+
+

दुई वर्षदेखि बास्केटबल खेल ठप्प, खेलाडीको प्रश्न – हामी कहिले खेल्न पाउँछौं ?

साउथ एसियन बास्केटबलमा नेपालले भाग नलिने

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ कात्तिक २४ गते १९:३१

२४ कात्तिक, काठमाडौं । नोभेम्बर १५ देखि बंगलादेशमा हुने साउथ एसियन बास्केटबल एसोसिएसन (साबा) च्याम्पियनसिपमा नेपाल सहभागी नहुने भएको छ । बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले तयारी गर्न नपाएकाले सहभागी नहुने निर्णय गरेको बताए ।

राष्ट्रिय खेलकुद परिषदले समयमा बजेट निकासा नगर्दा तयारी गर्न नपाएको उनको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुन नपाउँदा खेलाडीहरु भने चिन्तित छन् । कप्तान सदिश प्रधानले बास्केटबल संघलाई बेलैमा जानकारी गराए पनि प्रतियोगितामा सहभागिताका लागि पहल नगरेको बताए । ‘हामीले २०११ देखि निरन्तर साबा खेलिरहेका छौँ । तर यस पटक खेल्न नपाउने भयौँ । साग पछि न त राष्ट्रिय स्तरमा खेल भएको छ न अन्तर्राष्ट्रिय स्तरमै’ उनले दुखेसो गरे ।

प्रधानले अघि भने, ‘दक्षिण एसियाली खेलकुदमा हामी तेस्रो भएका थियौँ । अहिले माल्दिभ्स र भुटानले पनि राम्रो गरिसके जस्तो लाग्छ ।’

बास्केटबलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा चार फरक विधामा पदक दिलाएको थियो । महिला टिमले रजत पदक जित्दा पुरुष टिमले कास्य जितेको थियो । यस्तै थ्री बाई थ्री मा पुरुष टिमले रजत र महिला टिमले कास्य जितेको थियो ।

तर सन् २०१९ डिसेम्बर  (२०७६ मंसिर) मा भएको उक्त प्रतियोगितापछि बास्केटबलको राष्ट्रियस्तरको खेल भएको छैन । ‘साग पछि खेलेको छैन, दुई वर्ष हुन लागिसक्यो’ पुरुक्ष टिमका कप्तान प्रधानले भने, ‘अहिले रिजनल टुर्नामेन्ट पनि खेल्न पाएनौँ । अब कहिले खेल्न पाउने हो थाहा छैन ।’

यस्तै महिला टिमकी कप्तान सदिना श्रेष्ठले पनि आफूहरुले खेल्नै नपाएको गुनासो गरिन् । स्थानीय प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीले खेल्न नपाउने प्रावधान रहेकोले आफूहरुले खेल्न राष्ट्रिय प्रतियोगिता नै हुनुपर्ने उनको भनाइ छ ।

लामा टेण्डी शेर्पा बिरामी भएपछि हाल बास्केटबल संघमा भीमसिंह गुरुङ कार्यबाहक अध्यक्ष छन् । संघले वर्षको एक पटक राष्ट्रिय स्तरको प्रतियोगिता गर्नुपर्ने भएपनि हाल गर्न सकेको छैन ।

अध्यक्ष गुरुङ भने सरकार र राष्ट्रिय खेलकुद परिषदबाट सहयोग नपाएको गुनासो गर्छन् । फुटबल र क्रिकेटको नियमित प्रतियोगिता भइरहेको छ नि भन्ने प्रश्नमा अध्यक्ष गुरुङ भन्छन्, ‘फुटबललाई एएफसीबाट पैसा आउँछ । क्रिकेटलाई आईसीसीबाई पैसा आउँछ । वार्षिक बजेट नै छुट्याउने भएकोले उनीहरुले प्रतियोगिता गर्नैपर्छ नत्र फिर्ता हुन्छ । त्यसैले पनि फुटबल क्रिकेट भइरहेको छ ।’

यद्यपि उनले वार्षिक कार्ययोजना तयार भइरहेको बताए । ‘हामीले वार्षिक कार्ययोजना तयार गरिरहेका छौँ । ७५ प्रतिशत काम सकियो । अब २५ प्रतिशत बाँकी छ’ गुरुङले भने, ‘३६५ दिन नै गतिवधि गर्ने भनेर तयारी गरिरहेका छौँ । ४-५ वटा प्रतियोगिता तुरुन्तै घोषणा गर्ने तयारीमा छौँ ।’

यस्तै निकट भविष्यमा संघले लिग प्रतियोगिता गर्ने तयारी भएको पनि बताए । यस्तै संघले एनप्याब्सन र प्याब्सन संग मिलेर उमेर समूहको प्रतियोगिता गर्ने तयारी भएको पनि उनी बताउँछन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?