+
+

तातोपानी नाकाबाट व्यापार सहज बनाउन छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १४:४३
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । सरकारको उच्चस्तरीय टोलीले तोतोपानी नाकाको स्थलगत भ्रमण गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको नेतृत्वमा भन्सार, पारवहन, परराष्ट्र, गृह र वाणिज्यका अधिकारी सम्मिलित टोलीले आइतबार स्थलगत अनुगमन गरेको हो ।

नाका सहजीकरण र व्यापार दोब्बर बनाउन गर्न सकिने सबै उपायबारे सरोकारवालासँग प्रतिनिधि मण्डलले छलफल गरेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले अनलाइनखबरलाई बताए ।

महानिर्देशक सापकोटाले भने, ‘लामो समयदेखि यो नाकामा समस्या छ । त्यसैले नाकाबाट व्यापार सहज बनाउने विषयमा अनुगमन गर्‍यौं । व्यापार दोब्बर बनाउन सम्बद्ध सबै सरोकारवालासँग छलफल पनि गरेका छौं ।’ स्थलगत अनुगमनमा चिनियाँ पक्षसँग भने भेट नभएको अधिकारीहरुले बताएका छन् ।

नाकाबाट भइरहेको हालको ९ कन्टेनर सामान भित्रिने अवस्था कसरी दोब्बर बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिएको भन्सार विभागले जनाएको छ ।

नाकामा नेपाली पक्षले बनाएका सबै भौतिक संरचना र सम्बद्ध अधिकारीसँग हालको अवस्थाबारे जानकारी लिएर फर्किएको नेपाल इन्टर मोडल यातायात विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । अनुगमनमा संलग्न सबै क्षेत्रका अधिकारीले नाकाको समस्या र अब गर्नु पर्ने कामबारे लिखित प्रतिवेदन तयार गर्ने गजुरेललको भनाइ छ । सोही आधारमा सरकारले नाकाबाट व्यापार सहज गर्नका लागि योजना बनाउने उनको भनाइ छ ।

अनुगमन टोलीमा गृह र परराष्ट्र मन्त्रालयमा सहसचिव, सडक विभागका सिनियर डिभिजन इन्जिनियर र वाणिज्य मन्त्रालयबाट एक जना उपसचिव पनि सहभागी थिए ।

कोभिडलाई कारण देखाउँदै झण्डै डेढ वर्षदेखि उत्तरतर्फको नाका हुँदै हुने व्यापारमा समस्या देखिएको छ । नेपालको निर्यात रोकेको चीनले आफ्नोतर्फबाट हुने निर्यात पनि दैनिक कोटा तोकेर पठाउने गरेको छ । अहिले तातोपानी र रसुवागढी भएर जम्मा २० कन्टेनर सानमान नेपाल भित्रिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?