+
+

आउँदो वर्षका लागि सर्वाधिक प्रतीक्षित ४ हिन्दी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १२:५८

१३ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण थला परेको हिन्दी चलचित्रको बजार विस्तारै उकासिँदैछ । चलचित्रको प्रदर्शन मिति धमाधम सार्वजनिक भइरहेका छन् ।

बक्स अफिसमा अहिलेसम्म चलचित्र ‘सूर्यवंशी’ नामक चलचित्रले तहल्का मच्चाए पनि त्यसपछि रिलिज भएका चलचित्रको छनक सुखद् छैन । यसैले बलिउडका विश्लेषकहरुले सन् २०२२ लाई प्रतीक्षाको रुपमा हेरेका छन् । र, यो वर्ष केही हिन्दी चलचित्रले बक्स अफिसमा ठूलो कारोबार गर्ने अपेक्षा उनीहरुको छ ।

जनवरी ७ तारिखमा रिलिज हुन लागेको ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको चलचित्र ‘आरआरआर’ले बक्स अफिसमा बम्पर कमाइ गर्ने अनुमान गरिएको छ । रामचरण र जुनियर एनटीआरको अभिनय रहेको यो चलचित्रको गीत हिट भइसकेका छन् । चलचित्रको टिजरले नै दर्शकमाझ नयाँ खालको उत्साह ल्याइसकेको छ ।

यस्तै, अप्रिल १४ तारिखमा रिलिज हुन लागेको साउथ स्टार यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’ पनि दर्शकको ठूलो भीडलाई हलसम्म तान्न सक्ने चलचित्र हो । यो चलचित्रको पहिलो शृंखलाले बक्स अफिसमा तहल्का मच्चाएको थियो । यसको दोस्रो सिरिज दर्शकका लागि सर्वाधिक प्रतीक्षामा छ ।

यी दुवै चलचित्र भारतका विभिन्न चार भाषामा रिलिज हुनेछन् । यस्तै, सन् २०२२ मा अभिनेता शाहरुख खान अभिनित चलचित्र ‘पठान’ पनि बक्स अफिसमा रिलिज हुनेछ । यो चलचित्रमा शाहरुखको साथमा दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका छ । शाहरुख खान चार वर्षपछि बक्स हलमा आउनेछन् । बलिउडकै ठूलो एक्सन चलचित्र भनिएको ‘पठान’ले बक्स अफिसमा बम्पर कमाइ गर्ने अनुमान बलिउड पण्डितहरुको छ ।

यस्तै, अभिनेता सलमान खानको हिट सिरिज ‘टाइगर ३’ पनि आगामी वर्ष बक्स अफिसमा रिलिज हुनेछ । सलमान खान र कट्रिना कैफको मुख्य भूमिका रहेको यो चलचित्रको प्रदर्शन मिति तय भएको छैन । तर, महंगो बजेटमा तयार हुन लागेको यो चलचित्रले पनि बक्स अफिसमा ३ सय करोडमाथिको व्यापार गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?