने बाध्यता छ । पुर्ने संस्कार संस्कृति भएकाले हङकङमा स्थान अभावका कारण उही महंगो खर्चमा जलाउनुपर्ने बाध्यता पनि छ ।

महासंघले हङकङ सरकारलाई नेपाली आदिवासी जनजातिको धर्म, रीतिरिवाज र संस्कार संस्कृति अनुसार अत्येष्टिका लागि समाधि स्थल तोकिदिन माग गर्दै आएको छ । त्यसमा हङकङ सरकार पनि सकारात्मक रहेको जानकारी महासंघलाई दिएको छ ।

त्यस्तै चिनिया भाषाको पकड नभएकै कारणले नेपालीहरूले सरकारी जागिरमा पहुच नपुगेको विषयमा पनि सरकार अवगत छ । यी सबै सन्दर्भ र विषयहरू हङकङमा बसेका नेपाली आदिवासी जनजातिकै प्रमुख समस्या हुन् र किशनजी तिनै समुदायको नेतृत्व गर्दै आएकाले महासंघले यी आम समस्याका समाधान गर्न जति छिटो हुन्छ पहल गर्न हङकङ नेपाली महासंघ, एनआरएनए, आदिवासी जनजाति महासंघ हङकङसँग सहकार्य गर्ने निर्णय गरेको चार महिना मात्र नबित्दै उनको देहान्त भयो ।

मैले महासंघको नेतृत्व गरिरहेको तीन वर्षबीचमा किशनजीसँगको सहकार्य सौहार्दपूर्ण भएको र बाँकी समय हङकङे नेपालीका आम समस्यालाई एकापसमा समन्वय र सहकार्य गरेर हङकङ सरकार समक्ष राख्दै समाधान गर्ने योजना बुनिरहेका थियौं । उनको अकस्मात निधनले एउटा नेतृत्वकर्ता गुमाएको, एउटा जुझारु मित्रको अभाव भइरहेको महसुस भएको छ ।

यो स्मृति अर्थात् उनीप्रतिको सम्मानलाई सधैं कायम राख्न हङकङ नेपाली महासंघको ११ औं महाधिवेशनको अवसरमा दिवंगत भएका प्रिय मित्र किशनजीले दिएका योगदानको कदर गर्दै महासंघले मरणोपरान्त सम्मान गर्ने तयारी पनि गरेको छ ।

हङकङमा नेपाली समुदायमा दिएको योगदानको कदर गर्दै सरकारले सम्मान समेत दिएको थियो किशनलाई । हङकङमा सरकारले दिने यस्तो सम्मान जो कोहीले पाउँदैनन् । उनले कुनै चाकडी चाप्लुसी गरेर त्यो सम्मान पाएका थिएनन् । यो मानेमा पनि उनको व्यक्तित्वको उचाइ मापन गर्न सकिन्छ ।

पछिल्लो समयमा उनको देहान्तपछि सुनियो– एउटा निश्चित समूहबीच उनको नाममा रकम उठाइदैछ र त्यो रकम परिवारलाई हस्तान्तरण गर्ने तयारी छ । यसमा मेरो धारणा भने फरक छ ।

उनी एनआरएनए, आदिवासी जनजाति महासंघ र पत्रकार महासंघ हङकङको नेतृत्वदायी भूमिका खेलेको बरिष्ठ व्यक्तित्व भएकाले साना झुण्डमा रकम संकलन नगरेर वृहत रूपमै रकम संकलन गरी डेढ दुई करोड रूपैयाँको कुनै अक्षयकोष स्थापना गरी त्यस कोषबाट बर्षेनी कुनै योग्य, दक्ष सञ्चारकर्मी, नेपालमा दुःख पाएका तर अवसर नपाएर उच्च अध्ययन गर्न नसकेका युवायुवतीलाई छात्रवृत्ति दिएर सदाका लागि किशनजीलाई अमर बनाउन सकिन्छ भन्ने मेरो बुझाइ छ ।

एनआरएनएले किसन राई चिप्लेर लडेपछि मृत्युवरण गर्न पुगेको स्थलमा शौचालय बनाउने कुरा उठाएको छ । हुन त यो कुरा त्यति नराम्रो होइन तर त्यो भन्दा बढी अरु पनि गर्न सकिन्छ ।

उनको पुख्र्यौली थलोमा उनकै स्मृतिमा कुनै पुस्तकालय, सामुदायिक भवन, छात्रवृत्तिका लागि अक्षयकोषमा पनि खडा गरेर उनको योगदानको वास्तविक कदर र सम्मान हुन सक्छ । बरु यसमा मेरो व्यक्तिगत र संस्थागत सहयोग कसरी गर्न सक्छु, त्यसका लागि तयार छु । अलविदा किशनजी ।

(लेखक राना हङकङ नेपाली महासंघका वर्तमान अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?