+
+

बाइडेन र सीबीच साढे ३ घण्टा लामो भर्चुअल बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १४:५५

३० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल बैठक भएको छ । ताइवान, हङकङ र मानव अधिकारको विषयलाई लिएर अमेरिका र चीनबीच बढ्दो तनाव कम गर्ने प्रयास स्वरुप दुवै नेता भर्चुअल बैठकमा सहभागी भएका हुन् ।

बाइडेनले जनवरीमा राष्ट्रपति बनेपछि पहिलो पटक चिनियाँ समकक्षीसँग बृहत विषयमा कुराकानी गरेका हुन् । मंगलबार सम्पन्न बैठकमा दुवै नेताले आ-आफ्ना कुरा प्रस्ट तथा इमान्दारिताका साथ राखेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

झण्डै साढे तीन घण्टासम्म चलेको भर्चुअल बैठकमा बाइडेनले हङकङ र जिनजियाङ क्षेत्रमा मानव अधिकारको विषय उठाएका छन् । यता सीले ताइवानसम्बन्धी ‘रेड लाइन’ व्यक्त गरेको रोएटर्सले जनाएको छ ।

भर्चुअल बैठकमा चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षी बाइडेनलाई ताइवानी स्वतन्त्रतालाई उचाल्नु भनेको ‘आगोसँग खेल्नु’ जस्तै भएको बताएका छन् ।

चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार ‘ताइवानी अधिकारीले स्वतन्त्रतासम्बन्धी आफ्नो एजेण्डाका लागि बारम्बार अमेरिकी सहयोग खोज्दा र ताइवानलाई प्रयोग गरेर चीनलाई घेराबन्दी गर्ने केही अमेरिकीहरूको मनसाय’का कारण पछिल्लो तनाव देखिएको हो ।

‘यस्ता कदम आगोमा खेल्ने कामजस्तै निकै खतरनाक छन्,’ ग्लोबल टाइम्सलाई उदृत गर्दै बीबीसीले लेखेको छ, ‘जो आगोसँग खेल्छ ऊ डढ्छ ।’

यता भर्चुअल बैठकमा बाइडेनले ‘ताइवानको यथास्थिति बदल्ने वा उक्त क्षेत्रको शान्ति वा स्थिरतालाई अवमूल्यन गर्ने कुनै पनि एकपक्षीय कदमको कडा विरोध गरेको’ ह्वाइट हाउसले जनाएको छ ।

ताइवानका विषयमा कडा शब्द प्रयोग भएपनि बैठकको शुरुमा दुवै नेताले एकअर्कालाई हार्दिकताका साथ सम्बोधन गरेका थिए । सीले बाइडेनलाई आफ्ना पुराना साथी भनेका थिए भने बाइडेनले दुवै नेताबीच सधैं इमान्दारितापूर्वक र प्रस्टसँग कुरा हुँदै आएको बताएका थिए ।

त्यस्तै, भर्चुअल बैठकमा व्यापार क्षेत्रमा देखिएको मतभेदबारे पनि छलफल भएको छ । बाइडेनले चीनको अनुचित व्यापार तथा आर्थिक नीतिबाट अमेरिकी कामदार र उद्योगलाई बचाउन आवश्यक रहेको बताएका छन् ।

जलवायु परिवर्तनबारे समेत दुवै नेताबीच कुराकानी भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?