+
+

ओमिक्रोन भेरियन्ट विश्वभर फैलिने सम्भावना उच्च छ : डब्ल्यूएचओ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १६:४७
Photo Credit : Reuters

१३ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भेरियन्ट विश्वभर फैलिने संभावना रहेको भन्दै सबै सदस्य राष्ट्रलाई आवश्यक तयारीका लागि अपिल गरेको छ ।

डब्ल्यूएचओले ओमिक्रोन भेरियन्ट विश्वभर फैलिन सम्भावना रहेको र यसका लागि तयारी अवस्थामा रहन आफ्ना १९४ सदस्य राष्ट्रहरूलाई आव्हान गरेको हो । जोखिममा रहेका समूहलाई खोप लगाउने कार्य बढाउनु पर्ने समेत डब्ल्यूएचओको भनाइ छ ।

सोमबार नयाँ भेरियन्टबारे प्राविधिक ब्रिफिङ गर्दै डब्ल्यूएचओले भनेको छ, ‘ओमिक्रोन भेरियन्टबाट उत्पन्न हुन सक्ने विश्वव्यापी जोखिम निकै उच्च रहेको मूल्यांकन गरिएको छ ।’

‘ओमिक्रोनको स्पाइकमा हुने उत्परिवर्तन संख्या अभूतपूर्व रहेको’ र महामारीलाई थप लम्ब्याउन सक्ने सम्भावनाका कारण यस्तो उत्परिवर्तन ‘चिन्ताको विषय भनेको’ पनि डब्ल्यूएचओको भनाइ छ ।

त्यस्तै, ओमिक्रोनसहित सबै कोरोना भेरियन्टमाथि निगरानी बढाउन र चाँडोभन्दा चाँडो खोप लगाउने कार्यलाई तीब्रता दिन समेत डब्ल्यूएचओले अपिल गरेको छ ।

खोप अभियानमा विशेषगरी जोखिममा रहेका समूहलाई उच्च प्राथमिकता दिनुपर्ने र महामारीविरुद्धको लडाइँमा मास्क प्रयोग तथा भौतिक दूरी कायम गर्ने कुरा महत्वपूर्ण हुने पनि डब्ल्यूएचओको भनाइ छ ।

शुरुमा दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन हालसम्म ११ मुलुकमा फैलिइसकेको छ । नयाँ भेरियन्ट पत्ता लागेसँगै जापान र इजरायलले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएका छन् ।

डब्ल्यूएचओले खोपबाट प्राप्त हुने रोगप्रतिरोधी क्षमता छल्न सक्ने ओमिक्रोनको सामर्थ्य बुझ्न थप अनुसन्धान गर्नुपर्ने भन्दै आगामी केही हप्ताभित्र थप प्रमाण प्राप्त हुने अपेक्षा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?