0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

६२ लागे राजेश हमाल, अस्ट्रेलियामा मधुसँग जन्मदिन मनाउँदै

राजन घिमिरे राजन घिमिरे
२०८३ जेठ २६ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली चलचित्रका अभिनेता राजेश हमाल पत्नी मधुसहित अस्ट्रेलिया भ्रमणमा रहेका बेला मंगलबार आफ्नो ६२औं जन्मदिन मनाउँदैछन् ।
  • विगत चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हमालले हालसम्म २३० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
  • चलचित्र क्षेत्रमा 'महानायक'का रूपमा चिनिए पनि हमाल आफूलाई केवल एक कलाकारका रूपमा चिनाउन चाहन्छन् ।

काठमाडौं । अहिले अभिनेता राजेश हमाल अस्ट्रेलिया भ्रमणमा छन् । पत्नी मधुसहित उनले त्यहाँको पर्थमा रमाइलो गरिरहेको भिडियो देख्न सकिन्छ ।

अभिनेता हमाल मंगलबार जन्मदिन मनाउँदैछन् । हमालको उमेर कति भयो होला ? प्रशंसकले बारम्बार सोधिरहने प्रश्न हो यो । उमेरबारे फ्यानको कौतुहलतामा हमाल ठट्यौली जवाफ दिँदै भन्छन्– मेरो उमेर २५ भन्दा माथि छैन ।’

तर, यथार्थमा हमाल आजदेखि ६२ वर्षमा टेके । नेपाली फिल्मको विकासमा उनले दिएको उनले दिएको योगदान, निरन्तरता र इमान्दारिताको तुलनामा उमेर गौण हो । ४ दशकसम्म एउटै विधामा टिक्नु चानचुने कुरा होइन ।

उही गति र शानदार उपस्थिती । उही क्रेज, जोश अनि जाँगर । गजबको विशेषता र शैली नै हमालको पहिचान हो । नेपाली समाजका थुप्रै चरित्रमा हमालले आफूलाई उभ्याइसकेका छन ।

अभिनय गर्न आउँदैन भनेर आलोचना गर्नेलाई गतिलो उदाहरण हुन् उनले निर्वाह गरेका चरित्र । फिल्म ‘भीष्म प्रतिज्ञा’मा उनले निर्वाह गरेको तराइको पात्रले त्यतिबेला सकारात्मक सन्देश प्रवाह गर्‍यो ।

दुःखी पात्र बनेर गरिब नेपाली युवाको प्रतिनिधित्व गरेको फिल्म ‘भरिया’को भारी बोकेर जीवन चलाउने भूमिकादेखि सैनिक अधिकृत हुँदै गाउँले चरित्र निर्वाह गरेको कारण उनको पात्रले मन जिते ।

अभिनयको विविधतामा आफूलाई प्रस्तुत गर्न सकेनन् भन्ने आरोपबारे उनले प्रष्टीकरण दिने गरेका छन्- ‘म फिल्मबाहेक अन्य विधामा लागेको भए यति धेरै भूमिकामा देखिन सक्दिनथेँ होला । मैले जीवनमा नै नसोचेको र नदेखेको अनि नभोगेको चरित्र निर्वाह गर्ने अवसर पाएको छ ।’

उनी अघि भन्छन्- ‘मलाई लाग्छ, कलाकारिताको यो यात्रामा मैले जति चरित्र निर्वाह गरेको सायदै अरू कलाकार हुनुहुन्छ होला । मैले अभिनय गर्न जानिन, सकिन र सक्दिन भन्नेहरूले मैले निर्वाह गरेका फिल्म हेर्ने कि ?’

हमालले प्रतिप्रश्न गर्ने गरेका छन्, ‘मैले गरेको गाउँले, पहाडिया, मधेशी, हिमाली, सहरिया, खलनायक, विद्रोही युवा, धनी युवा, डाक्टरदेखि सरकारी कर्मचारी आदि पात्रमा मैले आफूलाई प्रस्तुत गरेँ । यी सबै चरित्रमा आफूलाई प्रस्तुत गर्दा मैले जानी नजानी विविधता प्रस्तुत गर्न सकेको जस्तो लाग्छ ।’

आफू आबद्ध भएका फिल्म होस या विज्ञापन नै किन नहोस, या कुनै सामाजिक सस्था वा क्रियाकलाप नै, उनी शतप्रतिशत दायित्व पुरा गर्न पछाडि पर्दैनन । उनले पेशाप्रति देखाएको नैतिकता र इमान्दारिता आजका पुस्तका लागि पनि मार्गदर्शन बन्न सक्छ ।

जतिबेला वर्षमा मुस्किलले ५ वटा मात्र फिल्म निर्माण हुन्थे, एउटा फिल्म खेलेपछि अर्को बन्ने हो कि होइन वा कहिले बन्ने हो, फेरि खेल्न पाइने हो कि होइन ? परिणाम अनिश्चित थियो । सीमित फिल्म वरपर घुमिरहेको रहेको नेपाली फिल्मको विकल्प र उपाय हुँदाहुँदै पनि हमालले फिल्म नै रोजे । यसैमा तनमनसहित आफूलाई समर्पित गरे ।

आजसम्म २३० भन्दा धेरै फिल्म खेलिसकेका हमालले तिनमा निर्वाह गरेका चरित्र जीवन्त छन् । दर्शकको हृदयमा अमिट छाप बनेर बसेका छन् । हमाल सम्झिन्छन्, ‘मैले पहिला हेरेको नेपाली फिल्म हिजो आजभोली हो । त्यति बेला मलाई यो फिल्मको कथावस्तु मन परेको हो भने आफ्नो कालखण्डमा स्तरिय लागेको फिल्म भने माइतीघर हो ।’

हमाललाई आफूले खेलेका नेपाली फिल्ममध्ये मनपरेको भने ‘युगदेखि युगसम्म’ र ‘देउता’ हुन । नेपाली फिल्ममा ‘महानायक’को रूपले चिनिने हमालले आफूलाई भने कहिले पनि महानायक ठानेनन् र त्यो भन्न पनि लगाएनन् । उनी आफूलाई केवल कलाकारको रूपले चिनाउन चाहन्छन । उनको यो पाटोलाई शालिनताको रूपमा लिइन्छ ।

यतिबेला अष्ट्रेलियाको यात्रामा रहेका उनै हमाललाई ६२ औं जन्मदिनको शुभकामना !

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?