+
+

भारतको लोकसभाबाट विवादित कृषि कानुन खारेजीसम्बन्धी विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १८:३८

१३ मंसिर, काठमाडौं । भारतको लोकसभाले विवादित बनेका ३ वटा कृषि कानुन खारेजीसम्बन्धी विधेयक पारित गरेको छ ।

लोकसभाले ध्वनी मतका आधारमा ३ वटा कृषि कानुन खारेजीसम्बन्धी विधेयक पारित गरेको भारतीय समाचार माध्यमले जनाएका हुन् । विपक्षी दलका सांसदको नाराबाजीबीच उक्त विधेयक पारित गरिएको समाचारमा उल्लेख छ ।

कृषिमन्त्री नरेन्द्र सिंह तोमरले लोकसभासमक्ष सोमबार कृषि कानुन खारेजीसम्बन्धी विधेयक (२०२१) पेश गरेका थिए । उक्त विधेयक ध्वनी मतका आधारमा पारित गरिएको हो । कांग्रेस नेता अधिर रन्जन चौधरीले विधेयकमाथि छलफल हुनुपर्ने माग गरेको तर सभामुख ओम बिरलाले अनुमति नदिएको समाचारमा उल्लेख छ ।

त्यस्तै, राज्यसभाले समेत ध्वनी मतका आधारमा सो विधेयक पारित गरेको थियो । किसान नेता राकेश टिकैतले लोकसभाबाट विधेयक पारित भएपछि यसको स्वागत गरेका छन् ।

‘यो आन्दोलनका क्रममा ज्यान गुमाएका ७५० जना किसानप्रतिको सम्मान हो’, उनले भने, ‘तर न्यूनतम समर्थन मूल्य (एमएसपी) लगायतका मुद्दा विचाराधीन रहेका हुनाले आन्दोलन जारी राखिने छ ।’

भारतका किसानले मोदी सरकारद्वारा ल्याइएका ३ वटा कृषि कानुन खारेजीको माग गर्दै १ वर्षभन्दा बढी समयदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १९ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा ३ वटै कानुन खारेज गर्ने घोषणा गरेका थिए । तर दिल्ली नजिकै भइरहेको प्रदर्शन अझै रोकिएको छैन । आफ्नो उत्पादनका लागि न्यूनतम समर्थन मूल्य निर्धारण भएपछि मात्रै प्रदर्शन रोकिने किसानहरूको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?