+
+
Shares

बालेनलक्षित राजेश हमालको टिप्पणी : राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता नभए चुनौती आउनसक्छ

उनले राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना आउन सक्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालले प्रधानमन्त्री बालेन शाहको नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति सामाजिक सञ्जालमार्फत घुमाउरो रूपमा असहमति जनाएका छन् ।
  • उनले नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने बताएका छन् ।
  • हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई राज्य-प्रायोजित भू-अतिक्रमणको प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन् ।

२२ जेठ, काठमाडौं । हालै संसद् बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ । उक्त अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले प्रधानमन्त्रीको आलोचना गरिरहेका छन् भने कतिपयले कूटनीतिक विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै विरोध जनाएका छन्।

यही सन्दर्भमा अभिनेता राजेश हमालले सामाजिक सञ्जालमार्फत नेपालको सीमासम्बन्धी बहसमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको भनाइप्रति घुमाउरो रूपमा असहमति जनाएका छन् ।

उनले राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना आउन सक्ने बताएका छन् ।

हमालले भनेका छन्, ‘आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।’

हमालले नेपालको सीमा सम्बन्धी विवादमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक विषय भएको उल्लेख गरेका छन् । उनका अनुसार सीमापार अतिक्रमण प्रायः स्थानीय नागरिक, खुला सीमा, नदीको धार परिवर्तन, हराएका सीमा स्तम्भ वा बस्ती विस्तारजस्ता कारणसँग सम्बन्धित हुन्छ ।

यस्ता समस्या प्रशासनिक तथा स्थानीय प्रकृतिका हुने भएकाले संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिने उनले बताएका छन् ।

तर राज्य–प्रायोजित भू–अतिक्रमण भने पूर्णतः फरक प्रकृतिको विषय भएको हमालको भनाइ छ । उनका अनुसार यस्तो अवस्थामा कुनै राष्ट्र आफैं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुन्छ । त्यसका लागि सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन, सरकारी नक्सा संशोधन तथा राज्यको अधिकार औपचारिक रूपमा लागू गर्ने काम गरिन्छ ।

हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन् ।

हमालको यो अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्री बालेन शाहको हालैको विवादास्पद भनाइप्रतिको अप्रत्यक्ष प्रतिक्रिया र आलोचनाका रूपमा व्याख्या गरेका छन्् ।

२१ फागुनको पूर्वसन्ध्यामा पनि हमालले एक भिडियो सन्देश जारी गर्दै नयाँ दल र उम्मेदवारप्रति घुमाउरो ढंगले कटाक्ष गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?