+
+

मोडेर्नाका सीईओ भन्छन्- ओमिक्रोनविरुद्ध अहिलेको खोप कम प्रभावकारी हुन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १५:०९

१४ मंसिर, काठमाडौं । औषधि निर्माता कम्पनी मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध हाल प्रयोग भइरहेका खोप कम प्रभावकारी हुन सक्ने बताएका छन् ।

मोडेर्नाका सीईओ स्टेफाने बान्सेलले कोरोनाका अरु भेरियन्टको तुलनामा ओमिक्रोनविरुद्ध विद्यमान खोप कम प्रभावकारी हुन सक्ने बताएका हुन् । हाल प्रयोग भइरहेका खोप निष्प्रभावी देखिएमा इक्विटी बजारमा गिरावट आउने र तेलको मूल्य घट्न सक्ने समेत बान्सेलको अनुमान छ ।

‘मेरो विचारमा डेल्टाविरुद्ध जुन मात्राको प्रभावकारिता देखिएको छ त्यही मात्राको प्रभावकारिता नदेखिन सक्छ’, फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा बान्सेलले भने ।

‘खोपले थोरै काम गर्न सक्ला तर हामीले प्रमाण कुर्नु पर्ने भएकाले कति प्रभावकारी हुन्छ भनेर मलाई केही थाहा छैन’, बान्सेलले थपे, ‘तर मैले कुरा गरेका सबै वैज्ञानिकले खोपले राम्रोसँग काम नगर्ने बताएका छन् ।’

स्पाइक प्रोटिनमा ओमिक्रोनको उच्च उत्परिवर्तन र दक्षिण अफ्रिकामा तीव्र फैलावटले विद्यमान खोपलाई आगामी वर्ष हेरफेर गर्नुपर्ने कुरालाई औंल्याउने पनि बान्सेलले बताए । खोप निर्माता कम्पनीलाई नयाँ भेरियन्टलाई लक्षित गरी खोप बनाउन कैयौं महिना लाग्न सक्ने पनि उनको भनाइ थियो ।

हालै दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्टका कारण कैयौं मुलुकले यात्रा प्रतिबन्ध लगाइरहेका बेला सीईओ बान्सेलको उक्त अभिव्यक्ति आएको हो ।

सोमबार नै विश्व स्वास्थ्य संगठनले ओमिक्रोनबाट विश्वभर संक्रमण निकै बढ्ने जोखिम रहेको बताएको थियो ।

तर ओमिक्रोन कति संक्रामक छ र  विद्यमान खोपले काम गर्ने वा नगर्ने भनेर प्रस्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?