+
+

ग्रिसमा सडक दुर्घटनामा परेका नेपालीहरु सकुशल

वसन्त रानाभाट वसन्त रानाभाट
२०७८ मंसिर ९ गते १९:५१
प्रतिकात्मक तस्वीर ।

९ मंसिर, बार्सिलोना । भीमेश्वर नगरपालिका-९ दोलखा घर बताउने ३३ बर्षीय मनु लामा र गौरीगंगा नगरपालिका -४ राजीपुर कैलालीका  ३० बर्षीय लोकराज आचार्य अहिले ग्रिसको एथेन्स सहर पुगेका छन् । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा शुक्रबार भएको सवारी दुर्घटनामा यी दुवै घाइते भएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएका यी दुई जनालाई लिन एथेन्स बस्दै आएका कैलालीका जीवलाल कंडेल सोलोनिकी पुगेका थिए । ‘कतिपय नेपाली मिडियामा उहाँहरुको नामसहित अन्य केही नेपालीहरुको मरेको खबर आयो । घर परिवारबाट बारम्बार फोन आइरहन्थ्यो । केही दिन तनावमा भयौं । उहाँहरु सकुशल हुनुहुन्छ’ कँडेलले भने ।

मनु र लोकराजका अनुसार सोही गाडीमा शर्मिला तामाङ, ओमबहादुर थापा मगर, राजु लामा र लक्ष्मण सापकोटाले पनि यात्रा गरेका थिए । उनीहरुको स्थायी ठेगाना भने खुल्न सकेको छैन ।

१३ बर्षदेखि ग्रिसमा बस्दै आएका होटल ब्यवसायी सन्तोष आचार्यका अनुसार अन्य ४ जना नेपाली पनि अस्पतालबाट डिस्चार्ज भएका छन्। ‘घाइतेमध्ये दुईजना कोमोतिनीमा र अर्का दुई जनाको छान्ति जनरल अस्पतालमा उपाचार भएको रहेछ । बुधबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ’ उनले भने ।

अस्पतालसँग सम्पर्क गर्दा उनीहरु डिस्चार्ज भएको खबर पाएपनि घाइतेहरुसँग आफ्नो अहिलेसम्म प्रत्यक्ष संवाद भने नभएको उनले बताए । ‘हिजो अस्पतालबाट डिस्चार्ज भएपछि पुलिसले क्याम्पमा छोडेको हुनुपर्छ । अब मात्रै उहाँहरु घर परिवार र अन्य नेपालीहरुसँग सम्पर्कमा आउनुहुनेछ । अस्पतालसँगको सम्पर्कको आधारमा नै उहाँहरु सकुशल हुनुहुन्छ’ आचार्यले भने ।

एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङले दुर्घटनामा घाइते भएका सबै नेपालीहरु सकुशल रहेको जानकारी प्राप्त भएको बताए । ‘हामी अहिले टर्कीमा छौं । सम्पर्क र जानकारी लिने माध्यम नै ग्रिसमा रहेका नेपालीहरुसँग छ । उहाँहरुका अनुसार घाइते ६ जना नै अस्पतालबाट डिस्चार्ज भएको खबर पाएका छौं’ उनले भने ।

घाइते भन्छन् : भाग्यले बाँच्यौं

अनलाइनखबरको सम्पर्कमा आएका मनु लामा र लोकराज आचार्यले आफूहरु भाग्यले बाँचेको बताएका छन् ।  ‘टर्कीबाट १३ दिन जंगलको बाटो हिँडेर १४ दिनको दिनमा हामीले गाडी चढेको हो । त्यसको केही मिनेटमा नै दुर्घटनामा पर्‍यौं’ लामाले अनलाइनखबरसँग भने ।

‘लक्ष्मण, राजु, लोकराज, म र एकजना अफगानी गरी हामी पाँच जना गाडीको डिक्कीमा थियौं । शर्मिला, ओम अन्य पाकिस्तानी अफगानी र ड्राइभरसहित १० जना अगाडि थिए’ उनले घटना स्मरण गर्दै भने, ‘गाडी हिँडेको आधा घण्टामा दुर्घटना भएको हो । लौ पुलिसले गाडी पछ्यायो भन्दै पाकिस्तानी बोलेको मैले डिक्कीमा सुनेको थिएँ । त्यसपछि गाडी झनै स्पिडमा गुड्यो । कन्ट्रोल भएन । एक्कासी ठोक्किएको आवाज आयो ।’

घटनापछि आफू बेहोस भएको उनले सुनाए । ‘अस्पताल पुगेको भोलिपल्ट मात्रै मेरो होश आएको हो । शरीर एकदमै दुख्यो । कानमा अलि चोट लागेको हो । तर अहिले सबै सामान्य नै छ’ लामाले भने।

अर्का घाइते आचार्यको भने देब्रे हात भाँच्चिएको छ । ‘हामी ड्राइभरपट्टीकै साइडमा थियौं । त्यही साइडमा  ठोक्किएको चर्को आवाज आयो । त्यसपछि मलाई केहि थाहा छैन । म बेहोस भएछु’ उनले सुनाए । हातमा अहिले केही दुखाई भएपनि अरु अवस्था सामान्य नै रहेको आचार्य बताउँछन् । उनीहरुका अनुसार गाडी पल्टिएको नभई प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर ठोक्किएको मात्रै हो ।

‘गाडी त्यति ठूलो आकारको होइन । यहाँका पहेलो ट्याक्सी जत्रै आकारको तर कालो रंगको गाडी थियो’ उनले  भने । ओभरलोड त्यसमाथि तीब्र गतिमा गाडी गुडेको हुँदा  दुर्घटनामा परेको आंशका गरिएको छ ।

नेपाली एजेन्टहरु को – को थिए ?

टर्कीमा रहेका नेपाली एजेन्टहरु अनिता गुरुङ र सुरज लामिछाने नै आफूलाई ग्रिस पठाएको उनीहरु बताउँछन् । ‘उहाँ दिदीभाइ भन्नुहुन्थ्यो । उहाँहरुकै रुमबाट हामी सबै ६ जना नै निस्किएको हो’ लामाले भने ।

एक दुई घण्टा मात्रै हिँड्नुपर्छ त्यसपछि त ट्याक्सीमा नै जाने हो भनेर उहाँहरुले भनेकाले बिना तयारी नै  निस्किएको उनले सुनाए । ‘हामी त गाडीमा नै जाने होला भनेर न त खाना  बोकेका थियौं। न न्यायो लत्ताकपडा नै । बिना तयारी निस्कियौं । १३ दिन जंगलको बाटो हिँड्यौं । १४ दिनमा दुर्घटनामा पर्‍यौं’  भाइटीकाको राति टर्कीबाट ग्रिस जाने भन्दै निस्किएको उनी  बताउँछन् ।

उनीहरु नेपालदेखि टर्की आएको तीन महिना मात्रै भएको छ । टर्कीमा बस्ने उनीहरुको लक्ष्य नरहेकाले अबैध रुपमा टर्कीदेखि युरोप छिर्न भन्दै हिँडेका थिए ।

नेपालदेखि टर्की आउँदा धरान घर बताउने सुरज लिम्बुलाई ४ लाख रुपैयाँ बुझाएको बताउँछन् लोकराज । उनले श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएर नै टर्की आएका थिए । ‘कम्पनीमा हामी जाँदै गएनौं । त्यो हिसाबले यहाँ आएको पनि होइन । युरोप छिर्ने नै नेपालदेखि कै लक्ष्य हो’ उनले सुनाए ।

लोकराजले टर्कीदेखि ग्रिस प्रवेशका लागि छुट्टै ३ हजार युरो एजेन्टलाई टर्कीमा बुझाए । मनुको कुरा भने अर्कै छ । उनले आफन्त शम्भु लामालाई एकमुष्ट १० लाख रुपैयाँ नेपालमा नै बुझाएका हुन् । टर्कीमा उनले एजेन्टलाई पैसा बुझाउनु परेन ।

यी घटनाहरुले पनि टर्कीदेखि नेपालसम्म एजेण्टहरुको कनेक्सन नराम्रोसँग झाङ्गिएको संकेत गर्छ ।

*पीडितको गोपनीयतालाई ख्याल गरेर तस्वीर हटाइएको छ ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?