
२ मंसिर, काठमाडौं । जापानले विदेशी श्रमिकलाई लामो समयसम्म मुलुकमा बस्न दिने गरी कानुन परिमार्जन गर्न लागेको छ ।
जापानको कानुन मन्त्रालयले निश्चित क्षेत्रमा शारीरिक श्रम गर्न आउने विदेशी कामदारलाई यसअघि तोकिएको समय अवधिभन्दा लामो समयसम्म बस्न पाउने व्यवस्था हुन लागेको बताएको छ ।
मन्त्रालयका अनुसार आगामी वर्षको सुरुदेखि नै विदेशी कामदारले तोकिएको अधिकतम ५ वर्षभन्दा बढी अवधिसम्म काम गर्न पाउनेछन् ।
यसअघि सन् २०१९ मा ल्याइएको कानुनअनुसार कृषि, निर्माण र सरसफाइसहितका १४ वटा क्षेत्रमा काम गर्ने दक्ष कामदार ५ वर्षसम्म बस्न पाउने व्यवस्था छ । तर उक्त कानुनमा कामदारले आफूसँग परिवारका सदस्य ल्याउन पाउने व्यवस्था छैन।
उक्त व्यवस्थासहितका प्रावधानका कारण जापानी कम्पनीले दक्ष कामदार भित्र्याउन अनिच्छा देखाउँदै आएका छन् । तर अबदेखि सरकारले ५ वर्षभन्दा बढी समय बस्न पाउने गरी विदेशी कामदारमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्ने तयारी गरेको जापान टाइम्सले जनाएको छ ।
यदि कानुन परिमार्जन भएमा निश्चित दक्षता भएका विदेशी कामदारले आफ्नो भिसा नवीकरण गरी परिवारलाई समेत आफैसँग ल्याउन सक्छन् ।
मन्त्रिपरिषदका प्रमुख सचिव हिरोकाजु मात्सुनोले एक पत्रकार सम्मेलनमा सरकाले यसबारे सोचिरहेको बताए । तर उनले कानुनमा हुने कुनै पनि परिवर्तनपछि भिसा नवीकरण गर्न सकिने भए पनि विदेशी श्रमितले सिधै स्थायी निवासीको हैसियत भने नपाउने प्रस्ट पारे ।
सरकारी तथ्याङ्कअनुसार २०१९ को कानुनपछि ५ वर्षको अवधिमा झण्डै ३ लाख ४५ हजार दक्ष कामदार भित्र्याउने लक्ष्य राखिएको थियो । तर कोभिड(१९ महामारीपूर्व हरेक महिना केबल ३ हजार कामदार मात्रै विदेशबाट ल्याइएको थियो ।
अघिल्लो वर्षको अन्त्यसम्ममा जापानमा १७ लाख २० हजार विदेशी कामदार रहेको तथ्याङ्कले देखाउँछ ।
प्रतिक्रिया 4