
१६ मंसिर, काठमाडौं । अमेरिकी रक्षामन्त्री लियोड अस्टिनले अत्याधुनिक चिनियाँ हतियारका कारण ‘इन्डो-प्यासिफिक’ क्षेत्रमा तनाव बढेको बताएका छन् ।
बिहीबार रक्षामन्त्री अस्टिनले जुलाईमा चीनले गरेको हाइपरसोनिक हतियार परीक्षण र अत्याधुनिक हतियार विकासका कारण इन्डो-प्यासिफिक क्षेत्रमा तनाव थप चर्किएको बताएका हुन् ।
‘जुलाई २७ मा चीनले हाइपरसोनिक हतियार परीक्षण गरेको कुरा हामीलाई थाहा छ’, दक्षिण कोरियाको भ्रमणमा रहेका अस्टिनले भने, ‘चीनले विकास गरिरहेका सैन्य क्षमताप्रति हाम्रो चासो छ र क्षमताका कारण यो क्षेत्रमा तनाव बढेको छ ।’
अमेरिकाले आफू र आफ्ना सहयोगी राष्ट्रसामु चीनबाट हुन सक्ने खतरासँग जुध्ने गरी सैन्य क्षमता कायम गर्ने पनि अस्टिनको भनाइ थियो । उनले भने, ‘हामी र हाम्रा सहयोगीसामु चीनबाट हुन सक्ने विभिन्न खाले खतरासँग जुध्ने र त्यस्ता खतरालाई रोक्ने गरी क्षमता कायम गर्नेछौं ।’
हाल अस्टिन एउटा वार्षिक सुरक्षा बैठकमा सहभागी हुन दक्षिण कोरियामा छन् । उनले बैठकका क्रममा दक्षिणी कोरियाली समकक्षी सुह वूकसँग चीन र उत्तर कोरियाबाट उत्पन्न चुनौतीसहित विभिन्न विषयमा छलफल गर्नेछन् ।
चीनको बढ्दो सैन्य सामर्थ्य र एसिया-प्रशान्त क्षेत्रमा अमेरिकी वर्चश्व अन्त्यका लागि उसले चालेका कमदबाट अमेरिकाले असहज महसुस गरिरहेको छ । तर चीनले भने आफूले हाइपरसोनिक हतियार परीक्षण गरेको समाचारलाई खण्डन गर्दै आएको छ ।
प्रतिक्रिया 4