+
+

तिहारका गीतमा लगानी, बालुवामा पानी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १५:०३

संगीतकर्मी तथा म्युजिक भिडियो निर्माताहरु चाडपर्व लक्षित गीत सार्वजनिक गर्न लागिपर्छन् । चाडपर्वमध्येमा पनि तीजमा धेरै गीतहरु सार्वजनिक हुन्छन् । तीजकाे सेरोफेरोमा सयभन्दा बढी गीत सार्वजनिक हुने गरेका । तीजको तुलनामा दशैं तिहारमा अलि कम गीत सार्वजनिक भएपनि यसबेला पनि गीतमा लगानी गर्नेहरु उत्साहित देखिन्छन् ।

यो वर्ष पनि तिहार लक्षित दर्जनौं गीतहरु सार्वजनिक भए । चलचित्रमा तिहारका गीत अटाउन छाडेको बेला भिडियोमा भने तिहारको रमझम खुबै देख्न पाइन्छ ।

सांगीतिक क्षेत्रमा नाम चलेका थुप्रै पुराना–नयाँ कलाकारहरुका तिहार गीत युट्युबमा सार्वजनिक भए । राजेशपायल राईदेखि विष्णु खत्री, खेम सेञ्चुरी, रचना रिमाल, एलिना चौहानसम्मका तिहार गीत युट्युबमा सार्वजनिक भएका छन् । तर, यो वर्षको तिहारमा पनि पुराना गीतहरुले नै बढी स्थान पाए । लाखौं लगानी गरेर गायक–गायिकाले तयार पारेका गीतहरुले दर्शकको मन भने जित्न सकेको देखिएन ।

नयाँ गीतहरुले न त युट्युबमा राम्रो भ्युज पाउन सके, न त देउसी भैलोमा नै गुञ्जिए । गायक विष्णु खत्रीले आफूसँगै लोकदोहोरी क्षेत्रमा चर्चामा रहेका ८ जना गायक–गायिकाको स्वरमा ‘शङ्करध्वनि देउसी भैलो’ युट्युबमा सार्वजनिक गरे ।

तर, यो गीतलाई तिहार सकिँदासम्म युट्युबमा ४ लाख भ्युज पुर्‍याउन हम्मेहम्मे देखिएको छ ।

इन्द्र जीसी, रामजी खाँण, पूर्णकला बीसी, शान्तिश्री परियार, जय देवकोटा, सुनिता बुढा क्षेत्रीको स्वरमा देउसी भैलो ‘भीरको बाटो’ सार्वजनिक भयो । सोमबारसम्म यो गीतको भ्युज ६ लाख ६० हजार छ । प्रताप दास, रचना रिमाल लगायतको स्वरमा रहेको ‘सप्तरंगी भाइटीका २’ को भ्युज सोमबारसम्म २ लाख ९० हजार छ । राजेशपायल राईको स्वरमा समावेश ‘झिलीमिली झिलीमिली देउसीरे’लाई १ लाख भ्युज पाउनै हम्मेहम्मे परेको छ । खेम सेञ्चुरी र जानुका तामाङको स्वर रहेको ‘राजाको दरबार’ शीर्षकको देउसी भैलो गीतको भ्युज ४ लाख ६० हजार छ ।

गायिका अनिता चलाउनेले सार्वजनिक गरेको ‘भैलेनी’ बोलको गीतले पनि दर्शक पाएन । यो गीतमा चलेका गायक–गायिकाको स्वर तथा अभिनय छ । गीतमा अनिताको साथमा रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, एन्जिला रेग्मी, मेलिना मैनाली, बुद्ध लामा, रवि ओड, चक्र बमको स्वर तथा अभिनय छ । तर, नाम चलेका गायक गायिकाको उपस्थितीिले पनि गीतलाई चर्चामा ल्याउन सकेन ।

दुर्गेश थापाको ‘देउसी भैलो रमाइलो यता छ’ले भने युट्युबमा राम्रै भ्यूज पाएको छ । यो गीतको भ्युज २० लाख छ । टंक बुढाथोकीको ‘देउसी रे’, एलिना चौहानको ‘मेरो प्यारो भाइ’ लगायतका गीत तथा भिडियोले १० लाखको हाराहारीमा भ्युज पाएका छन् ।

तिहारमा अधिकांश स्रोता तथा दर्शक पुरानै गीतमा रमाए । देउसी भैलोदेखि सामाजिक सञ्जालमा ‘तिहारै आयो लौ झिलिमिली’, ‘दियो बाली साँझको’, ‘निधारमा लर्काएर सप्तरंगी टिको’लगायतका पुराना गीतहरु नै बढी छाए । केही वर्ष अगाडिका ‘वर्षमा दिनमा लै लै’, ‘झिलिमिली रातमा’ जस्ता केही तिहार गीत पनि गुञ्जिए ।

तिहारका नयाँ गीतमा समावेश शब्द र भाकाले दर्शकको मन जित्न सकेको पाइएन । निर्माताले लाखौं लगानी गरेर महंगा कलाकार लिएर भिडियो बनाएपनि दर्शकको आँखामा ती गीत परेका छैनन् । यसले चाडपर्वमा गीत सार्वजनिक गर्दा लगानीकर्ताले गीतको स्तरीयतामा ध्यान दिनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?