+
+

पेट्रोल पम्पलाई चार्जिङ स्टेशनमा बदल्नुपर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १९:३९

२२ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब पेट्रोल पम्पलाई चार्जिङ स्टेशनका रूपमा बदल्नुपर्ने बताएका छन् । मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनिकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब विस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनमा बदल्नुपर्छ, यस किसिमको प्रविधि पनि आइसकेको छ । यसले हामी सबैको भलो हुनेछ ।’

अर्थमन्त्री शर्माले आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई नै प्रतिस्पर्धी बनाउनुपर्ने समेत बताए । उनले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने उल्लेख गरे । ‘स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक छ’, मन्त्री शर्माले भने, ‘आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ, आजको जमानामा यो सम्भव छैन ।’

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धिहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने उनको तर्क छ । यद्यपि स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिने बताए । ‘प्रतिबन्ध सम्भव छैन’, उनले भने, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्ने उनले जोड दिए ।

मन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्ने बताए । खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पुर्‍याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीहरूलाई आग्रह गरे । उनले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न सुझाव दिए । ‘जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?