
News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व वातावरण दिवस सन् १९७३ देखि मनाइन्छ र यस वर्षको नारा ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ हो।
- संयुक्त राष्ट्रसंघले प्लाष्टिक प्रदूषण रोक्न विश्व समुदायलाई ध्यान केन्द्रित गरेको छ र नेपालले पनि यसको नियन्त्रणका लागि कदम चाल्न आवश्यक छ।
- प्लाष्टिकको अत्यधिक प्रयोग र फोहोरले मानव स्वास्थ्य, जैविक विविधता र वातावरणमा गम्भीर असर पुर्याउँदैछ।
आज विश्व वातावरण दिवस, प्रत्येक वर्ष जून ५ मा मनाइन्छ । यसको ऐतिहासिक पृष्ठभूमिलाई अध्ययन गर्दा वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जून १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन शुरू गरिएको हो । यस दिवसले वातावरण संरक्षणको लागि जागरूकता ल्याउन प्रोत्साहित गर्दछ ।
यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ रहेको छ । नेपाल सरकारले ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारा तय गरेको छ । विश्व वातावरण दिवस २०२५ को विषयवस्तु प्लाष्टिक प्रदूषण अन्त्यमा केन्द्रित छ । यो विषयवस्तुले देखिने फोहोरदेखि माइक्रोप्लाष्टिकसम्म प्लाष्टिक प्रदूषणको व्यापक प्रभावहरूलाई विशेष जोड दिनेछ, र प्लाष्टिकको प्रयोगलाई कम गर्न, पुनः प्रयोग र पुनर्विचार गर्न समाधानहरूलाई प्रोत्साहित गर्नेछ ।
प्लाष्टिकको आविष्कार सन् १८६२ मा इङ्गल्याण्डका अलेक्जेण्डर पार्केसले गरेका हुुन् । संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रमका अनुसार विश्वभर हरेक वर्ष ४० करोड टनभन्दा बढी प्लाष्टिक उत्पादन हुन्छ, जसमध्ये आधा एक पटक मात्र प्रयोग गर्न डिजाइन गरिएको हुन्छ । त्यसमध्ये १० प्रतिशतभन्दा कम पुनः प्रयोग गरिन्छ । अनुमानित १ करोड १० लाख टन वार्षिक रूपमा ताल, नदी र समुद्रमा मिसिन्छ । यो लगभग २,२०० आइफेल टावरहरूको तौल बराबर हो । यसैगरी डा. केदार कार्कीका अनुुसार हाम्रो देशमा वर्तमानमा प्लाष्टिक खपत वार्षिक १२ मिलियन टन प्रति वर्ष छ । जुुन सन् २०३० सम्ममा २० मिलियन टन प्रति वर्ष हुुने सम्भावना छ ।
वर्तमान समयमा प्रकृति आपतकालीन अवस्थामा छ । यस शताब्दीमा विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्न हामीले २०३० सम्ममा वार्षिक हरितगृह ग्यास उत्सर्जन आधा घटाउनुपर्छ । यसको लागि कुनै कदम चालिएन भने, वायु प्रदूषणको जोखिम दशकभित्र ५० प्रतिशतले बढ्नेछ र २०४० सम्ममा जलीय पारिस्थितिक प्रणालीमा प्लाष्टिकको फोहोर लगभग तीन गुणा बढ्नेछ ।
प्रत्येक वर्ष विश्वव्यापी रूपमा अनुमानित १ करोड १० लाख टन प्लाष्टिक फोहोर जलीय पारिस्थितिक प्रणालीमा मिसावट हुन्छ । जसका कारण ८०० भन्दा बढी समुद्री र तटीय प्रजातिहरू यसको प्रदूषणबाट इन्जेसन, अल्झाइ र अन्य खतराजन्य रोग वा अवस्था मार्फत प्रभावित हुन्छन् । प्लाष्टिक प्रदूषणको वार्षिक सामाजिक र वातावरणीय लागत ३०० देखि ६०० अर्ब अमेरिकी डलरसम्म छ । पछिल्ला दशकहरूमा प्लाष्टिक उत्पादन तीव्र गतिमा बढेको छ । अहिले प्रति वर्ष लगभग ४० करोड टन उत्पादन हुने गरेको र सन् २०४० सम्ममा दोब्बर हुने अनुमान गरिएको छ । प्लाष्टिकका साना कणहरू– खाना, पानी र हावामा प्रवेश गर्छन् । प्रत्येक व्यक्तिले प्रति वर्ष ५० हजार भन्दा बढी प्लाष्टिक कणहरू उपभोग गर्ने अनुुमान गरिएको छ ।
प्लाष्टिक टुक्रिएर माइक्रो प्लाष्टिकमा रूपान्तरित हुँदा वातावरण प्रदूषित हुने, प्लाष्टिकमा अल्झेर जलचरको मृत्यु हुने, प्लाष्टिक टुक्रिएर हरितगृह ग्यास उत्सर्जन गर्ने, प्लाष्टिक बाल्दा विषालु ग्यास उत्सर्जित हुने जस्ता गम्भीर असरले पारिस्थितिक प्रणालीलाई नै असर गरेको देखिन्छ । एक अध्ययनका अनुसार प्लाष्टिकको बोतल र कन्टेनरको प्रयोगले क्यान्सर यसको साथै सामुद्रिक वाष्पीकरणसँगै बादलमा अति नै साना प्लाष्टिकका कणहरू आउँछन् जुन वर्षात्, नदी, खानेपानीको मूल हुँदै पुनः हाम्रा घरका धारासम्म आइपुग्छन् । यस प्रकारको अप्रत्यक्ष प्रदूषणका कारण संसारभर क्यान्सर रोग बढ्ने गरेको छ ।
वैज्ञानिकहरूले के पनि दाबी गर्दै आएका छन् भने, प्लाष्टिकका ५ मिलिमिटरका कणहरू वर्षा, आँधीबेहरीका माध्यमले संसारभर पुगिरहेका छन् र वातावरण प्रदूषण भइरहेको छ । संसारभरका मानिसहरूले प्रत्येक वर्ष ५० हजार स–साना प्लाष्टिकका कणहरू श्वास–प्रश्वास र खानाका माध्यमबाट लिने गरेका छन् । यी प्लाष्टिकका कणहरूबाटै मानव शरीरमा नयाँ–नयाँ रोगहरू देखा परिरहेका छन् ।
यसले मानव स्वास्थ्य र जैविक विविधतालाई हानि पुर्याउँछ र पहाडको टुप्पोदेखि समुद्रको सतहसम्म हरेक पारिस्थितिक प्रणालीलाई प्रदूषित गर्छ । यति मात्र होइन प्लाष्टिकका कणहरूले जल र उभयचर प्राणीहरूको खाना, प्रजनन् र गतिशीलतामा हस्तक्षेप गर्छन्, माटोमा मिल्दा यसको गुणस्तर घटाउँछन् । समग्रमा प्लाष्टिक फोहोर पारिस्थितिक असन्तुलनको वाहक मात्र होइन, यो प्रणालीगत प्रदूषक र जैविक विविधताको लागि खतरा हो । यी गम्भीर समस्याहरूलाई सम्बोधन गर्न यस वर्ष संयुक्त राष्ट्रसंघले वातावरण दिवसको अवसर पारेर प्लाष्टिक प्रदूषण रोक्न विश्व समुुदायलाई ध्यान केन्द्रित गरेको छ ।
नेपालमा प्लाष्टिक प्रयोगको इतिहास त्यति लामो नभए पनि छोटो समयमै यसको अत्यधिक मात्राको प्रयोगका कारण यसले मानव स्वास्थ्य र वातावरणमा असर गरेको छ । नेपालमा व्यापारिक, औद्योगिक र घरायसी प्रयोगका सामग्रीको रूपमा जताततै पोलिथिन झोला र अन्य प्लाष्टिकजन्य सामग्रीहरू प्रयोग गर्ने गरिएको छ । बढ्दो जनसंख्या र विलासी जीवनशैलीसँगै फोहोरमा प्लाष्टिकको मात्रा निरन्तर बढिरहेको छ ।
शहरका ढलहरू पोलिथिन फोहोरहरूले भरिंदा सडकमै ढल बग्ने गरेको देखिन्छ । प्लाष्टिकका अन्य सामग्री र पोलिथिनका झोला र प्याकेटहरूले गर्दा सिंचाइका कुलोहरू पुरिंदै र साँघुरिंदै गएका छन् । प्लाष्टिकले गर्दा कुलो सरसफाइ र मर्मत गर्न कठिन हुँदै गएको छ । खोलामा पोलिथिन फोहोरको मात्रा बढेकोले खोलाहरू पुरिने र बहाव मार्ग परिवर्तन हुने क्रम जताततै बढिरहेको छ ।
राजमार्ग किनारका वन क्षेत्रमा प्लाष्टिक झोला र थैलाजन्य फोहोर जताततै छरिएको देखिन्छ । वनमा छरिएको प्लाष्टिकले गर्दा वनस्पतिको वृद्धि र विस्तारमा प्रतिकूल असर परेको मात्र छैन, पोलिथिन झोला र थैलाभित्र रहने केही खानेकुराको लोभमा प्लाष्टिक समेत खान पुग्दा वन्यजन्तु र वनमा चर्ने घरपालुवा पशुचौपायाहरू मरेका खबरहरू बारम्बार आइरहेका छन् । खोला र कुलोमा फ्याँकिएका प्लाष्टिक झोला र थैलाहरू सिंचाइको क्रममा किसानका खेतबारीमा पुग्ने गरेकोले कृषि उत्पादनमा ह्रास, खनजोतमा कठिनाइ जस्ता समस्याहरू जताततै देखा परिरहेका छन् ।
विकसित देशका मानिसहरू यसतर्फ जागरुक भइसकेका छन् भने प्रभावकारी, जिम्मेवार एवं सशक्त सरकार भएका देशहरूले प्लाष्टिकजन्य फोहोरमैलाको व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउन थालिसकेका छन् ।
प्लाष्टिक प्रदूषणबाट परेको असर कम गर्न अब नेपाल सरकारले ढिला गर्नुहुँदैन । नेपालमा प्लाष्टिक प्रदूषणलाई अन्त्य गर्नका लागि धेरै संघसंस्थाले काम गरिरहेका भए पनि प्लाष्टिकजन्य प्रदूषण कम हुनसकेको छैन । सरकारले तत्कालै गर्न सक्ने भनेको नियमित एवं प्रभावकारी जनचेतना जागरण अभियान सञ्चालन नै हो ।
यसको अतिरिक्त प्लाष्टिक पुनःप्रयोगका लागि सहयोग गर्ने, प्लाष्टिकका सामान प्रयोग गर्ने निकायहरूलाई बढी कर लगाउने तथा सानो माइक्रोनबाट बनेका प्लाष्टिकका सामानहरूको उत्पादनमा प्रतिबन्ध लगाउने, स्थानीय सरकारका रूपमा रहेका गाउँ/नगरपालिकाहरूले अल्पकालीन र दीर्घकालीन योजना बनाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने जस्ता प्रमुख सवालहरूलाई उच्च प्राथमिकतासाथ लागू गर्नु अत्यावश्यक भइसकेको छ ।
विकासशील राष्ट्रहरूमा, विशेषगरी नेपालको परिस्थितिसँग मिल्दाजुल्दा २५ अफ्रिकी मुलुकले प्लाष्टिक झोलामा लगाएको प्रतिबन्धलाई मात्र अनुसरण गर्न सके पनि हामीले यस्तो फोहोरमैलाबाट सिर्जित ५० प्रतिशत समस्या समाधान गर्न सक्छौं । यसका लागि सरकारले वैकल्पिक झोलाको प्रयोगलाई विशेष प्राथमिकताका साथ कार्यक्रम अगाडि बढाउनुुपर्दछ । नेपाल सरकारले २०७२ मा ३० देखि ४० माइक्रोनका प्लाष्टिक झोलामा प्रतिबन्ध लगाए पनि उक्त निर्णय अझै लागू हुनसकेको छैन । यसतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरूरी छ ।
नेपालको संविधान २०७२ को धारा ३० मा प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ्य रूपमा बाँच्न पाउने भनी यसलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । यही कुरालाई मध्यनजर गर्दै सरकारले यसको अनावश्यक प्रयोगमा रोक लगाउने प्रयास समेत गरेको छ । औद्योगिक कच्चा पदार्थ वा अर्थ तयारी कच्चा पदार्थको रूपमा प्रयोग हुने प्लाष्टिकजन्य कच्चा पदार्थ बाहेक ४० माइक्रोनभन्दा प्लाष्टिकको झोला वा अन्य प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा रोक लगाएको सूचना २०७८ असोज १८ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन समेत भएको छ ।
सर्वोच्च अदालतले २०७९ वैशाख १९ गते गरेको फैसलामा प्लाष्टिक झोलाको बिक्री–वितरणमा देशभर नै विस्तारै रोक लगाउनुपर्ने टिप्पणी गरेको छ । विभिन्न राष्ट्रहरूले प्लाष्टिकको उत्पादन र प्रयोगमा नियमनकारी व्यवस्था गरिरहेका भन्दै सर्वोच्चले अन्तर्राष्ट्रिय वातावरण कानुनले पनि प्लाष्टिकबाट सिर्जना हुने संकटहरूको न्यूनीकरण गर्न राज्यहरूले आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरेको छ ।
अतः आम जनताको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक र नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न, वातावरण नीति र कानूनले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न साथै समग्र पृथ्वी, वातावरण र पर्यावरणको संरक्षण, सन्तुलन र दिगो व्यवस्थापनका लागि प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपभोगलाई न्यूनीकरण गर्दै नियन्त्रण गर्नका लागि सरकारलगायत हामी सबैलाई जागरुक गराउन उत्साह प्रदान गरोस् । विश्व वातावरण दिवस २०२५ को शुभकामना !
प्रतिक्रिया 4