+
+

पौडेलको प्रस्ताव : मलाई सभापतिमा साथ दिनुस्, तीन तहको चुनावपछि विदा लिन्छु

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ कात्तिक २६ गते २०:१०

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुसँग तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारेका छन् ।

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने तय भएको छ, तर पौडेल समूहले साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । यो समूहमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला दावेदार छन् ।

चार आकांक्षीबीच सहमति जुट्न सम्भावना गर्दै गएपछि वरिष्ठ नेता पौडेलले शुक्रबार आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर नयाँ प्रस्ताव अघि सारेका छन् ।

‘कि तपाईहरु नेतृत्वका विषयमा सहमति गर्नूस्, नत्र म सबैलाई संयोजन गर्न सक्छु, मलाई नेतृत्वमा सबैले अगाडि सार्नुस्,’ पौडेलले बैठकमा भने, ‘म पुरा कार्यकाल सभापति बन्दिन । तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर विदा हुन्छु । त्यसपछि तपाईँहरुलाई नै छोड्छु ।’

१३ औं महाधिवेशनमा आफू पराजत भएपनि निष्क्रिय नभएको भन्दै उजले सहमतिका लागि भूमिका खेल्न युवा नेताहरुलाई आग्रह गरे । उनले भने, ‘तपाईँहरुले यो भएन, त्यो भएन भनेर मात्रै भनेर हुँदैन । सहमतिका लागि भूमिका खेल्नुपर्‍यो ।’

बैठकमा नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्र प्रसाद बडु, कमला पन्त, डा. चन्द्र भण्डारी, डा. शेखर कोइराला, गगनकुमार थापा, धनराज गुरुङ र सरिता प्रसाईं सहभागी थिए ।

सभापतिका आकांक्षी डा. शेखर कोइराला नेतृत्वका विषयमा मौन रहे भने महामन्त्री शशांकले एउटै उम्मेदवार बन्नुपर्नेमा जोड दिएका छन् । तर को उम्मेदवार बन्ने भन्नेमा उनले पनि केही बोलेनन् । ‘हामीहरुबीचबाट एउटा मात्रै उम्मेदवार भएन भने पार्टी देउवालाई बुझाइदिए हुन्छ,’ उनले बैठकपछि पत्रकारहरुसँग भने, ‘सभापतिमा सबैको आ-आफ्नै दावी छ, तर सहमतिको पहल पनि भइरहेको छ ।’

सभापतिका आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह बैठकमै सहभागी भएनन् । उनी पौडेलसँग टाडिएका छन् । बैठकमा नेता सिंहको अनुपस्थितिबारे केन्द्रीय सदस्य थापाले भने प्रश्न गरेका थिए ।

जवाफमा नेता अर्जुन नरसिंह केसीले पूर्वमहामन्त्री सिंह काठमाडौं बाहिर भएकाले बैठकमा सहभागी हुन नसकेको बताएका छन् । साथै सिंहसँग छुट्टै छलफल गरेर असन्तुष्टिको सम्बोधन गरिने बताए ।

अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले शीर्ष नेताहरुले सभापतिमा सहमति नखोजे आफूहरुले नै उम्मेदवार चयन गर्ने चेतावनी दिए । ‘तपाईँहरु नमिल्ने हो भने हामीहरुले नै नेतृत्व छान्छौं । हामी चाहन्छौं, तपाईँहरु नै मिलेर एक जना सभापतिको उम्मेदवार बन्नूस्,’ उनले भने, ‘हाम्रा -युवाहरु) लागि यो महाधिवेशन सम्झौता हो । अर्काे महाधिवेशन हामीहरुको हो ।’

नेता थापाले पनि सहमतिमै नेतृत्व चयन गर्नसुझाए । ‘यो समूहबाट सभापतिमा एक जनाको मात्रै उम्मेदवारी भएन भने तलबाट आउने हाम्रा पक्षका महाधिवेशन प्रतिनिधि कसैले पनि तपाईहरुलाई मत हाल्दैनन्,’ उनले भने, ‘हार्ने निश्चित हुन्छ, भन्ने थाहा हुँदाहुँदै किन तपाइर्ँहरुलाई मत दिन्छन् ?’

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गरे । उनले आइतबार बस्ने केन्द्रीय समिति बैठकपछि सहमतिका लागि प्रयास गरिने बताए । ‘हामी सबै सहमतिको प्रयासमा छौं, यसलाई अन्तिम टुंगो लगाउन बाँकी छ,’ उनले भने, ‘उम्मेदवारहरुबीच मात्रै पनि छलफल गर्छाैं । महाधिवेशनसम्म एउटा मात्रै उम्मेदवार तय हुन्छ ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?