+
+
Shares

बालेन सरकारप्रति राजेश हमालको असन्तुष्टि : जनताले भाषणभन्दा सुशासन खोजेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १६:३०

काठमाडौं । अभिनेता राजेश हमालले बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेको बताएका छन् ।

हमालले सरकारको पहिलो सय दिनको मूल्यांकन प्रतिबद्धता र घोषणाको आधारमा नभएर उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा हुनुपर्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत हमालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । हमालले शक्तिशाली राष्ट्रको रणनीतिक प्रतिस्पर्धाले प्रभावित भएको स्थितीमा नेपाल आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्ने बताएका छन् ।

‘ हामी सबैसँग मित्रताको हात बढाऔँ, तर कुनै पनि शक्तिको प्रभावले हाम्रो सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न नदिऔँ’ पूर्वराजदूतका छोरा समेत रहेका हमालले सुझाव दिएका छन् ।

जेनजी आन्दोलनमा भएको हिंसा र आगजनीतर्फ संकेत गर्दै उनले हिंसा र आगजनी लोकतन्त्रको भाषा हुन नसक्ने बताएका छन् । ‘ आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्नेहरू सम्मानका पात्र हुन्, तर अपराध गर्ने जोसुकै भएपनि निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्छ’ हमालले भने ।

‘राष्ट्रको वास्तविक शक्ति संस्थालाई सबल बनाउनुमा, विधिको शासनलाई सुदृढ गर्नुमा र दलगत राजनीतिभन्दा माथि नेपाललाई राख्न सक्नुमा निहित हुन्छ’ हमालले भनेका छन् ।

उनी अघि भन्छन्, ‘आउनुहोस्, हामी विवेकशील बनौँ, एकताबद्ध रहौँ, र यस्तो नेपालको निर्माणमा समर्पित बनौँ जहाँ विभाजनमाथि विवेकको विजय होस्, र जहाँ कुनै पनि राजनीतिक विचारधाराप्रतिको निष्ठाभन्दा नेपालप्रतिको हाम्रो प्रेम अझ महान् होस् ।’

हमालले यसअघि पनि पटक-पटक सरकारको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् । २१ फागुनको चुनावअघि एक भिडियो सन्देश जारी गर्दै नयाँ पार्टीप्रति पनि हमालले असन्तुष्टि खुलारुपमा असन्तुष्टि जनाएका थिए । त्यसपछि उनी विवादमा तानिएका थिए । त्यसयता उनले लगातार बालेन सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?