+
+

सकियो किम्फ, ‘भगवानको भैंसी’ले जित्यो पर्वतीय फिल्मको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ११:५२

२८ मंसिर, काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९ औं संस्करण सम्पन्न भएको छ ।

महोत्सवमा छायाँकर विष्णु कल्पितले  निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो ‘गड्ज बफ्यालो’ अर्थात् ‘भगवानको भैंसी’ले सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड जितेको छ । अवार्डसँगै यो चलचित्रले १ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

यो चलचित्रले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधामा समेत अवार्ड जित्दै ७५ हजार रुपैयाँ हासिल गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कल्पितलाई पुरस्कार प्रदान गरेका थिए । यस्तै महोत्सवमा नेपाल पानोरमा खण्डमा किरण श्रेष्ठ निर्देशित फिल्म ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान फिल्म बन्यो । अवार्डसहित यो फिल्मले १ लाख रुपैयाँ नगद पुरस्कार समेत जितेको छ ।

नेपाल पानोरमा खण्डमै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो फिल्म ‘द बिग हेडेड ब्वाई, स्यामन्स एण्ड सामुरिज’ले स्पेसल मेन्सन अवार्ड जितेको छ ।

अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो फिल्म ‘एभरेस्टः द हार्ड वे’ सर्वोत्कृष्ट बन्यो । यो फिल्मले नगद २ लाख रुपैयाँ पुरस्कार जितेको छ ।

कोलम्बियाली निर्देशक भिभियाना गोमेजको निर्देशनमा बनेको ९२ मिनेट लामो फिल्म ‘बिट्विन फायर एण्ड वाटर’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेको छ । फिल्मले डेढ लाख रुपैयाँ पुरस्कार जितेको छ ।

१०५ मिनेट लामो अमेरिकी फिल्म ‘आफ्टर अन्टार्कटिका’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गर्न सफल भयो । यो फिल्मले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । तासा भान ज्यान्डट निर्देशित फिल्मले ध्रुवीय अनुसन्धानकर्ता विल स्टिगरले अन्टार्कटिका पुगेर फर्किएपछि पृथ्वीका दुई ध्रुवमा देखिएको वातावरणीय परिवर्तनको कथालाई उठान गरेको छ ।

अन्तर्राष्ट्रिय विधातर्फ अरमेनियाली निर्देशक तामारा स्टेफनयानले निर्देशन गरेको ‘भिलेज अफ वुमन’ले स्पेसल मेन्सन अवार्ड जित्न सफल भयो । ८३ मिनेट लामो यो फिल्मले पुरुषबिनाका ९ महिना कसरी महिला, बालबालिका र वृद्धवृद्धाले एउटा गाउँमा आफ्नो जीवनलाई अगाडि बढाउँछन् भन्ने कथालाई देखाएको छ । किम्फ चलचित्र विकास बोर्डको हलमा पाँच दिनसम्म चलेको थियो ।

समापन कार्यक्रममा मा डोमिनिक बुस र जोन पोर्टरको निर्देशनमा बनेको ‘एभरेस्टः बाइ दोज हु वेयर दियर–१९२१, १९२२, १९२४’ फिल्म प्रदर्शन गरिएको थियो । महोत्सवमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा सहभागी भएका थिए ।

हिमाल एशोसियसनले आयोजना गरेको फेस्टिभलमा जलवायु परिवर्तन, लैंगिकता, महिनावारी, स्वास्थ्यजस्ता मुद्दामा छलफल भएको थियो । महोत्सवको उद्घाटन वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले गरेका थिए ।

किम्फको १९ औं संस्करणमा निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलिन फिंक र स्वीस लेखक मारियो कासेला जुरी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?