+
+

पूर्णिमा मेलाको बहानामा दुई दिन विद्यालय बन्द

सुरेश विडारी सुरेश विडारी
२०७८ मंसिर ६ गते २०:२०
भंगी साह नेपाल राष्ट्रिय मावि विश्रामपुर ।

५ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा स्थानीय मेलाको बहानामा दुई दिन विद्यालय बन्द गरिएको छ ।

बहुदरमाई–२ ध्यानसिंह पिपरास्थित बहुदरमाई मन्दिरमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने मेलाको बहानामा विद्यालय बन्द गरिएको हो । मन्दिरमा मंसिर ३ गते देखि मेला लागेको छ । मेला ५ दिनसम्म चल्नेछ ।

वडा नं २ मा लाग्ने मेलाको बहानामा नगरभरिका सामुदायिक विद्यालय बन्द गरिएपछि त्यसको चर्को आलोचना भइरहेको छ । कोरोना महामारीका कारण लामो समय विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ हुन सकेन । त्यसमाथि पनि प्रधानाध्यापकहरुले मनोमानी ढंगले विद्यालय बन्द गराउन थालेको भन्दै अभिभावकले असन्तुष्टी जनाएका हुन् ।

प्रधानाध्यापकहरुको मनोमानीका कारण बहुदरमाइका विद्यालयमा अध्ययनरत ८ हजारभन्दा बढी विद्यार्थी मर्कामा परेको अभिभावकहरुको भनाइ छ । नगरपालिकाको ९ वटा वडामा १० वटा प्रावि, एउटा आधारभूत र ६ वटा माध्यमिक गरी १७ वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालय आइतबार र सोमबार दुई दिन बन्द भयो ।

बहुदरमाई–२ बैरियाविर्ता दापुका राकेश यादवले मेलाका बहानामा प्रधानाध्यापकहरुले नै विद्यालय बन्द गर्नु गलत भएको टिप्पणी गरे ।

‘गाउँमा मेला छ विद्यार्थी आउँदैनन् रे ल ठीकै छ तर शिक्षक त विद्यालय जानुपर्छ नि । जति विद्यार्थी आउँछन् पढाउनुपर्छ’ उनले भने, ‘प्रधानाध्यापकहरुले नै मनोमानी ढंगले विद्यालय बन्द गरिदिने ? त्यो पनि मेला एउटा गाउँमा लागेको छ, १० गाउँमा विदा गरेको छ ।’

कोभिड महामारीका कारण लामो समय शैक्षिक संस्था बन्द रहँदा पठनपाठनबाट बञ्चित भएका बालबालिकालाई मेला र उत्सवका बहानामा नपढाउनु उचित नभएको उनको भनाइ छ ।

बहुदरमाई–९ विश्रामपुरका कमोद ठाकुरले विभिन्न बहानामा विद्यालय बन्द गर्नु ठीक नभएको बताए । ‘विद्यालयमा विषयगत शिक्षकको बन्दोबस्त गर्न नसकेको अवस्था छ । विद्यालय व्यवस्थापन समिति छैन’ उनले भने, ‘प्रअहरुले नै विद्यालय बन्द गराउनु कदापी ठीक हुन सक्दैन ।’

मेलाको बहानामा दुई दिन विद्यालय बन्द गरिँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै शिक्षकहरु पनि असन्तुष्ट छन् ।

‘कोरोना महामारी र चाडपर्वको लामो विदाले विद्यार्थीको कोर्स सकिएको छैन । मंसिर २३ गते देखि नगरस्तरीय परीक्षा छ’ एक शिक्षकले भने, ‘यस्तो स्थितिमा विभिन्न बहाना खोजेर विद्यालय बन्द गर्नु ठीक छैन ।’

नगरपालिकाले दिएको जानकारी अनुसार मंसिर २ गते बिहीबार नगरपालिकाको कार्यालयमा बसेको प्रध्यानाध्यापकहरुको बैठकले मेलाका लागि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका थियो ।

नगरपालिका अन्तर्गतका विद्यालय बन्द भएको बारेमा नगर प्रमुख नितेन्द्र साह बेखबर छन् । आफू नेपाली काँग्रेसको अधिवेशनमा व्यस्त रहेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत विदुर उप्रेतीले स्थानीय मेला भएकोले विदा दिने निर्णयमा पुगिएको बताए । ‘प्रअहरुको बैठकबाटै विद्यालय बन्द गर्ने निर्णय भएको हो’ उनले भने, ‘मेला लाग्ने स्थान २ नम्बर वडाको मात्रै विद्यालय बन्द गरौं भन्दा प्रअ सरहरु मान्नुभएन । बहुदरमाईकै नामले पालिकाको नाम पनि राखिएको छ भन्ने तर्क राख्न थालेपछि बन्द गर्ने निर्णयमा पुगेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?