
२३ मंसिर, काठमाडौं । अभिनेता राजेश हमालले ‘मेची-महाकाली बुहारी संयुक्त आवाज’को तर्फबाट महिला फुटबल खेलाडी अस्मिता रनपललाई प्रदान गरिएको ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
देश तथा विदेशमा फुटबल खेलेर नाम कमाइसक्दा पनि आर्थिक अवस्था कमजोर भएको भन्दै भोलिको दिनमा खेल खेल्न झनै हौसला मिलोस् भनेर संस्थाले रकम हस्तान्तरण गरेको हो । अभिनेता राजेश हमालको हातबाट रकम ग्रहण गर्न पाउँदा आफूले भाग्यमानी महसुस गरेको अस्मिताले बताइन् ।
कार्यक्रममा हमालले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘डाँडापारी’ पनि सार्वजनिक गरिएको थियो । रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत छ । भिडियोमा राजेशको साथमा मोडल गीता ढुंगानाले अभिनय गरेकी छन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, अभिनाश डीसी र भूपेन्द्र अधिकारीको सम्पादन छ ।
हाल अमेरिकामा रहँदै आएकी मेची-महाकाली बुहारी संयुक्त आवाजको केन्द्रीय अध्यक्ष समेत रहेकी संगीतकार तथा गीतकार यमुले कार्यक्रममा उपस्थिति जनाएका अतिथि सबैलाई अमेरिकाबाटै धन्यवाद दिएकी थिइन् । भिडियोको निर्देशन आयुष क्षेत्रीले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4