
१२ मंसिर, चितवन । एमाले अध्यक्षमा उम्मेदवार घोषणा गरेका भीम रावलको पक्षमा भोट माग्दै गर्दा स्वयंसेवकहरुबाट बन्दसत्रको मूल गेटभन्दा बाहिर पठाइएका एक कार्यकर्ता योगेश बमले एमाले निरंकुश बन्न खोजेको गुनासो गरेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै कैलाली बौनियाका योगेश बमले भने, ‘हामी त कम्युनिष्टमा बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ भनेर कम्युनिष्ट बनेर आएको हो । तर यहाँ कम्युनिष्टभित्र पनि राणा शासनभन्दा पनि निरंकुश शासन छ ।’
आफूहरु लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न चितवन महाधिवेशनमा आएको बताउँदै उनले भने, ‘देशभरबाट प्रतिनिधिहरु आएका छन् खर्च भएको छ । हामीलाई यहाँ तमासा हेर्न बोलाएको हो ? आज चुनावको दिन हो, चुनाव गराउनु पर्यो नि ।’
यस्तो छ योगेशले अनलाइनखबरलाई दिएको प्रतिक्रिया–
भीम रावल कमरेड पार्टीमा एक्लै लडिराख्नु भाछ । तपाईं एक्लै हुनुहुन्न हामी कार्यकर्ताहरु तपाईंको साथमा छौं । जनताको बहदुलीय जनवादको सिद्धान्त बचाउनका लागि हामीले भोट मागिरहेको हो ।
आज त चुनावको दिन हो । एउटा व्यक्तिको पदको लागि रातारात १२ बजे विधान संशोधन गर्ने ? त्यत्रो १० करोड खर्च गरेर गोदावरीमा विधान संशोधन गरेको होइन ? आफूलाई मनलाग्दी जे पनि गर्ने ? आज चुनावको दिन हो, चुनाव गराउनु पर्यो नि । देशभरबाट प्रतिनिधिहरु आएका छन् खर्च भएको छ । हामीलाई यहाँ तमासा हेर्न बोलाएको हो ? आज भोट हाल्ने दिन होइन ? आज पनि बन्दसत्र गर्ने ? हिजो बन्दसत्र भएको होइन ? त्यही भएर भोट माग्न गएको हो ।
तर के गर्ने, हामी एमालेका कार्यकर्ता, एमालेकै कार्यकर्ताले लखेट्छन् के गर्ने अब । दिन यस्तै आयो, सबैको दिन आउने रहेछ ।
स्वयंसेवकहरुले तपाईं जानुस् जानुस् गेट बाहिर जानुस्, यहाँ भोट माग्न पाइँदैन, यहाँ त सहमति हुन्छ भने । स्वयंसेवकहरु आफैं केपी ओली भइसक्नुभयो । यहाँ रुन मन लागेको छ, आँखामा आँसु मात्र आएन । उहाँबाट यहाँसम्म धकेलेर बाहिर निकाले । कस्तो अवस्था आयो एमालेमा हेर्नुस् न । लोकतान्त्रिक पार्टी अरे ।
हामी त कम्युनिष्टमा त बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ भनेर कम्युनिष्ट बनेर आएको हो । तर यहाँ कम्युनिष्टभित्र पनि राणा शासनभन्दा पनि निरंकुश शासन छ के गर्ने, यस्तो हो राजनीति ।
नेतृत्व निरंकुश भयो । नेतृत्व अहंकारी भइसकेपछि कार्यकर्ताले के सिक्छ ? मेरो नेतृत्व छ । नेतृत्वले जे पनि गरिदिन्छ भन्ने अहंकार पैदा भयो ।
मलाई धकेल्न केपी ओली भन्दा पनि महा केपी ओली आउनुभयो । महिलाले धकेल्नुभयो । तपाईं महिला हो, मलाई नधकेल्नुस् भनें । सम्मान गर्नुस्, म आफैं जान्छु बाहिर भनें । थप बोलिनँ मैले ।
यो (पर्चा देखाउँदै) बाँड्न नमिल्ने कस्तो एमाले ? कस्तो जबज आयो ? आज चुनावको दिन हो नि । हामी कैलालीदेखि आएका छौं आज चुनावको दिन भनेर । अहिलेसम्म चुनाव भा छैन । आफूलाई मनलाग्दा राति १२ बजे पनि पदाधिकारी थप्ने । आठौं महाधिवेशनमा केपी ओलीले चुनाव हार्नुभयो, नवौंमा जित्नुभयो । अहिले पनि चुनाव लडेर जिते भइहाल्यो नि । भीम रावललाई हेर्नुस् मेरो दम भनेर देखाइदिए भइहाल्यो नि ।
केपी कमरेडको गुटभित्र १७ जना सचिवको उम्मेदवार छन् नि । पद सात जनाको छ । भीम कमरेडको अध्यक्षमा उम्मेदवारी हुनेवित्तिकै सबै कमरेडको सचिवमा, उपाध्यक्षमा उम्मेदवारी हुन्छ ।
प्रतिक्रिया 4