+
+

कमल थापाको स्वीकारोक्ति : ५ जना मात्र उम्मेदवार उठाउनु ठूलो गल्ती

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १५:५६

१५ मंसिर, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले एउटा चुनावमा असफल हुँदैमा राप्रपा कमजोर भयो भन्ने हिन भावना नराख्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबारदेखि सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टी एकता कायम गर्न नसक्नुमा आफू नैतिक जिम्मेवार रहेको भन्दै क्षमा मागे । तर आफ्नै कार्यकालमा एकता महाधिवेशन गर्न सकेकोमा गौरव महसुस भएको भन्दै उनले भने,‘एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन, एउटा चुनावमा असफल हुँदैमा राप्रपा कमजोर भयो भन्ने हिन भावना कसैले राख्नु हुँदैन ।’

अरु राजनीतिक दलहरुको आरोप अवरोह पनि देखेको भन्दै उनले राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावले नलेख्ने बताए ।

यद्यपि उनले कमजोरी भएको स्वीकार गरे । निर्वाचनको बेला पार्टी फुटेको र कांग्रेससँग इमान्दार सहकार्य नभएको भन्दै थापाले भने, १५६ निर्वाचन क्षेत्रमध्ये ५ वटामा मात्र उम्मेदवार उठाउनु र १६० वटामा उम्मेदवार खडा नगर्नु हाम्रो ठूलो गल्ती थियो । ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २२५ वटामा उम्मेदवार खडा नगर्नु अर्को भूल थियो ।’

यसका बाबुजत राप्रपाले २ लाख राप्रपा संयुक्त र राप्रपा राष्ट्रवादीले भण्डै एक लाख भोट पाएको स्मरण गर्दै उनले भने, दुबै जोड्ने हो भने त्यो प्रतिकुल अवस्थामा पनि झण्डै ३ प्रतिशत भोट पाएका छौं । अहिलेको आवश्यकता भनेको केबल २÷४ सिट बढाउने मात्र होइन, राप्रपालाई देशको अग्रणी शक्तिका रुपमा स्थापना गर्ने हो ।’ त्यही सपना बोकेर कयौं सम्झौता र त्याग गरेर फेरि पार्टी एकता गरेको भन्दै उनले भविश्यमा पार्टी कहिल्यै टुक्राउन नदिने कसम आफूहरुले खाएको बताए ।

पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले अध्यक्षमा चुनाव नलड्ने घोषणा गरे पनि सक्रिय भूमिका अझै केही वर्ष रहने भन्दै थापाले एक पटक सबै मिलेर पार्टीलाई जुरुक्कै उठाउन आवश्यक रहेको बताए ।

राणा, लोहनी र आफ्नो कुनै निर्णयमा कमजोरी भएपनि बेइमानी, भ्रष्टाचार गरेको आरोप कसैले लगाउन नसक्ने बताए । अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङ्देनतर्फ इंगित गर्दै उनले भने, चार वर्ष धैर्य गर्नुस्, बलियो पार्टी बनाएर युवा पुस्तालाई हस्तातरण गर्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?