
२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको टिप्पणी गरेका छन् ।
प्रदेश १ को सभापतिमा चुनाव लडेका उनी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित भएका थिए । घिमिरे रामचन्द्र पौडेल समूहका उम्मेदवार थिए ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता घिमिरेले पार्टीको अन्तरिक चुनावमा जित हार स्वभाविक भएको बताए । तर प्रदेश १ को चुनाव मुल्य मान्यताको राजनीतिको स्खलनको जिवन्त दृष्टान्त भएको भन्दै उनले भने, ‘मूल्य मान्यता र आदर्श कुल्चिएर निर्वाचनमा सत्ताको दुरुपयोग भयो ।’
प्रतिनिधिसभा निर्वाचनमा आफूलाई टिकट नदिएर पार्टी सभापति शेरबहादुर देउवाले राजनीतिक हिंसा गरेको भन्दै उनले भने, ‘अहिले फेरि राजनीतिक हिंसा भयो । सत्ताको चरम दुरुपयोग भयो ।’
१६३४ मत गणना हुँदासम्म आफ्नो अग्रता रहेको तर, ११५ मत गन्दा चमत्कारिक रुपमा २ भोटले हारेको देखाइएको भन्दै उनले पुनः मतगणना गर्न समेत माग गरेका छन् । त्यसका लागि आफूले प्रदेश निर्वाचन समितिमा निवेदन समेत दिएको, तर केन्द्रले आलटाल गरेको उनले बताए ।
प्रतिक्रिया 4