+
+

सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र

रासस रासस
२०७८ मंसिर २२ गते १०:४९
बैतडीस्थित सेती नदीमा आएको बाढी । तस्वीर : अनलाइनखबर फाइल ।

२२ मङ्सिर, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तीमध्ये सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच/पाँच ,बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई/दुई स्थानीय तह छन् ।

डोटीका दीपायल सिलगढी नगरपालिका, केआईसिंह, आदर्श, जोरायल र सायल गाउँपालिका र डडेल्धुराका नवदुर्गा, अमरगढी, आलिताल , गन्यापधुरा र परशुराम गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् । यसका साथै बझाङका थलारा, वित्थडचिर , खप्तडछान्ना र जयपृथ्वी गाउँपालिका, बैतडीका सिगास र शिवनाथ गाउँपालिका, दार्चुला दुहुँ र अपिहिमाल गाउँपालिका र बाजुराका हिमाली र जगन्नाथ गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका छन् ।

गृहमन्त्रालयले २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण सुदूरपश्चिममा धनजनको क्षति भएको थियो । यहाँ उक्त बेला विपद्मा परी यस प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौँको अन्य क्षति भएको थियो ।

सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?