
२५ कात्तिक, काठमाडौं । युद्ध साहित्य पुरस्कार कोषले केदार संकेतको युद्ध उपन्यास ‘अफगानी रणमैदान’लाई ‘युद्ध साहित्य पुरस्कार २०७८’ प्रदान गर्ने घोषणा गरेको छ । यो पुरस्कार सन् २०२२ मा एक भव्य कार्यक्रमको आयोजना गरी प्रदान गर्ने निर्णय गरेको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशी ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । दुई वर्षभित्रमा प्रकाशित भएको युद्ध साहित्यको कृति वा युद्ध साहित्यको उन्नति, प्रगति, संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने कोषले जनाएको छ ।
युद्ध साहित्य पुरस्कार पाउने केदार संकेत पहिलो लेखक हुन । उनका हालसम्म आफैं जलेको देश (कविता संग्रह २०६४), एथेन्सको झरी (यात्रास्पर्श) २०६७), पैयुँका फूलहरू (हाइकु संग्रह २०६८), संकेतका कविताहरू (कविता संग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०), ताँ गो तेकेरे नुङ (कोइँच भाषाको कविता संग्रह २०७३) र बुद्धल्यान्ड टु स्वीट्जरल्याण्ड (यात्रास्पर्श २०७५) कृतिहरू प्रकाशित भएका छन् ।
सांग्रिला पुस्तक प्रालिद्वारा प्रकाशित ‘अफगानी रणमैदान’ युद्ध उपन्यासमा संकेतले सैनिक सेवामा हुँदादेखि हालसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरूलाई पस्किएका छन् ।
उनी अनेसास ठाकुरप्रसाद उत्कृष्ट कृति पुरस्कार (२०६८) र जैमली साहित्य डायस्पोरा पुरस्कार (२०६९)बाट पनि सम्मानित भइसकेका छन् । उनी ‘साहित्य सँगालो’ वेबसाइटका प्रधान सम्पादक पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4