
२८ मंसिर, काठमाडौं । अभिनेता सविन श्रेष्ठले सोमबार शुभसाइत गरिएको चलचित्र ‘म’लाई आफ्नो कमब्याक चलचित्र भनिरहँदा उनी अभिनित दुई चलचित्रको पोष्टर भने काठमाडौंका विभिन्न ठाउँका भित्तामा देखिन्छन् ।
यसको अर्थ, सविनले अभिनय गरेका चलचित्र हलमा प्रदर्शन भइरहेका छन् । तर, ती चलचित्र कुन हलमा रिलिज भएका छन् भन्ने न त सविनलाई नै थाहा छ न त दर्शकलाई ।
सविनले लकडाउनअघि केही चलचित्रमा काम गरे । जसमध्ये दुईवटा चलचित्र दशैंपछि रिलिज भएका छन् । तर, देशमा सिंगल हलको क्रेज कमजोर बनेको बेलामा सविनले पैसाकै लागि काम गरेका चलचित्रले रिलिजका लागि ठूला हल नै पाएनन् । सविन कुनै समय नेपाली चलचित्रमा राम्रै माग भएका नायक हुन् । तर, अहिले उनको चलचित्रको पोस्टर भित्तामा देखिँदा समेत दर्शकले पत्तो नपाउने अवस्था आएको छ । सविन अझै आफ्ना केही चलचित्र रिलिज हुन बाँकी नै रहेको बताउँछन् ।
कुनै समय नायक सुमन श्रेष्ठको पनि यस्तै अवस्था थियो । साना बजेटमा बनेका अधिकांश चलचित्रमा उनले काम गरेका थिए । तर, ती चलचित्र सबै असफल हुँदा सुमन चलचित्र क्षेत्रबाट नै हराएका थिए ।
सविनले पनि अफर आएका सबै चलचित्रमा काम गर्दा उनको क्रेज अहिले चलचित्र क्षेत्रमा कमजोर छ । सविन आफूलाई ‘म’ नामक चलचित्रले उठाउने आशामा छन् ।
प्रतिक्रिया 4