+
+

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा जुटेन सहमति

बन्दशत्र अनिश्चित

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र सदस्य चयनमा सहमति जुट्न नसक्दा बन्द सत्र अनिश्चित बनेको छ ।

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर २८ गते २०:५२

२८ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र सदस्य चयनमा सहमति जुट्न नसक्दा बन्द सत्र अनिश्चित बनेको छ ।

आइतबारदेखि प्रदेशको अस्थायी राजधानी धनगढीमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि छलफल चलिरहे पनि सहमति जुट्न सकेको छैन ।

सोमबार साँझ ८ बजे बन्द सत्रमा पेश भएका ११ वटा राजनीतिक प्रतिवेदनमाथिको सामूहिक छलफलपछि मंगलबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको थियो । तर अपरान्हसम्म बन्द सत्र शुरु हुन सकेको छैन ।

‘नेताहरुबीच प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको विषयमा सहमति जुटन नसक्दा ८ बजे शुुरु हुने भनिएको बन्द सत्र अझै चल्न सकेको छैन,’ एक नेताले भने, ‘आकांक्षीहरु छुट्टाछुुट्टै छलफलमा व्यस्त छन् । प्रतिनिधिहरु उचित निर्णयको पर्खाइमा छन् ।’

माओवादी स्रोतका अनुसार प्रदेश समितिका सदस्य चयनका विषयमा कुरा मिल्न सकेको छैन । ‘तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा पार्टी सदस्य संख्याको आधारमा प्रदेश समितिमा सदस्यहरुको कलस्टर मिलाउने कुरा जोडदार रुपमा उठेको छ,’ स्रोतले भन्यो, ‘यो विषयमा सकरभर आज साँझसम्म टुुङ्गो लागेर बैठक सञ्चालन हुने सम्भावना छ । तर पदाधिकारीमा भने अझै कुरा मिल्न समय लाग्ने देखिन्छ ।’

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको २२३ सदस्यीय प्रदेश समिति रहनेछ । प्रदेश समितिमा अनिवार्य रुपमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ ।

अध्यक्ष, उपाध्यक्षलगायतका पदमा आकांक्षी धेरै हुँदा सहमतिकै आधारमा प्रदेश समिति चयन गर्ने प्रयास सफल हुन सकेको छैन ।

माओवादी केन्द्रका निवर्तमान प्रदेश सचिव नेपबहादुर चौधरीले नयाँ नेतृत्व सहमतिका आधारम चयन गर्न छलफल जारी रहेको बताए ।

‘सकेसम्म सर्वसम्मत रुपले प्रदेश समिति चयन गर्ने योजनाअनुसार हामीले सहमतिको प्रयास पनि जारी राखेका छौँ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘तर अहिलेसम्म आकांक्षीहरुबीच सहमति हुन सकेको अवस्था छैन । सहमति भएन भने हामी निर्वाचन प्रक्रिया अगाडि बढाउछौँ ।’

चौधरीले मंगलबार साँझसम्म आकांक्षीहरुकाबीचमा सहमति जुट्ने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षका लागि अहिलेका अध्यक्ष शरदसिंह भण्डारी, नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी र हरि ज्ञवालीलगायतका नेता आकांक्षी छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?