+
+

चार महिनामा मोबाइल आयातमा २० अर्ब बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १९:२०

१६ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बुधबार आवश्यक सहयोग गर्न सरकार तयार रहेको भन्दै नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरे । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो आग्रह गर्नुको प्रमुख कारण थियो, मोबाइल आयातमा पछिल्लो वर्षमा आएको उछाल ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा २६ लाख मोबाइल सेट नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चार महिनामा मोबाइल आयातका लागि २० अर्ब ३५ करोड रुपैयाँ बाहिरएको छ । २६ लाख १ हजार मोबाइल सेट भित्रिँदा सरकारले ३ अर्ब २२ करोड राजस्व उठाएको विभागले जानकारी दिएको छ ।

अहिले नेपालमा ग्राहकहरु मध्यमस्तरीय मोडलका विकल्पहरु खोजिरहेका छन् । चालु आर्थिक वर्ष ०७८/७९ को साउन, भदौ, असोज र कात्तिकमा मोबाइल आयात गत वर्षको यही अवधिको तुलनामा १५ प्रतिशत बढेको छ ।

आव ०७७/७८ को पहिलो चार महिने अवधिमा २१ लाख ९० हजार मोबाइल सेट नेपाल भित्रिएको थियो । दुई महिनामै गत वर्षभन्दा करिब ५ लाख बढी सेट आयात भएको छ ।

गत आव ०७७/७८ मा मोबाइल आयातमा दोब्बर वृद्धि भएको थियो । २०७७ साउनदेखि २०७८ असारसम्म ७० लाख ३० हजार मोबाइल सेट आयात भएको थियो । आव ०७६/७७ को भन्दा यो परिमाण २६ लाख ६५ हजार वटा बढी थियो । आव ०७७/७८ मा आयात भएको मोबाइलको मूल्य १८ अर्ब १७ करोडबाट ३६ अर्ब ९० करोड रुपैयाँ पुगेको थियो ।

स्मार्ट फोन कम्पनीहरुलाई अहिले बजारको माग धान्न हम्मे परिरहेको छ । महामारीपछि विद्युतीय चिप अभाव भएको असर मोबाइल बजारमा परेको छ । नेपाल मोबाइल व्यवसायी संघका अनुसार कोराना महामारीपछि स्मार्टफोनको व्यापार लगातार सप्रिरहेको छ ।

कोभिड–१९ महामारीपछि अनलाइनमा निर्भरता बढेको छ । राम्रोसँग चल्ने मोबाइल किन्नु बाध्यताजस्तै बनेको छ । त्यसका कारण माग बढ्दै जाँदा मध्यम रेन्जका फोन आपूर्ति असहज बनेकाले अवस्था जटिल छ ।

अडियो/भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ ।

विभिन्न पेशा–व्यवसाय गर्नेहरु इमेल गर्न, एसमएस पठाउन, पढ्न, वर्ड÷पावर प्वाइन्ट लगायत गर्न मिल्ने फोन खोजिरहेका छन् । ठूलो स्क्रिन भएको फोनमा पनि ग्राहकको रुची बढी छ । ह्याङ्ग नहुने र लामो समय नतात्ने फोन खोज्नेहरु धेरै छन् ।

अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । राम्रो गुणस्तरको फोटो/भिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको छ । २० हजारदेखि ३० हजारसम्मका फोन किन्नेको संख्या अधिक छ । बार फोन बोक्नेहरु स्मार्ट फोनमा ‘अपग्रेड’ हुँदैछन् ।

नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो भएको मोबाइलको माग बढेको छ । नेपाल टेलिकम र एनसेलले सेवा विस्तार गर्दै गुणस्तर पनि सुधार्दै लगेकाले मोबाइल बजारमा त्यसको प्रभाव देखिएको विश्लेषण व्यवसायीहरुको छ ।

विदेशबाट आउने रेमिट्यान्सको रकम ‘कनेक्टिभिटी’को साधनमा पनि खर्च गर्ने क्रम बढ्दो छ । ‘वाइफाइ’ इन्टरनेट चलाउनेहरुका लागि मोबाइल सहज साधन मानिन्छ । अहिले तारसहितको इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि आक्रमक रुपमा सेवा विस्तार गरेकाले पनि मोबाइल बजार बढाउन सघाउ पुगेको छ ।

संघका अनुसार सामान्य खालका बार फोन छाडेर स्मार्टफोन रोज्नेहरु बढेका छन् । अनलाइन कक्षा, भर्चुअल मिटिङ लगायतमा पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएकाले मोबाइलको बजार चम्किन पुगेको हो ।

महामारीपछि नेपाल–भारत सीमामा आउजाउमा कडाइ गरिएका कारण मोबाइल तस्करी कम भएको अनुमान छ । अन्तर्राष्ट्रिय हवाई उडानहरु सीमित छन् ।

विदेश आउने–जानेहरु घट्दा मोबाइल सेट उपहार आउने क्रम घटेको छ । दूरसञ्चार प्राधिकरणले अवैध फोन चल्न नदिने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ जोड्ने तयारी गरेकाले दशैंपछि व्यापार अझै उचालिने आशामा व्यवसायीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?