+
+

एमाले महाधिवेशनमा मौन पूर्वमाओवादी नेताहरु

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ मंसिर १२ गते ९:१९

१२ मंसीर, चितवन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरताको रुपमा पूर्वमाओवादीका कतिपय नेता एमालेमै छन् । उनीहरु पहिलो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी भए ।

पूर्वमाओवादी रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायत नेताहरू मात्रै एमाले महाधिवेशनमा छैनन्, विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएर आएका पूर्वमाओवादी नेताहरू पनि छन् । महाधिवेशन प्रतिनिधि नै भएर आइसक्दा पनि उनीहरू पूरै खुल्न सकिरहेका थिएनन् । ‘कुनै माग र दाबी छैन सहमतिका पक्षमा छौं’ भन्दै पूर्वमाओवादी नेताहरू एमालेमा पूर्वमाओवादीको व्यवस्थापन, नेतृत्व चयन लगायत प्रश्न पन्छाइरहेका छन् ।

‘मसँग अहिले बोल्ने केही छैन’ भन्दै शनिबार बिहान चितवनको सौराहास्थित बन्दसत्रस्थलमा पत्रकारहरुसँग नेता लेखराज भट्ट पन्छिरहेका थिए । सँगै रहेका नेता मणि थापा पत्रकारसँग पूरै पन्छिरहेका त थिएनन् तर खुलेर बोल्न पनि सकिरहेका थिएनन् । ‘माओवादीमा राजनीति गर्दागर्दै नेकपा भइयो र नेकपाको निरन्तरतामा एमालेमै रहियो । यसकारण केही नौलो अनुभव महाधिवेशनमा हुनु स्वाभाविक हो’ उनले अनलाइनखबरसँग भने । एमालेमा पूर्वमाओवादीको व्यवस्थापन कसरी हुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कुनै दाबी र बार्गेनिङ छैन । सहमतिमा जे हुन्छ त्यसै अनुसार अगाडि बढिन्छ ।’

चुनाव भए हारिन्छ भन्ने हो कि भन्ने प्रतिप्रश्नमा उनले पुरानै कुरा दोहोर्‍याए, ‘कुनै माग र दाबी छैन सहमतिको पक्षमा छौं।’ नेतृत्वका दृष्टिले नेकपा एमालेमा केपी ओलीको विकल्प नरहेको उनको जिकिर थियो । तर किन ओली नै ? भन्ने प्रश्नमा थप व्याख्या गर्न उनले चाहेनन् । बरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उदाहरण दिए । ‘माओवादीमा प्रचण्डको नेतृत्व सदाबहार छ । केपी ओलीको त दोस्रो कार्यकाल न हो’ उनले भने ।

महाधिवेशनमा पूर्वलडाकुहरू प्रतिनिधिका रुपमा आएका थिए । उनीहरू पनि मौन थिए । नेकपा माओवादीले १० वर्षसम्म सञ्चालन गरेको जनयुद्धमा होमिएर राजनीति शुरु गरेका भीम सुवेदी ‘सागर’ अहिले एमालेमा छन् । भन्छन्, ‘२०५४ सालदेखि माओवादीमा लागेर २२/२३ वर्ष माओवादीमै रहेर राजनीति गरें । एमालेसँग एकता भएर नेकपा बनेपछि त्यसैको निरन्तरतामा अहिले एमालेमा छु ।’

माओवादीमा रहँदा र एमाले भएर अधिवेशनमा आउँदा केही नयाँपन र भिन्नताहरू आफूले महसूस गरेको बताउने उनी त्यो के हो ? भन्नेचाहिं खुलाउन चाहेनन् । बरु एमाले बन्नुको कारण आफैं दिए, ‘एमालेले प्रतिस्पर्धाको राजनीतिलाई आत्मसात् गरेको हुनाले विचारमा कन्भिन्स गराएर अगाडि जान सकिन्छ भन्ने मुख्य कुरा हो ।’

जनमुक्ति सेनाको बटालियन कमाण्डरसम्मको जिम्मेवारी निर्वाह गरेका अर्का पूर्वमाओवादी पूर्ण बुढामगर पनि नेकपा एकता हुनुअघिसम्म माओवादीमै रहे । नेकपाको एकता भंग भएर एमाले र माओवादी ब्युँतिएपछि उनी एमालेमा रहे । माओवादीमा नरहेर किन एमाले भएको ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘जुन सर्वहारा वर्गको निम्ति भनेर बन्दूक उठाएका थियौं, जुन उद्देश्य र लक्ष्य थियो त्यो पूरा गर्ने सन्दर्भ जहाज चालकका कारणले डुब्यो । यसकारण एमाले भएको हुँ ।’

शुरुमै कुराकानीका लागि इन्कार गरेका उनी यत्तिमै रोकिन खोजे । आफू एमाले भएपछि पहिलोपटक मिडियासँग बोलेको उनको कथन थियो ।

एमालेको प्रतिनिधि भएर आइसक्दा पनि सार्वजनिक रुपमा बोल्न डराइराख्नुभएको छ कसरी पूर्वमाओवादीको पकड एमालेमा जमाउनुहुन्छ ? भनी प्रश्न गर्दा उनी भन्छन्, ‘जनयुद्धको जगमा प्राप्त भएका समानुपातिक समावेशिता, संघीयता, धर्मनिरपेक्षता लगायत उपलब्धिहरूको रक्षा गर्नुपर्नेछ । यो विषय अगाडि बढ्दा हामी यसै बढेका हुनेछौं र बन्दसत्रमा यो विषयमा गम्भीर बहस र छलफल हुन्छ ।’

तर, पूर्वमाओवादी नेताहरु सागर र मगरले भने जस्तो बन्दसत्रमा त्यस्तो कुनै छलफल भएन । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयन केन्द्रित भएर मन्तव्य राखे । ओलीले प्रतिस्पर्धा विपक्षी दलहरूसँग हुने पार्टीभित्र नेताहरुको मूल्यांकन भएर जिम्मेवारी पाइने बताए । नेता भीम रावलले सहमतिका नाममा आन्तरिक निर्वाचनलाई रोक्न नहुने बताए । यत्तिमै शनिबारको बन्दसत्र सकियो । आइतबार बिहान १० बजे बाँकी प्रक्रिया अगाडि बढ्नेछ ।

तर, पूर्वमाओवादी नेताहरु एमालेमा वैचारिक बहस हुनेमा आशावादी छन् । कहिले ? भन्नेमा भने प्रष्ट छैनन् । पूर्व माओवादी नेता मणि थापा जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले अंगीकार गरेकोमा सन्तुष्ट छैनन् तर सार्वजनिक रुपमा, एमालेका फोरममा असन्तुष्टि पनि पोख्न सक्दैनन् । भन्छन्, ‘नेकपाको निरन्तरतामा हामी एमाले भएका हौं, सबै चिज नेकपाको निरन्तरता हो तर कतिपय कुरा छन्, जबजको कुरा पनि छ तर, समय आएपछि बहस मज्जैले गर्छौं । अहिलेलाई जे अगाडि बढेको हो त्यसलाई मान्नुको विकल्प रहेन ।’ त्यो समय कहिले आउँछ भन्ने विषयमा उनी बोल्नै चाहेनन् ।

बरु अध्यक्ष ओलीले आफूहरुको व्यवस्थापन कसरी गर्छन् ? भन्ने पर्खेर बसेका छन् पूर्वमाओवादी नेताहरु । एक नेता भन्छन्, ‘रामबहादुर थापा (बादल)सहित बढीमा तीन जना नभएर बादल मात्रै पदाधिकारीमा रहने छन् ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?