+
+

टिकटकमा भाइरल केरा खाने च्यालेन्जले देश निकाला !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १५:४३

२२ कात्तिक, काठमाडौं । पछिल्लो समय टर्कीमा बस्दै आएका सिरियाली मानिसहरुबीचमा अनौठो ट्रेण्ड चलिरहेको छ । केरा खाँदै, केराकै विषयमा जोक गर्दै गरेका भिडियोहरु सोसल मिडियामा अपलोड गरिरहेका छन् उनीहरु ।

टिकटकमा भाइरल बनिरहेका भिडियोहरुमा केरा खाएर जोक गर्ने च्यालेन्ज निकै फैलिरहेको छ ।

यी भिडियोहरु आपत्तिजनक देखिँदैनन् र टिकटकको न्यूनतम मापदण्ड भन्दा पनि बाहिर छैनन् । तर यी भिडियोहरु स्वयं जोक गर्ने सिरियाली नागरिकहरुका लागि भने गलपासो बन्दैछन् ।

घृणा फैलाउनका लागि उत्तेजक तबरले सिरियनहरुले केरा खाएको आरोप टर्किस अधिकारीहरुले लगाएका छन् । त्यसरी केरा खाएर जोक गर्दै भिडियो हाल्ने दर्जनौँ सिरियालीहरु पक्राउ परिसकेका छन् र उनीहरुलाई देश निकाला गरिँदैछ ।

टर्कीमा रहेको ठूलो सिरियन समुदायको बीचमा तिक्तता बढिरहेको बेला केरा विभाजनको प्रतीक बनेको छ ।

बनना च्यालेन्ज भिडियो पछाडिको कथा यस्तो छ 

टर्कीको पछिल्लो खराब आर्थिक अवस्थाका विषयमा सिरियन र टर्किस व्यक्तिहरुबीच भएको तातो बहसको भाइरल भिडियोबाट यो केरा च्यालेन्ज प्रभावित भएको हो । टर्कीमा पछिल्लो उच्च मुद्रास्फितिका कारण जनजिविका प्रभावित हुँदै गएको छ ।

उक्त भिडियोमा एकजना सिरियाली युवतीले फरर्र टर्किस भाषामा बोल्दै शरणार्थीहरुको कार्य नैतिकताको विषयमा बचाउ गरिरहेकी हुन्छिन् । तर त्यसको जवाफमा एक टर्किस नागरिकले चाहीँ सिरियन र अफगानहरुले जागिरमा ठाउँ ओगटेकै कारण टर्किसहरुले आफ्नै देशमा जागिर पाउन छाडेको दाबी गर्दछन् ।

विश्वमा सबैभन्दा धेरै शरणार्थी भएको मुलुक टर्कीमा ३६ लाख सिरियाली शरणार्थीहरु छन् । आर्थिक अवस्था कमजोर हुँदै जाँदा टर्कीमा आप्रवासी विरोधी आवाजहरु मुखरित हुँदै गएका छन् ।

तर उक्त भिडियोलाई भाइरल बनाउने काम एक टर्किस मानिसको भनाईले गरेको छ । जसमा उनले आफुले बजारमा एकजना सिरियालीले एक किलो केरा किनिरहेको आफुले देखेको बताउँछन् । जबकि १ किलो केरा किन्ने आफ्नो चाहीँ हैसियत नभएको उनको भनाई छ ।

उनको त्यो भनाई तथा आवाज टर्कीमा रहेका सिरियालीबीच एकाएक भाइरल बन्यो । उनीहरुले टिकटकमा त्यहीँ आवाज प्रयोग गर्दै केरा खाँदै, मुसार्दै गरेका वा केराका चित्रयुक्त फिल्टर वा मेम्स राखेर टिकटक भिडियो बनाउन थाले ।

केराको खिसिट्युरी टिकटकमा हँसिमजाकको विषयको रुपमा मात्र रहेन । एकजना व्यक्तिले टर्किस झण्डाको ठाउँमा केराको तस्वीर राखेर भिडियो पोष्ट गरेपछि त्यसले विवाद उत्पन्न गरायो । नवगठित राष्ट्रवादी पार्टीले टर्किस जनता र झण्डाको अपमान गरेको भन्दै ती टिकटक प्रयोगकर्ता विरुद्ध उजुरी दियो ।

अनलाइनमा केरालाई हतियार बनाएर सिरियन शरणार्थीहरुले आफ्नो मुलुकको आर्थिक अवस्था तथा जनताकै खिसिट्युरी र बेइज्जती गर्न थालेपछि टर्किस अधिकारीहरु क्रुद्ध भए ।

गत बिहिबार मात्रै टर्किस प्रहरीले यस्तो केराको जोक गर्दै टिकटकमा भिडियो हाल्ने ११ जना सिरियालीलाई पक्राउ गरेको र उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी देश निकाला गरिने बताएको छ । त्यस्तै राजधानी इस्तानबुलमा केरा च्यालेन्जका बारेमा टेलिभिजन रिपोर्ट तयार पार्ने एक सिरियाली पत्रकारलाई पनि प्रहरील्े पक्राउ गरेको छ ।

टर्कीको आप्रवासन महानिर्देशनालयका अनुसार यस्तो भिडियो राख्ने अभियानमा संलग्न हरेकलाई कारवाही गरिने जनाएको छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?