+
+

शिक्षकहरू कानूनविपरीत दलको कार्यसमितिमा

नुनुता राई नुनुता राई
२०७८ मंसिर ६ गते १७:१४

५ मंसिर, काठमाडौं । प्रमुख राजनीतिक दलको महाधिवेशन र सम्मेलनहरू हुँदा स्थानीय स्तरमा धेरै शिक्षक पनि राजनीतिक दलको कार्यकारी भूमिकामा चयन भएका छन् । विद्यालयका शिक्षक र कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम गर्न प्रतिबन्ध लगाए पनि यो व्यवस्थाको बेवास्ता गर्दै शिक्षकहरू पार्टीको समितिहरूमा निर्वाचित र मनोनीत भइरहेका छन् ।

शिक्षा ऐन २०२८ को दफा १६ (ङ) उपदफा (६) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समिति (राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीय स्तर, प्रदेशस्तर वा स्थानीय तह स्तर) को सदस्य रहेको पाइएमा पदबाट हटाइने उल्लेख गरेको छ ।

धादिङको गजुरी गाउँपालिका-७ को जुनतारा आधारभूत विद्यालयका प्रधानाध्यापक किशोर अधिकारी नेकपा माओवादी केन्द्रको गजुरी-७ को वडा सम्मेलनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए ।

गजुरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमसेन विष्ट शिक्षकहरू राजनीतिक दलको कार्यसमितिमा निर्वाचित भएको विषयमा गाउँ शिक्षा समितिको बैठकमा छलफल गर्ने बताउँछन् ।

‘संघीय तथा स्थानीय शिक्षा ऐन विपरीत शिक्षकहरू राजनीतिक दलको प्रदेश तथा स्थानीयतहमा निर्वाचित भएको भन्ने जानकारी पाएका छौं । अब गाउँ शिक्षा समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरेका छौं’ उनले भने ।

उनले यस्तो उदाहरण अन्यत्र पनि रहेको भन्दै यो राष्ट्रिय समस्याको रुपमा रहेको दावी गरे ।

पाँचथरको हिलिहाङ गाउँपालिका- ४ को सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ नेपाली कांग्रेसको पाँचथर प्रदेश क्षेत्र नम्बर ‘क’ को सभापतिमा निर्वाचित भए ।

विरोध भएपछि उनले सामाजिक सञ्जालमा ‘विभिन्न टीकाटिप्पणी भएको कारण म अब विद्यालयसँग सम्बन्धित छैन’ भनेर लेखेको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख विश्वनाथ भण्डारीले बताए । भण्डारी भन्छन् ‘फेसबुकमा लेखेको देखेको हो तर हामी कहाँ राजीनामा दिएकोबारे जानकारी आएको छैन ।’ शिक्षा ऐन विपरीत शिक्षकहरू राजनीतिक दलको राजनीतिमा सक्रिय हुन नहुने उनी बताउँछन् ।

तेह्रथुमको खाम्लालुङस्थित महेन्द्र माविका प्रधानाध्यापक भुवनसिंह चोङवाङ नेपाली कांग्रेसको प्रदेश सभा ‘ख’ को सभापतिमा निर्वाचित भएका छन् ।

दैलेखको गुराँस गाउँपालिका-३ स्थित दुर्गादेवी माविका प्रधानाध्यापक केशव लम्साल दैलेख २ प्रदेश सभा ‘क’ को प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । खोटाङको सप्तेश्वर छितापोखरी मान्दतास्थित जंगदेव माविका प्रधानाध्यापक रविनारायण श्रेष्ठ, डाडाँखर्कस्थित सरस्वती माविका प्रधानाध्यापक सुमन खड्का नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित पञ्चकौशिका माविका प्रधानाध्यापक पवनकुमार बस्नेत, भण्डारीडाडाँस्थित जनता माविका प्रधानाध्यापक पवन राई, दिप्रुङ चुइचम्मा गाउँपालिका-३ छोरम्बुस्थित चण्डी निकेतन प्राविका प्रअ मणिकुमार राई क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।

कोरोना महामारीका कारण लामो समय विद्यालयमा पठन पाठन हुन नसकेको र अहिले अवस्था सामान्यतर्फ उन्मुख भइरहेका बेला पनि शिक्षकहरू राजनीतिक गतिविधिमा सक्रिय देखिँदा पठनपाठनमा असर परिरहेको छ ।

यो गलत हो : शिक्षक महासंघ

शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर ऐन विपरीत शिक्षकहरू पार्टीको कार्यकारीणी पदमा निर्वाचित हुन नहुने बताउँछिन् । ‘ऐन विपरीत गएर शिक्षक साथीहरू दलको कार्यकारिणी पदमा लड्न हुँदैनथ्यो । छनौट हुनुभएका साथीहरूले शिक्षक पदबाट राजीनामा दिनुहुन्छ होला’ उनले भनिन् ।

शिक्षक सचेत वर्ग भएकाले राजनीतिमा चासो राख्नु स्वाभाविक भएपनि ऐन विपरीत गएर कार्यकारिणी पदमा निर्वाचित हुनु, विद्यालयको पठनपाठन बिगि्रने गरी राजनीतिमा सक्रिय हुने बेठीक भएको अध्यक्ष तुलाधर बताउँछिन् ।

राजनीतिक दलले हस्तक्षेप गर्नुपर्छ : शिक्षाविद् कोइराला

शिक्षकहरू राजनीतिमा सक्रिय हुनुमा दलहरू दोषी रहेको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन् । ‘शिक्षकले राजनीति छोड्दैन, राजनीतिज्ञले शिक्षक परिचालन गर्न पनि छोड्दैन । विद्यार्थीले शिक्षकको विरुद्ध बोल्न पनि सक्दैन । अभिभावकलाई यो विद्यालय नभए अर्को विद्यालयमा लगाउँछु भन्ने विकल्प छ । त्यसैले अब यो निरन्तर चल्छ’ उनी भन्छन् ।

यसको परिणाम बालबालिकाको पढाइमा बाधा पुग्ने भन्दै शिक्षाविद् कोइराला जिम्मेवार निकायको बेवास्ताले शिक्षा क्षेत्र प्रभावित हुँदै गएको बताउँछन् । उनी भन्छन् ‘अहिले शिक्षामन्त्रीले माओवादीलाई यसरी नआऊ, अथवा प्रधानमन्त्री शेरबहादुर देउवाले यसरी नआऊ भन्न सक्दैनन् । किनभने उनीहरूलाई जित्नुछ ।’

राजनीतिज्ञ र शिक्षक एकले अर्कोबाट फाइदा लिइरहेकाले अहिले नै यो क्रम नरोकिने कोइरालाको भनाइ छ । ‘शिक्षकले आफ्नो हितका लागि सरुवा, बढुवा गराउनको लागि, नपढाए पनि जागिर सुरक्षित गर्ने कुरामा काम लाग्ने भएकैले राजनीतिमा लागिरहन्छ’ उनी भन्छन् ।

जानकारी आए कारबाही हुन्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरू राजनीतिमा लाग्न नहुने बताउँछन् ।

‘राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलको कार्यकारिणी पदमा रहनुहुन्न । संविधानले त्यो भनेको छैन । यदि त्यस्तो भएको मन्त्रालयमा लिखित आयो भने प्रक्रिया अनुसार कारबाही अगाडि बढाइन्छ’ उनी भन्छन् । शिक्षकहरू दलको कार्यकारिणी समितिमा चयन भएकोबारे जानकारी नआएको मन्त्री पौडेलले जिकिर गरे ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?