न्युयोर्क । नेपाली मूलका अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको आकर्षक गाउनमा हलिउड अभिनेत्री एनी ह्याथवे देखिएकी छन् ।
गुरुङले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत ह्याथवेले न्युयोर्कमा आयोजित फिल्म ‘भेरिटी’को प्रिमियरमा ‘एटेलियर प्रबल गुरुङ’को गाउन लगाएको जानकारी दिएका हुन् ।
ह्याथवेले कालो रंगको सिफनबाट तयार पारिएको गाउन लगाएकी थिइन् । स्वीटहार्ट नेकलाइन रहेको उक्त गाउनमा फूलको बुट्टासँगै क्रिस्टलका दानाको आकर्षक जडान गरिएको थियो ।
गाउनको स्कर्ट र लामो पछिल्लो भागमा पत्रयुक्त ट्युल तथा सिक्विन्सको कढाइ प्रयोग गरिएको गुरुङले आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।
ह्याथवेको तस्बिर सार्वजनिक गर्दै गुरुङले उनको लुकलाई ‘आकर्षक एनी’ भन्दै प्रशंसा गरेका छन् । ‘भेरिटी’को न्युयोर्क प्रिमियरमा ह्याथवे प्रबल गुरुङको डिजाइनमा प्रस्तुत भएकी हुन् ।

प्रतिक्रिया 4