+
+

दिल्लीको प्रदूषणबाट हामीले के सिक्ने ? के गर्ने ?

चक्रपाणि शर्मा चक्रपाणि शर्मा
२०७८ मंसिर ४ गते ८:३९

गत साता दिल्लीमा वायु प्रदूषणको कारण लकडाउन गर्नुपर्ने अवस्था आयो । सुप्रिम कोर्टले सरकारलाई प्रदूषण नियन्त्रणको उपयुक्त कदम चाल्न निर्देशनात्मक सुझाव नै दियो । विद्यालय बन्द गरिए । सप्ताहान्तमा लकडाउन गर्ने कुरा भयो । दिल्लीमा यस्तो अवस्था विगत केही वर्षदेखि दोहोरिने गरेको छ ।

विश्‍वभरका शहरहरूमध्ये उच्च प्रदूषित शहरमा पर्ने दिल्लीमा विशेषत: दीपावलीको अवसरमा अत्यधिक पटका पड्काउने, आसपासका प्राय: सबै कृषि क्षेत्रमा धान काटेपछि परालमा आगो लगाउने र ठूलो संख्यामा रहेका पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनबाट निस्कने धुवाँ तथा सुख्खा र चिसो मौसममा उड्ने धूलोका कारण यो अवस्था आएको वातावरणविद्हरूले निष्कर्ष निकालेका छन् । १७ नोभेम्बर, २०२१ (१ मंसीर, २०७८) मा केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले गरेको मापन अनुसार दिल्लीको एयर क्वालिटी इन्डेक्स ३७५ रहेको छ । यो निकै नै नराम्रो अवस्था हो । भारतमा मानव मृत्युको प्रमुख पाँच कारणमा एउटा वायु प्रदूषण पनि पर्दछ ।

कचौराको आकारमा रहेको काठमाडौं उपत्यकामा हाल करीब २७ लाख मानिसको बसोबास रहेको अनुमान छ । दैनिक सेवा लिने मानिस समेत हिसाब गर्दा करीब ४० लाख हाराहारीले उपत्यकाको वातावरणमा दैनिक विचरण गर्ने गरेको अनुमान गर्न सकिन्छ । उपत्यकाको केन्द्र रत्नपार्कमा २०७८ मंसीर १ गतेको वायु प्रदूषण मापन रेकर्ड अनुसार एयर क्वालिटी इन्डेक्स १६४ रहेको छ । यो विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसारको सीमा भन्दा १२.५ गुणा बढी हो ।

सबैजसो पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको उच्च चाप, चिसो मौसममा सडकमा फोहोरका रूपमा रहेको प्लाष्टिक/कागज जलाएर आगो ताप्ने बानी, फोहोर घटाउन बस्ती बस्तीमा आगो लगाउने गरिनु, विभिन्न निर्माण कार्यका कारण सडकमा धूलोको मात्रा उच्च रहनु जस्ता कारणले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढाउन सहयोग गरेको छ । कचौरा आकारमा रहेको उपत्यकाको वायु प्राकृतिक रूपमा फ्लस वा बहेर अन्यत्र जान सहज नभएकाले प्रदूषण बढेमा घटाउन निकै कठिन पर्दछ ।

विगत केही समय कोभिड-१९ को कारण सवारी साधनको चाप उल्लेख्य रूपमा कम भएकाले सवारी साधनको धुवाँ र धूलो उडेर हुने प्रदूषण बढ्न पाएको थिएन । १ मंसीरदेखि सबै स्कूल, कलेज खुलेका र सवारी साधन सामान्य रूपमा सञ्चालन हुँदा सबै मुख्य मार्गहरूमा सवारी चाप अत्यधिक देखिएको छ । जामको समस्या बढेको छ । यसले प्रदूषणलाई बल पुर्‍याएको छ । यसले गर्दा श्वास प्रश्वासजन्य स्वास्थ्य समस्या बढ्ने र विशेषत: स-साना बालबालिका र वृद्ध-वृद्धालाई बढी प्रभावित बनाउने छ । बेलैमा सजगता नअपनाउने हो भने काठमाडौंले पनि दिल्लीको दुरवस्था भोग्नुपर्ने अवस्था आउँदैछ ।

उपत्यकाको प्रदूषण बढ्न नदिन अब कसले के गर्ने ?

व्यक्तिगत तहमा-

  • प्लाष्टिक वा अन्य कागज बाल्ने काम नगर्ने,
  • फोहोरलाई प्लाष्टिकजन्य, कुहिने फोहोर र नकुहिने फोहोर गरी तीन समूहमा वर्गीकरण गर्ने,
  • दूध, तरकारी किन्ने जस्ता ससाना कामका लागि वा छोटो दूरीमा जाँदा आउँदा सवारी साधन प्रयोग नगर्ने, पैदल यात्रालाई प्राथमिकता दिने, विकल्पका रूपमा साइकलमा आवतजावतको लागि जोड दिने,
  • आ-आफ्नो सवारी साधनले उत्सर्जन गर्ने प्रदूषण मापन गरी सुधार गर्नुपर्ने देखिए मर्मतसम्भार गरी ठीक अवस्थामा राख्ने,
  • आ-आफ्नो घर अगाडि धूलो जम्न नदिने, सफा गरिराख्ने,
  • घर परिसरमा कम्तीमा दुईवटा बिरूवा रोप्ने,

स्थानीय तह

  • फोहोरलाई प्रत्येक घरपरिवार तहमा प्लाष्टिकजन्य, कुहिने फोहोर र नकुहिने फोहोर गरी तीन समूहमा वर्गीकरण गर्न लगाउने,
  • वर्गीकृत फोहोर निश्‍चित समयतालिका बनाई अलग-अलग नै संकलन गर्ने व्यवस्था मिलाउने (कुहिने फोहोर दैनिक संकलन गर्ने, प्लाष्टिक पुन: प्रयोग गर्ने कम्पनीहरू मार्फत संकलन गराउने, नकुहिने फोहोर हप्तामा एकदिन संकलन गर्ने)
  • प्लाष्टिक वा अन्य फोहोर बाल्न कानून बनाई रोक लगाउने/ कसैले अटेर गरी बालेको पाइएमा परिमाण हेरी रू.१ हजारदेखि रू.१० हजारसम्म नगद दण्ड गर्ने व्यवस्था कानूनमै राख्ने । यो व्यवस्थाको जानकारी टोल मार्फत प्रत्येक घरमा पुर्‍याउने र उक्त कामको अनुगमनको जिम्मा सम्बन्धित टोल विकास संस्थालाई दिने,
  • पराल तथा गहुँको छ्वाली लगायत कृषिजन्य अवशेष जलाउन रोक लगाउने,
  • निर्माणको कारण जम्मा हुने धूलो सम्बन्धित निर्माणकर्ताले सफा गर्नुपर्ने व्यवस्था गरी कार्यान्वयन गर्ने,
  • सडकमा कुनै पनि निर्माण सामग्री वा व्यापारिक सामग्री राख्न निषेध गर्ने, प्रारम्भमा संघीय सरकारको सहयोग समेत लिई यस्ता सामग्री हटाउने,
  • स्थानीय तहको जिम्मामा परेका सडक, ढल, नाली नियमित मर्मतसम्भार गरी धूलो उड्ने अवस्था आउन नदिने,
  • शहरी क्षेत्रमा खाली जग्गा व्यक्तिगत भए घेराबार गरी सम्बन्धित जग्गाधनीलाई नै उपयुक्त जातका रूखबिरूवा लगाउन लगाउने, अटेर गरी खाली राखेमा प्रतिआना वार्षिक रू.१०० का दरले जरिवाना तिराउने,
  • विद्युतीय गाडी तथा विद्युतीय टेम्पोको प्रयोगमा प्राथमिकता दिने, पार्किङ लगायतका सुविधामा त्यस्ता साधनलाई प्राथमिकता दिने, सबै मुख्य सडकमा साइकल लेन निर्माण गर्ने,
  • सबै सडक पेटीमा उपयुक्त बिरूवा रोपण गरी हरित सडक योजना लागू गर्ने,
  • एक वडा एक पार्क अभियान सहित अघि बढाउने,

उद्योगी व्यवसायी:

  • प्रदूषण नियन्त्रण गर्न निर्धारित मापदण्डको इमानदारी साथ पालना गर्ने,
  • उद्योगजन्य फोहोरको तोके बमोजिम सही तरिकाले व्यवस्थापन गर्ने,
  • प्लाष्टिक तथा पेपर उद्योगहरूले घर-घरबाट छुट्याएको प्लाष्टिक तथा पेपर घर-घरमै पुगेर केही रकम दिएर खरीद गरिदिने,

प्रदेश तथा संघीय सरकार:

  • विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न त्यस्ता सवारी साधन आयात गर्दा लाग्ने भन्सार तथा अन्य कर हटाउने/ वार्षिक रूपमा लाग्ने कर कम गर्ने,
  • चार्जिङ स्टेशनहरू तीव्र रूपमा स्थापना गर्ने,
  • प्लाष्टिक रिसाइकल उद्योगहरूलाई सहजीकरण गर्ने, ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोगमा लागेको रोक कार्यान्वयनमा तदारुकता दिने,
  • शपिङ मैत्री जुटका झोलाहरूको प्रयोगमा बढोत्तरी गर्ने,
  • उपत्यकामा सबै प्रकारका निर्माण कार्य गर्दा धूलो उत्सर्जन कम हुने विधि, तरिका र मापदण्ड तय गरी कार्यान्वयन गर्ने,
  • आफ्ना जिम्माका सडक, ढल, नाली निरन्तर मर्मतसम्भार गरी चुस्त राख्ने,
  • मोनोरेल, मेट्रोरेल जस्ता मास ट्रान्सपोर्टको व्यवस्था गर्दै जाने,
  • विभिन्न स्थानमा ठूला खालका पार्क निर्माण गर्ने,

हालसालै कोप २६ सम्पन्न भएको छ । जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धमा निकै ठूला-ठूला कुरा भएका छन् । ती सबै ठूला कुरा कार्यान्वयनमा सबैको इमानदारीपूर्ण तत्परता रहोस् । शुभकामना छ । हाम्रो काठमाडौं उपत्यकालाई स्वच्छ बनाउन आ-आफ्नो जिम्माका सजिलै गर्न सकिने माथि औंल्याइएका काम गर्ने हो भने कसैको सहयोग आवश्यक पर्ने छैन । हाम्रो प्राण वायु स्वच्छ राख्न सबै संवेदनशील बनौं । हाम्रो सुन्दर राजधानी प्रदूषणमुक्त राख्न आ-आफ्नो ठाउँबाट सबैले सक्दो योगदान गरौं ।

(लेखक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?