+
+

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

रासस रासस
२०७८ मंसिर ११ गते २०:३९

११ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे ।

अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उन अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केहीमा स्वस्थ प्रतिस्पर्धाबाट पनि निर्वाचित भएका छन् । आइतबारसम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने उनले जानकारी दिए ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा पनि उद्घाटनसत्र सम्पन्न भई नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । माओवादीले पालिकास्तरीय सम्मेलनमा नेता, कार्यकर्ता र नागरिकको सक्रिय सहभागिताले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् । शनिबार दिनभर ललितपुरका विभिन्न पालिकाहरूको अधिवेशनमा सक्रिय रहनुभएका माओवादी नेत्री पम्फा भुसालले सम्मेलनले पार्टीमा नयाँ उभार पैदा भएको प्रतिक्रिया दिए । उनले जनतामा समेत माओवादी नै खास पार्टीका रूपमा स्थापित भएको बताए ।

माओवादीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेको थियो । धेरैजसो पालिकामा सोही विधिबाटै नेतृत्व चयन भएका छन् भने केहीमा निर्वाचन पनि भएका छन् । केन्द्रीय कार्यालयका सचिव ढकाल आफैँ पनि तनहुँका दुईवटा पालिकाको अधिवेशन सम्पन्न गर्न खट्नुभएको थियो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ धादिङको निलकण्ठ नगरपालिकाको सम्मेलनमा सहभागी भए । माओवादीका अधिकांश नेता तथा कार्यकर्ता आजको सम्मेलनमा सहभागी हुनुभएको थियो । भूमिसुधार सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ मध्यपुर थिमि नगर समितिको सम्मेलनमा सहभागी भए ।

अर्थमन्त्री जनार्दन शर्मा गृहजिल्ला रुकुम पश्चिमका विभिन्न पालिकाहरूको सम्मेलनमा सहभागी भए । आठबीसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाको सम्मेलनमा सहभागी हुनुभएका मन्त्री शर्माले माओवादीलाई एक नम्बरको पार्टी बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

पार्टीलाई साङ्गठनिकरूपमा स्पष्ट बनाउने र विधिमा सञ्चालन गर्ने उद्देश्यका साथ माओेवादीले यसपटक केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म निर्वाचन समिति नै गठन गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरेको हो । उद्घाटनसत्रमा माओवादी अध्यक्ष प्रचण्डले जनताले भरोसा गर्ने क्रान्तिकारी पार्टी निर्माण गरिछाड्ने दृढता व्यक्त गरेका थिऐ । उनले विचार, सङ्गठन र कार्यशैलीमा समेत जनपक्षीय पार्टी बनाउने बताइका थिए ।

माओवादीले ७५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिकास्तरीय सम्मेलनको आयोजना गरेको हो । आज सम्पन्न भएका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गरेको छ । यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ ।

माओवादीले पार्टीले विधानको व्यवस्थानुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको थियो । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए । पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेहरूलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ ।

वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थानुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुने गरी नेतृत्व चयन गर्दछ । वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?