+
+

स्वास्थ्यमन्त्रीले गरे शुक्रराज ट्रपिकलका निर्देशक डा. बास्तोलाको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते २१:२४

१२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहर आउँदा संक्रमितहरुको उपचारमा खटिएका अब्बल डाक्टर हुन् अनुप बास्तोला ।

उनी र शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुमा कार्यरत स्वास्थ्यकर्मीहरको टिमले थुप्रै संक्रमितलाई नयाँ जीवन दिएको छ ।

अहिले पनि कोरोना संक्रमण नियन्त्रणमा आइसकेको छैन । बरु दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ओमिक्रोनले अरु देशसँगै नेपाल पनि सतर्क हुनुपर्ने बेला छ ।

तर यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. अनुप बास्तोलाको सरुवा गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रिस्तरीय निर्णय गरेर बास्तोलालाई सार्क क्षयरोग केन्द्रमा पठाएका छन् । शुक्रराजमा डा. मनिषा रावललाई ल्याइएको छ ।

डा. बास्तोलाको सरुवाप्रति अस्पतालमा कार्यरत कर्मचारीहरुले समेत असन्तुष्टि जनाएका छन् । तर स्वास्थ्यमन्त्री खतिवडाले भने आफूले स्वास्थ्य समन्वय महाशाखा लगायतमा कार्यरत १२/१३ जनाको सरुवा गरेको भन्दै एक जनाको पछाडि लाग्नुको अर्थ नभएको बताउने गरेका छन् । भन्छन्, ‘मैले १२/१३ जनाको सरुवा गरेको छु । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रलाई स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उहाँलाई किन सरुवा गरेको भनेर त केही आएको छैन त ?’

सामान्य अवस्थामा मन्त्रीको तर्क स्वाभाविक हो । मन्त्रीले आफ्नो तजविजी अधिकार प्रयोग गरेर सरुवा गर्न सक्छ । तर कोरोनाको नयाँ भेरियन्ट आउने खतरा बढेका बेला लामो समय संक्रमितको उपचारमा खटिएका डा. बास्तोलाको अन्यत्र सरुवालाई स्वभाविक मान्न नसकिने मन्त्रालयका एक अधिकारी बताउँछन् । कतिपयले सरुवामा राजनीतिक पूर्वाग्रहसँगै आर्थिक चलखेल समेत भएको आशंका गरेका छन् ।

डा. बास्तोलाई केपी शर्मा ओली नेतृत्वको सरकारले असार २०७८ मा निर्देशकको नियुक्त गरेको थियो । तत्कालिन निर्देशक सागर राजभण्डारीले अवकाश पाएपछि त्यहीँ कार्यरत डा. बास्तोलालाई निर्देशकको जिम्मेवारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?