+
+

डब्ल्यूएचओले घोषणा नगर्दै नेपालमा भित्रिसकेको थियो ओमिक्रोन !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १४:१५

२० मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यहाँ नोभेम्बर ९ (२३ कात्तिक)मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट भेटिएको थियो र विश्व स्वास्थ्य संगठनले २३ नोभेम्बर (७ मंसिरमा) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको विश्व समुदायलाई जानकारी गराएको थियो ।

डब्ल्यूएचओले भेरियन्ट अफ कन्सर्नमा राखेको ओमिक्रोन नेपालमा पनि भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी दुई २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ३ मंसिरमा नयाँ भेरियन्ट भेटिएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक नेपाल आएका थिए उनको पीसीआर नेगेटिभ रिपोर्ट थियो भने खोपको दुबै मात्र पूरा गरेका थिए । तर उनी र उनको सम्पर्कमा आएका एक व्यक्तिलाई ७ मंसिरमा कोभिड–१९ संँग मिल्दाजुल्दा लक्षण देखियो । परीक्षण गर्दा दुबैमा कोरोना संक्रमण पुष्टि भयो ।

दुबैको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १९ मंसिरमा नयाँ भेरियन्ट ओमिक्रोन भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्थात नयाँ भेरियन्ट बी.१.१.५२९ बारे दक्षिण अफ्रिकाले डब्ल्यूएचओलाई जानकारी गराउँदा नगराउँदै नेपालमा पनि संक्रमण भित्रिसकेको थियो । सोमबार औपचारिक रुपमा पुष्टि मात्र भएको हो ।

सम्पर्कमा आएका ६६ जनाको रिपोर्ट नेगेटिभ

मन्त्रालयका अनुसार दुई संक्रमितको सम्पर्कमा आएका ६६ जनाको पहिचान गरी पीसीआर परीक्षण गरिएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ र सबै स्वस्थ रहेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

मन्त्रालयले कोरोनाको अरु भेरियन्ट जस्तै ओमिक्रोनबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न र खोप अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
ओमिक्रोन भेरियन्ट कति घातक छ ? खोपको प्रभावकारिता कति रहन्छ भन्ने अझै अध्ययनकै क्रममा छ । तर झण्डै ५० वटा म्यूटेसन देखिएकाले अरु भेरियन्टभन्दा घातक हुनसक्ने आशंका अध्ययनकर्ताहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?