+
+

गाउँपालिकाको बेथितिविरुद्ध १० बुँदे मागसहित एक युवा अनशनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १९:०१

२३ मंसिर, वीरगञ्ज। पर्साको पटेर्वासुगौली गाउँपालिकामा देखिएको बेथितिविरुद्ध एक युवक तीन दिनदेखि आमरण अनशनमा छन् । पटेर्वासुगौली–३ बस्ने रामजनम चौधरी अमरण अनशनमा बसेका हुन् ।

गाउँपालिकामा अनियमितता, बेथिति र कु-शासन बढेको भन्दै त्यसको विरुद्धमा फरहदवास्थित गाउँपालका कार्यालय अगाडि उनी तीनदिनदेखि आमरण अनशनमा छन् ।

मंसिर १५ गतेदेखि १९ गतेसम्म धर्नामा बस्दा समेत माग सम्बोधन नभएपछि मंसिर २० गतेदेखि उनले अनशन शुरु गरेका थिए । अनशनमा बसेका रामजनमले गाउँपालिका समक्ष १० बुँदे माग राखेका छन् ।

गाउँपालिकाको कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भइ काम गर्नुपर्ने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवको सरुवा हुनुपर्ने, पछिल्लो चार वर्षमा गाउँपालिकामा भएको विकास कार्यको उपलब्धिबारे जानकारी गराउनुपर्ने, खेल मैदान, खेल प्रतियोगिता र खेल प्रशिक्षकको व्यवस्था गर्नुका साथै उनीहरुका लागि तलब भत्ता तथा खान बस्ने व्यवस्था हुनुपर्ने, कृषिलाई आधुनिकीकरण गर्न मल खाद तथा उपकरणहरुको सुविधा दिइनुपर्ने, हरेक वडामा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, एक वर्षअघि भएको गाउँपालिका र स्थानीय युवाबीचको सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने, विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था मिलाउनु पर्ने, विभिन्न विषयगत शिक्षकको खाली दरबन्दीमा शिक्षक नियुक्ति गर्नु पर्ने, विद्यालयमा कक्षाकोठा तथा भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने माग उनको छ ।

अनशन बसेको तीन दिन बितिसक्दा पनि कुनै जनप्रतिनिधिले माग सम्बोधनका लागि चासो नदेखाएको र अनशन तुहाउने षडयन्त्र भइरहेको उनले बताए ।
उनले भने, ‘ अनसनको समर्थन गर्ने युवालाई प्रभावमा पार्न जनप्रतिनिधिले खेल प्रतियोगिताको नाममा ६ लाख रुपैयाँ बजेट दिएर आन्दोलन तुहाउन षडयन्त्र गरिरहेका छन्।श्वास रहेसम्म गाउँपालिकामा भएका गलत कामको विरोधमा लड्छु।’

यता गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले भने सबै कर्मचारी नियमित कार्यालयमा आउन सक्ने अवस्था नरहेको र जनप्रतिनिधिहरु कार्यालय कुरेर बस्न नसक्ने बताइन् । उनले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव पोखरिया नगरपालिका र पटेर्वासुगौलीमा तथा लेखा अधिकृत सोनु कुमार सोनी वीरगञ्ज भन्सार र पटेर्वा सुगौलीमा कार्यरत छन् । ’

अनसनरत युवकले उठाएको अधिकांश माग गाउँपालिकाले पुरा गरिसकेको, कतिपय गर्ने क्रममा रहेको र केही माग गाउँपालिकाको क्षमताभन्दा बाहिरको रहेको उनको भनाइ छ ।

कृषिमा एकजना प्रमुख र ५ जना कर्मचारी हुनुपर्नेमा २ जना करारको मात्रै रहेको र विद्यार्थी अनुपातमा शिक्षकका लागि विभिन्न तहको ६१ जना शिक्षक गाउँपालिकाले नै माग गरेको उपाध्यक्ष महतोले बताइन्।

खेलाडीको व्यवस्थापन गर्ने माग जायज रहेको बताउँदै अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले समन्वय गरेर पुरा गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?