+
+

नेकपा माले : प्रदेश संरचना हटाउने, प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने

पार्टी महासचिव सीपी मैनाली नै

नेकपा माले स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्ने पक्षमा उभिएको छ । उसले अहिलेको संसदीय प्रणाली असफल भएको निष्कर्ष निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको लाइनसमेत पारित गरेको छ । नारायणगढस्थित नारायणी कला मन्दिरमा जारी महाधिवेशनले मालेको महासचिवमा पुनः सीपी मैनालीलाई चयन गर्ने निश्चित रहेको नेताहरु बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १७:३१

२९ कात्तिक, चितवन । नेकपा माले स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्ने पक्षमा उभिएको छ । उसले अहिलेको संसदीय प्रणाली असफल भएको निष्कर्ष निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको लाइनसमेत पारित गरेको छ ।

चितवनमा आयोजित आठौं राष्ट्रिय सम्मेलनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान सबै दलहरुसँग लबिङ गर्ने गरी निर्णय गरेको पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य परशुराम लामिछानेले जानकारी दिए ।

माले नेता लामिछानेले पार्टीमा निकै छलफल भएर प्रत्यक्ष निर्वाचित कार्यकारीविना राजनीतिक स्थिरता हुननसक्ने निष्कर्ष निकालिएको बताए । ‘अहिलेको बेलायती मोडलको संसदीय व्यवस्थाले देशको दीगो विकास हुन नसक्ने देखियो, यसका थुप्रै विकृती देखिए,’ लामिछानेले भने, ‘यसलाई छाडेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान सबै दलहरुसँग लबिङ गर्ने गरी निर्णय गरेका छौं ।’

यसैगरी महाधिवेशन मूल आयोजक समिति संयोजक दिनानाथ घिमिरेले प्रदेश संरचना हटाएर नेपाली शैलीको संघीयता निर्माण गर्न नेकपा मालेले पहल गर्ने बताए । स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्ने उनको भनाइ छ ।

संसदीय व्यवस्था असफल भैसकेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू गर्न र प्रगतिशील लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्न मालेले नेतृत्व गर्ने उनले दाबी गरे ।

पार्टी महासचिव सीपी मैनाली नै

यही कात्तिक २७ गतेबाट सुरु भएको नेकपा मालेको आठौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिंदैछ । नारायणगढस्थित नारायणी कला मन्दिरमा जारी महाधिवेशनले मालेको महासचिवमा पुनः सीपी मैनालीलाई चयन गर्ने निश्चित रहेको नेताहरु बताउँछन् ।

वि. सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव सिपी मैनाली हुन् । ०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो । त्यसपछि मैनाली पनि एमालेको नेता बने ।

०५४ साल फागुनमा बामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि बामदेव गौतमसँगै मालेमै रहे । ०५८ साल फागुनमा बामदेव गौतमलगायतका नेताहरू फेरि एमालेमा फर्किए पनि मैनाली भने मालेमै रहेका छन् ।

राष्ट्रिय महाधिवेशनले करीब ७५ सदस्यीय केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिले ११ सदस्यीय स्थायी कमिटी तथा २१ जनाको पोलिटब्यूरो बनाउने नेता लामिछानेले बताए । त्यस्तै २० वटा विभागहरुको नेतृत्व पनि चयन हुनेछ ।

राष्ट्रिय महाधिवेशनलगत्तै पालिका, जिल्ला र प्रदेशस्तरका अधिवेशन गर्ने मालेको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?