
१ मंसिर, सुर्खेत । आगलागी पीडितका लागि राहत लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुगु पुगेको छन् । उनी राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधबार बिहान आगलागीबारे स्थलगत अनुगमन गर्न मुगु पुगेका हुन् ।
आगलागी पीडितका लागि खाद्यान्न, लत्ताकपडा र त्रिपाल वितरण गरिने छ । तत्कालीन राहत सामग्रीहरू टेन्ट, लत्ताकपडा, भाँडा काठमाडौंबाटै ल्याइएको छ । सुर्खेतबाट खाद्यान्न र रेडक्रसको राहत सामग्री लगिएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ ।
मंगलबार बिहान प्रदेश विपद् व्यवस्थापन समितिको वैठक बसेर आपतकालीन राहत लिएर मुख्यमन्त्री शाही मुगु जाने कार्यक्रम बनाइएको थियो । तर, हेलिकप्टर ढिला आएपछि तालिका रद्द भएको थियो ।
आज गएको मुख्यमन्त्रीको अनुगमन टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, मुगुका सांसद् झोवा विक, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सहभागी रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सोमबार राति गमगढी बजारमा आगलागी हुँदा २१ वटा घरमा क्षति भएको छ । राति सल्किएको आगो बिहान साढे ४ बजे मात्र नियन्त्रणमा आएको थियो । प्रदेश प्रहरी कार्यालयका अनुसार १८ वटा घर र तीन वटा घुम्ती पसलमा क्षति पुगेको हो ।
प्रतिक्रिया 4