 
																			१ मंसिर, काठमाडौं । एकअर्का मुलुकका सञ्चारकर्मीमाथि लगाइँदै आएको प्रतिबन्ध खुकुलो पार्न चीन र अमेरिका सहमत भएका छन् ।
अमेरिका र चीनले जारी तनावलाई केही कम गर्ने प्रयासस्वरुप एकअर्का मुलुकका पत्रकारलाई समान र सम्मानजनक व्यवहार गर्ने सहमति गरेका हुन् ।
बुधबार चिनियाँ समाचार माध्यम चाइना डेलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र सी जिङपिङबीच मंगलबार भएको भर्चुअल बैठकपूर्व नै एकअर्का मुलुकका सञ्चारकर्मीमाथि लगाउँदै आएको प्रतिबन्ध खुकुलो पार्ने सहमति भएको जनाएको हो ।
सहमतिअनुसार अमेरिकाले चिनियाँ सञ्चारकर्मीलाई एक वर्षमा पटक-पटक प्रवेश गर्न सक्ने भिसा (मल्टिपल इन्ट्री भिसा) दिने र ‘ड्युरेशन अफ स्टेटस’ सम्बधी समस्या तत्काल समाधान गर्नेछ ।
त्यस्तै चीनले समेत अमेरिकी नीति लागू भएलगत्तै त्यहाँका पत्रकारलाई सोही अनुसार भिसा प्रदान गर्ने छ । दुबै मुलुकले नयाँ आवेदकलाई ‘सम्बन्धित कानुन र नियमबमोजिम’ मिडिया भिसा प्रदान गर्ने सहमति गरेको समेत चाइना डेलीले बताएको हो ।
मंगलबार अमेरिकाको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी पत्रकारलाई कानुनी मापदण्ड पूरा गरेको अवस्थामा भिसा प्रदान गर्न चीन प्रतिबद्ध रहेको बताएको छ। अमेरिकी कानुन अनुसार योग्य ठहरिने चिनियाँ पत्रकारलाई भिसा दिने कार्य जारी रहने समेत मन्त्रालयले प्रस्ट पारेको छ ।
अमेरिकी पत्रकारलाई प्रदान गरिने मिडिया भिसाको अवधि ९० दिनबाट बढाएर १ वर्ष पुर्याउन समेत चीन सहमत भएको छ ।
अमेरिकाले सरकारी चिनियाँ समाचार माध्यमका मिडियाकर्मीलाई दिँदै आएको भिसा सीमित पारेपछि दुबै मुलुकबीच १ वर्षभन्दा बढी समयदेखि विवाद देखिँदै आएको थियो।
भिसा सीमित पार्ने र मुलुकमा बसिरहेका अन्य पत्रकारले विदेशी एजेन्ट भनेर दर्ता गर्नुपर्ने अमेरिकी नीतिको जवाफस्वरुप चीनले अमेरिकी सञ्चारमाध्यममा काम गर्ने पत्रकारलाई देश निकाला गरेको थियो भने मुलुकभित्र काम गरिरहेका अमेरिकी पत्रकारमाथि कडाइ गरेको थियो। एजेन्सीको सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4