+
+
Shares

‘पानको पात’ गायकसँग राजेश हमालको सहकार्य, पानीको महत्व बुझाउन ल्याए गीत

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालले काठमाडौंमा आयोजित कार्यक्रममा बमबहादुर कार्कीको सन्देशमूलक गीत 'म हुँ पानी सबको जिन्दगानी' को भिडियो सार्वजनिक गरे।
  • गीतमा पानीको महत्व र संरक्षणको सन्देश प्रवाह गरिएको छ, जसमा हमाल र करिश्मा मानन्धरले अभिनय गरेका छन्।
  • गायक कार्कीले गीतका शब्द र सङ्गीत सिर्जना गरेका छन् भने शिवा आले, लोचन भट्टराई र अर्जुन सोनमले स्वर दिएका छन्।

काठमाडौं । ‘पानको पात’ जस्ता कालजयी लोकगीतका सर्जक बमबहादुर कार्कीको सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ । काठमाडौमा आयोजित कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, गायक कार्की, निर्देशक देवेन्द्र पाण्डे र गायिका तथा गोरखा म्युजिककी संचालक शिवा आले कार्की, कलाकार उत्तम केसी लगायतको उपस्थिती थियो ।

प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्वलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतमा समाजका लागि एउटा गहन सन्देश प्रवाह गरिएको छ ।
म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका सदाबहार जोडी हमाल र मानन्धरको अभिनय छ ।

केही समयको अन्तरालपछि यो जोडीले एउटै भिडियोमा काम गरेका हुन्, जहाँ हमालले पानीको शक्ति र गरिमालाई चित्रण गरेका छन् भने करिश्माले आफ्नो नृत्य र अभिनयमार्फत प्रकृतिको सुन्दरतालाई झल्काएकी छिन् । भिडियोमा उनीहरूसँगै सगुन कार्कीको पनि सशक्त अभिनय देख्न सकिन्छ ।

गीतमा कार्की स्वयम्को शब्द र सङ्गीत छ । स्वरमा कार्कीलाई गायिका शिवा आले, लोचन भट्टराई र गायक अर्जुन सोनमले साथ दिएका छन् । सङ्गीत संयोजन बीबी अनुरागीले गरेको छन् ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोलाई हरि हुमागाईँले छायाङ्कन गरेका हुन् । भिडियोमा नेपालका सुन्दर पहाड, झरना, नदी र प्राकृतिक दृश्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । विकास दाहालले सम्पादन गरेको यस भिडियोमा पानीका विभिन्न रूपहरू पनि देखाइएको छ ।

गीतको मूल भाव ‘पानी नै जीवन हो’ भन्नेछ । गीतले पानीले आफ्नो महत्व दर्शाउँदै मानिसलाई यसको संरक्षण गर्न र प्रदूषित नबनाउन आग्रह गरेको छ ।

कार्यक्रममा हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्वपूर्ण आधार भएको बताउँदै यसको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरे । उनले पानीको मूल्य र यसको मानवीय अस्तित्वसँगको सम्बन्धबारे उनले चर्चा गरेका थिए ।

कार्यक्रममा हमालले गायक कार्कीको योगदानको चर्चा गर्दै उनको सदाबहार गीत ‘पानको पात’ ले नेपालमा मात्र नभई विश्वभर चर्चा पाएको स्मरण गरे । आफू चलचित्र क्षेत्रमा आउनुभन्दा अगाडि नै कार्कीका गीतमा नाच्ने गरेको बताउँदै उनले यस नयाँ प्रोजेक्टमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।

अभिनेत्री मानन्धरले गीत राम्रो बनेको भन्दै प्रशंसा गरिन् । गायक कार्कीले मानव जीवनमा पानीको महत्व बुझाउन र संरक्षण सन्देश दिन गीत बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?