+
+

सातदोबाटो क्लबमार्फत ए डिभिजनमा फर्कँदै मेघराज

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १५:३६

२३ कात्तिक, काठमाडौं । यसै वर्ष ए डिभिजनमा बढुवा भएको ललितपुरको सातदोबाटो युथ क्लब कात्तिक २९ गते सुरु हुने शहीद स्मारक ए डिभजन लिग पहिलो पटक खेल्दैछ । र यही क्लबमार्फत पुन: ए डिभिजन क्लबमा फर्किँदैछन् प्रशिक्षक मेघराज केसी ।

आफ्नै काम अघि बढाउन भन्दै थ्रीस्टार क्लब छाडेका केसी गत वैशाख-जेठमा भएको पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनको प्रशिक्षक बन्दै क्लब फुटबलमा फर्केका थिए ।

ए डिभजनको नयाँ टिम सातदोबाटोले अनुभवी प्रशिक्षकको रुपमा मेघराजलाई प्रस्ताव गर्‍यो । मेघराजले पनि कोभिड-१९ का कारण आफूले चाहेको काम सुरुवात गर्न पाएनन् र सातदोबाटोको प्रस्ताव स्वीकार गरे ।

मंगलबार सातदोबाटो र मेघराज केसीबीच औपचारिक रुपमा सम्झौता हुँदैछ । क्लबका अध्यक्ष कपिल राना मगरले नयाँ टिम भएकोले टिमलाई मार्गदर्शन गर्न आफूहरुले नै मेघराजलाई रोजेको बताए । ‘हामीले नै उहाँलाई रोजेको हो । हामी बी (डिभिजन) बाट आएको नयाँ टिम भएकोले मार्गदर्शन पनि आवश्यक छ भन्ने लाग्यो’ उनले भने ।

बी बाट ए डिभिजनमा पुगेका धेरै क्लब अनुभव र राम्रो टिमको अभावमा रेलिगेसनमा पर्ने गरेका छन् । तर सातदोबाटोका अध्यक्ष राना भन्छन्, ‘हामी त्यो दोहोर्‍याउन चाहन्नौँ । टिमलाई अनुभवको खाँचो रहेकोले (मेघराजलाई) प्रस्ताव गरेका हौँ ।’

प्रशिक्षक मेघराजले पनि सातदोबाटोको प्रस्ताव आफूलाई चित्त बुझेकाले सहकार्य भएको बताए । ‘ए डिभजन लिगमा मैले धेरै वर्ष काम गरेँ । प्रतिष्ठित क्लबहरु पनि हेरेँ । थ्रीस्टार छाडेको पनि डेढ वर्ष भयो । तर ब्याड लक कोभिड-१९ ले गर्दा काम अघि बढाउने वातावरण बनेन’ केसीले भने, ‘आफ्नो काम सुरु गर्न पनि समय लाग्ला जस्तो भयो । त्यसैबेला सातदोबाटोले पनि प्रस्ताव गर्‍यो । पहिलो पटक ए डिभजनमा आएको अनुभव छैन भन्दै उहाँहरुले जिम्मेवारी दिनुभयो । मलाई पनि यसले रिलिफ हुन्छ भनेर स्वीकार गरे ।’

सातदोबाटोले ए डिभिजन लिगको तयारी गरिरहँदा मेघराजले अप्रत्यक्ष रुपमा क्लबलाई सघाइरहेका छन् ।मेघराजले आफ्नो लागि यो नयाँ चुनौती भएको र समयको माग पनि रहेको बताए । ‘यो चुनौती र अवसर दुवै हो । समयको माग पनि हो । चुनौती स्वीकार गरेर अघि बढेको छु ।’

मेघराजले थ्रीस्टार स्थापित क्लब भइसकेकाले त्यहाँको उपलब्धी नौलो नहुने तर सातदोबाटोले पाएको उपलब्धीको महत्व हुने बताए । ‘सातदोबाटोलाई एउटा लेभलको टिम बनाउन सकियो भने त्यो उपलब्धी हुन्छ । त्यसैले चुनौती र अवसर छ । नयाँ क्लब हो र स्वतन्त्र रुपमा काम गर्न पनि पाउँछु’ उनले भने ।

पीएलए स्पोर्ट्स क्लबबाट प्रशिक्षकको करियर सुरु गरेका मेघराजले ए डिभिजनको मछिन्द्र क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब र त्रिभुवन आर्मी क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?