१७ मंसिर, काठमाडौं । इण्डियन-अमेरिकन र्यापर द राजा कुमारी नेपाल आइपुगेकी छन् । उनी शुक्रबार दिउँसो १ बजे नेपाल आइपुगेकी हुन् । राजा कुमारीले शनिबार काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा आयोेजना हुन लागेको कन्सर्टमा दर्शकलाई झुमाउने छिन् ।
उनले आफू नेपाल आउँदा निक्कै नै खुशी भएको प्रतिक्रिया दिइन् । राजा कुमारीले अमेरिकामा विज खलिफाजस्ता चर्चित र्यापरसँग स्टेज शेयर गरिसकेकी छन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘म भोलि नेपाली दर्शकमाझ मेरो नयाँ एल्बमको गीत सुनाउने छु ।’

राजा कुमारीले आफू सन् २०१७ मा पनि नेपाल घुम्नको लागि आएको सुनाइन् । ‘मलाई पशुपतिनाथ मन्दिर, नेपालीहरुको इनर्जी, शान्त वातावरण खुबै मनपर्छ,’ उनले भनिन्, ‘यहाँको विभिन्न परिकार पनि चाख्ने मन छ ।’
विमानस्थलमा उनले नेपालीमा भनिन्, ‘नमस्ते नेपाल, म राजा कुमारी । सन्चै हुनुहुन्छ ।’
राजा कुमारीलाई नेपाल ल्याउन निक्कै नै गाह्रो भएपनि आफूहरु सफल भएको फरेनहाइटका सीइओ मिलन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हामीले लामो समयदेखि प्रयास गरिरहेका थियौं । उहाँलाई नेपाल ल्याउन गाह्रो भयो, तर सफल भयौं ।’

राजा कुमारीले गाएको ‘सिटी स्लम्स’, ‘एन.आर.आई’ लगायतका गीत चर्चित छन् ।
तस्वीर : आर्यन धिमाल
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4