२१ भदौ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कैलालीको धनगढीमा आइतबार आयोजित १८ औं मुक्त हलिया दिवसका अवसरमा ‘मुक्त हलियाहरूको दिगो र न्यायोचित पुनर्स्थापनाका सन्दर्भमा सरोकारवालाबीच प्रदेशस्तरीय संवाद’ कार्यक्रममा मुख्यमन्त्री भट्टले मुक्त हलियाको पुनर्स्थापनालाई राहत वितरणमा मात्र सीमित नगरी दीर्घकालीन समाधानतर्फ अघि बढाउनुपर्ने बताए ।
वास्तविक पीडित मुक्त हलियाका समस्या र मागप्रति प्रदेश सरकार गम्भीर तथा जवाफदेही रहेको उल्लेख गर्दै उनले उनीहरूको पीडाप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताए ।
मुख्यमन्त्री भट्टले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्नुको कारणबारे गम्भीर समीक्षा गरी आगामी दिनमा ठोस योजना र परिणाममुखी कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
समस्या समाधान हुन नसक्नुमा राज्य पक्ष वा सम्बन्धित सङ्घसंस्थामध्ये कसको कमजोरी रह्यो भन्ने विषयमा समेत समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।
‘समस्या समाधानका लागि विगतको समीक्षा गर्दै कमजोरी पहिचान गर्नुपर्छ । त्यसबाट निष्कर्ष निकालेर मुक्त हलियाका समस्या समाधानतर्फ ठोस रूपमा अघि बढ्नुपर्छ’, मुख्यमन्त्री भट्टले भने, ‘मुक्त हलियाको दिगो पुनर्स्थापनाका लागि आवास, शिक्षा, रोजगारी, जीविकोपार्जन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’
मुक्त हलियाको आर्थिक तथा सामाजिक अवस्था सुधार हुने गरी पुनर्स्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार, स्थानीय तह, सम्बन्धित सङ्घसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री भट्टले उल्लेख गरे ।
प्रतिक्रिया 4