+
+

चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते २०:२०

१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकता रक्षाका लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी तिनै तहको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् ।

देशको सार्वभौमिकताको रक्षा, लोकतन्त्रको रक्षा र संविधानको रक्षा गर्दै कार्यान्वयन गर्नका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने उनको भनाइ छ ।

‘…हामी अब चुनावको तयारी तर्फपनि जानेछौँ । हामी जनमतको तयारी गर्नेछौँ । जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ यस देशका लागि । एमालेका लागि होइन, एमालेका लागि बहुमत होइन देश बनाउनका लागि । यस देशको सार्वभौमताको रक्षा गर्नका लागि’ उनले भने ।

‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ । र एमालेले बाँकी रहेका विकासका कामलाई अगाडि बढाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा पूरा गर्छ’ उनले भने, ‘स्थानीय तहका निर्वाचनमा पहिलेजस्तो चालिस प्रतिशतभन्दा बढी भन्ने होइन, ५० प्रतिशतभन्दा बढी नेकपा एमालेले हासिल गर्नेछ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचन पछि एमालेको सरकार बन्ने पनि दाबी गरे । स्थानीय तहको चुनावमा ५० प्रतिशत भन्दा बढी मत एमालेले ल्याउने उनले जिकिर गरे ।

‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ । र एमालेले बाँकी रहेका विकासका कामलाई अगाडि बढाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा पूरा गर्छ’ उनले भने, ‘स्थानीय तहका निर्वाचनमा पहिलेजस्तो चालिस प्रतिशतभन्दा बढी भन्ने होइन, ५० प्रतिशतभन्दा बढी नेकपा एमालेले हासिल गर्नेछ ।’

अध्यक्ष ओलीले आफूहरु शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै विरोध र विद्वेषको राजनीति नगर्ने बताए ।

‘विद्वेष, विरोधको राजनीति होइन, हाम्रो नीति राष्ट्रिय एकताको नीति हो । सझदारी, सद्भाव, एकताको नीति हाम्रो नीति हो । हाम्रो नीति राष्ट्रियताको, सार्वभौमसत्ताको, हाम्रो स्वाधीनताको हामी रक्षा गर्न चाहन्छौँ’ उनले भने ।

ओलीले नेपालमा अहिले कुनैपनि प्रकारका हिंसात्मक समुह नभएको र शान्तिपूर्ण वातावरण भएको भन्दै लगानीका लागि उपयुक्त वातावरण रहेको बताए ।

नेपालको संविधान आवश्यकता र औचित्यको आधारमा संशोधन हुन पनि उनले दोहोर्‍याए ।

‘त्यो नेपाली जनताका लागि आवश्यक पर्दा आवश्यकता अनुसार औचित्यका आधारमा संशोधन हुन सक्दछ । र नेपाली जनतालाई आवश्यक पर्दा नेपालको विकासका लागि आवश्यक पर्दा संविधानमा आवश्यक संशोधन हुन सक्दछ । हामी त्यस मान्यतामा छौँ’ उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रियालाई टुंग्याउन नचाहेको आरोप लगाए । राजनीतिक आन्दोलनका क्रममा भएको घाइतेहरुको उपचार गर्न र समस्यामा परेकाहरुको समस्या समाधान गर्न पनि उनले प्रचण्डलाई चुनौती दिए ।

‘…अहिले पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न उहाँहरु ? उहाँहरु टुंगो लगाउनुहुन्न । किन घाइतेहरुको बन्दोबस्त गर्नुहुन्न ? जेलमा रहेका झुठा मुद्दाहरु किन खारेज गर्नुहुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बहिर्गमित लडाकुहरुको व्यवस्थापन हुँदैन ? किन हुँदैन ?’ उनले भने, ‘अनि मन परेका मान्छेलाई दश, दशहजार बाँड्ने रे । दश, दशहजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छ ? घाइतेलाई उपचार गर्नुस् । समस्यामा परेकाको समस्या हेर्नुस् ।’

अध्यक्ष ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट उच्चस्तरको सहमति र लोकतान्त्रिक प्रक्रियाका साथ नेतृत्व चयन गर्ने बताए ।

प्रधानमन्त्रीले भने : संवाद र सहकार्य

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताए । उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका छन् ।

‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ’ प्रधानमन्त्री देउवाले भने, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’

उनले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको पनि बताए ।

सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताएका छन् । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उनले बताए ।

प्रधानमन्त्री देउवाले कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको पनि बताए ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि दलहरुबीच सहकार्य आवश्यक रहेको बताए ।

एमालेसँग पार्टी एकता गरेर एकै ठाउँमा रहे पनि केही भिन्न मान्यता र परिवेशले अलग भएको भन्दै उनले हरेक अत्याचारको विरोध गर्न कम्युनिस्ट आन्दोलनले सिकाएको बताए ।

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताए । ‘बाह्य शक्ति खेल्छ त । हामी लडाइ गर्नुपर्ने एकले अर्कोलाई खुइल्याउनुपर्ने । बाह्य शक्तिले त त्यही खोजिरहेको छ’ उनले भने ।

विश्वमा कम्युनिस्ट आन्दोलन कमजोर भएका बेला नेपालमा पनि कम्युनिस्ट पार्टीमा टुटफुट आएको भन्दै केसीले कम्युनिस्ट पार्टीको अन्तरविरोधमा बाह्य शक्तिले खेल्न खोजेको बताए । ‘अहिले सबभन्दा बढी तितोपिरो कम्युनिस्ट आन्दोलनमा छ, हाम्रो अन्तरविरोध बाह्य शक्ति, बाम आन्दोलन विरोधी शक्तिलाई सुनाएर औकात देखाउन खोज्छौं, यसरी हुँदैन’ उनले भने ।

महाधिवेशन उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादफ पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापालगायतले पनि शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?