+
+

राक्सिराङमा रहेकाे रिद्धिसिद्धि सिमेन्टको खानी बन्द गराउन वडाध्यक्षको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १८:३५

९ मंसीर, हेटौंडा । मकवापनुरको राक्सिराङ गाउँपालिका–४ गिङ्गुस्थित रिद्धिसिद्धि सिमेन्टको खानी क्षेत्रमा भइरहेका गतिविधिले मानवीय क्षति हुनसक्ने भन्दै वडाध्यक्ष सञ्जय कोइरालाले तत्कालका लागि खानीसम्बन्धी कुनै पनि क्रियाकलाप सञ्चालन गर्न नदिन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष माग गरेका छन् ।

राक्सिराङ गाउँपालिका–४ का वडाध्यक्ष कोइरालाले मकवानपुरका प्रजिअ समक्ष पाँच बुँदे ध्यानाकर्षण पत्र लेख्दै स्थानीय स्तरमा शान्तिपूर्ण वातावरण सिर्जना नभएको, स्थानीय युवा र व्यवसायीहरु आपसी झै झगडा र द्वन्द्व सिर्जना गराइएको भन्दै ध्यानाकर्षण पत्र पठाएका हुन् । उनले समस्याको हल नभएसम्म खानी सम्बन्धी कुनै पनि क्रियाकलाप गर्न नदिन प्रजिअ समक्ष माग गरेका छन् ।

वडाध्यक्ष कोइरालाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा प्रजिअसहित सरोकार पक्ष बसेर मनहरी–चैनपुर–रतुवा–खैराङ हुँदै कैलाश गाउँपालिकासम्म अस्थायी बाटो निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई आग्रह गर्ने भनिए पनि बाटो निर्माण गरिँदा वातावरणीय प्रभाव मूल्यांकन नभएको स्थान अर्थात सिमेन्ट उद्योगको खानी क्षेत्रमा समेत अघि बढेकाले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गरेका छन् । स्थानीय सल्लाघारी सामुदायिक वन क्षेत्रमा पर्ने ४.५ किलोमिटर सडक निर्माण गर्दा यसअघि पनि सामुदायिक वनका पदाधिकारीहरु वनसम्बन्धी मुद्दा बोक्न बाध्य भएको घटना वडाध्यक्ष कोइरालाले स्मरण समेत गराएका छन् ।

वडाध्यक्ष कोइरालाले २०७८ साल कात्तिक २८ गतेका दिन रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेको मोतीदान कन्ट्रक्सन प्रालिको प्र–०३–०१–००३ नंको एक्साभेटरमा आगजनी गरी ध्वस्त पारिएको र अन्य दुईवटामा क्षति पुर्‍याइएको घटनाले गाउँका बासिन्दा त्रसित रहेकाले घटनामा संलग्नहरुलाई तत्कालै पक्राउ गरी कारबाही गर्न समेत माग गरेका छन् ।

खानी सञ्चालन गर्नुअघि स्थानीयबासिन्दा, जनप्रतिनिधि, व्यवसायी, खानी सञ्चालक र सरोकारवालाहरुबीच पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नहुँदा उत्खनन्कर्ता कम्पनीहरु बानियाँ निर्माण सेवा र मोतीदान निर्माण कन्ट्रक्सन प्रालिले स्थानीय व्यवसायीहरुलाई पाखा लगाउने, समन्वय नगर्ने र बलजफ्ती प्रहरी र प्रशासन प्रयोग गरी काम लगाउने शैली अपनाएको वडाध्यक्ष कोइरालाले आरोप लगाएका छन् । जसका कारण स्थानीय व्यवसायीहरुबीच झडप, कुटपिट, भागदौड र मुद्दामामिला बढी वातावरण असहज भइरहँदा मानवीय क्षति समेत हुन सक्ने अबस्था देखिएकाले तत्कालै स्थानीय बासिन्दाको मागको सम्बोधन र यसअघिको सहमति तथा सम्झौताको कार्यान्वयनका लागि पहल गरिदिन वडाध्यक्ष कोइरालाले माग गरेका छन् ।

हेर्नुहोस् ध्यानाकर्षणपत्रको पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment