News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेकपा एमालेको समर्थनमा खगराज भट्टलाई प्रदेशको पाँचौं मुख्यमन्त्रीका रूपमा शुक्रबार नियुक्त गर्नुभएको छ।
- २०७९ को निर्वाचनमा डडेल्धुरा प्रदेश सभा (क) बाट निर्वाचित भट्टले सपथ ग्रहणपछि पदभार सम्हाल्दै प्रदेशवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
- २०४७ सालदेखि राजनीतिमा सक्रिय भट्ट लामो समयपछि आफ्नो मुख्यमन्त्री बन्ने चाहना पूरा भएको र यसले जिम्मेवारीको भारी थपेको बताउनुभयो।
२९ साउन, धनगढी । १७ मंसिर २०७९ मा डडेल्धुराको जोगबुुढामा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै शेरबहादुर देउवाले भनेका थिए, ‘खगराज भट्टलाई जिताएर पठाउनुहोस्, मुख्यमन्त्री बनाउँछौं । उहाँ योग्य मान्छे हो ।’
२०६४ सालदेखि नेपाली कांग्रेसका निवर्तमान सभापति देउवासँग संसदीय चुनाव लड्दै आएका भट्टलाई मुख्यमन्त्री बनाउने वाचा गरेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सोही मञ्चमा थिए । प्रचण्डले पनि भट्टलाई मुख्यमन्त्री बनाउने देउवासँग समझदारी भएको बताएका थिए ।
तर, देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने वचन पूरा गर्न सकेनन् । चुनावपछि एमाले र तत्कालीन माओवादीले संघसहित प्रदेशहरूमा पनि सरकार बनाएको थियो । चुनाव लगत्तै सुदूरपश्चिमको मुख्यमन्त्री एमालेका राजेन्द्रसिंह रावल भए ।
रावल नेतृत्वको सरकार एक महिनामै ढल्यो । त्यसपछि माओवादी र नागरिक उन्मुक्ति पार्टी समेतलाई साथमा लिएर कांग्रेसका कमलबहादुर शाह मुुख्यमन्त्री बने । जेनजी आन्दोलनपछि देउवा राज्यसत्ता र पार्टीसत्ताबाट बाहिरिए । अहिले बल्ल खगराज भट्ट मुख्यमन्त्री बन्ने पालो आएको छ ।
नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई शुक्रबार सुदूरपश्चिमको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुुक्त गरेका छन् । भट्टले शुक्रबार नै पद तथा गोपनीयताको सपथ ग्रहणपछि पदभार सम्हादैछन् ।
२ पुस २०३१ सालमा डडेल्धुराको अजयमेरु गाउँपालिका–३ को चौडीमा जन्मिएका भट्ट २०४७ सालदेखि पूूर्णकालीन राजनीतिमा आवद्ध छन् । नेकपा एकता केन्द्रको सदस्यता लिएर राजनीतिक यात्रा तय गरेका भट्ट २०७९ को चुनाव डडेल्धुरा प्रदेश सभा(क) बाट निर्वाचित भएका थिए ।
पहिलो पटक प्रदेशको संसदीय चुनाव जितेका भट्ट २०६४ सालदेखि नै चुनाव लड्दै आएका थिए । पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवासँगै भट्टले २०६४, २०७० र २०७४ गरी तीन पटक प्रतिस्पर्धा गरे तर सफल भएनन् । २०७९ सालमा भने देउवाकै साथ पाएर उनी प्रदेशसभाको चुनाव जित्न सफल भएका थिए ।

चुनावको बेला देउवाले मुख्यमन्त्री बनाउने उधारो वचन दिएको बताउने भट्टलाई अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री बनाएका छन् ।
आईएल तहसम्मको शिक्षा हासिल गरेका भट्ट किशोरावस्थामै तत्कालीन राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनसँग आफूलाई जोडेका व्यक्ति हुन् ।
२०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गर्दै औपचारिक रूपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका भट्ट २०५० असोजदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय भए ।
राजनीतिक जीवनको प्रारम्भिक चरणमै भट्ट विद्यार्थी आन्दोलनमा सक्रिय भए । अखिल क्रान्तिकारीको संगठन विस्तार र सुदूरपश्चिममा विद्यार्थी राजनीतिको विकासमा उनले भूमिका निर्वाह गरेका थिए । उनी सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला लगायतका जिल्लामा संगठनात्मक गतिविधि विस्तार गर्दै क्रमश: जिल्ला तहबाट क्षेत्रीय र केन्द्रीय राजनीतिक जिम्मेवारीतर्फ अघि बढेका थिए ।
२०५२ सालमा माओवादी आन्दोलन सुरु भयो । आन्दोलनकै क्रममा २०५२ फागुन २४ गते उनी अमरगढी नगरपालिका–३ बाट पक्राउ परे । त्यसपछि राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दामा २०५३ पुस ८ गतेसम्म जेलमा रहे ।
जेलबाट मुक्त भएपछि उनी पुन: राजनीतिक गतिविधिमा फेरि सक्रिय भए । माओवादी जनयुद्धको अवधिमा भट्टले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हालेका छन् । उनी कठिन राजनीतिक परिस्थितिमा संगठन विस्तार र कार्यकर्ता परिचालन गर्ने अग्र पंक्तिका नेता मान्निछन् ।
२०६० सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिमा प्रवेश गरेपछि भट्टले पार्टीको केन्द्रीय तथा क्षेत्रीय जिम्मेवारीमा रहेर राजनीतिक तथा संगठनात्मक कामलाई पनि निरन्तरता दिए ।
नेपालको शान्ति प्रक्रियापछि उनी भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिक तथा संसदीय अभ्यासमा प्रवेश गरेका थिए । संविधानसभा तथा त्यसपछिका निर्वाचनमा उनी डडेल्धुराबाट उम्मेदवार बन्दै आएका थिए ।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै आएका भट्ट २०७९ मा भने उनकै समर्थनमा प्रदेशसभा झरेका थिए । तत्कालीन माओवादी केन्द्रको प्रदेश इन्चार्जको भूमिकासमेत निर्वाह गरिसकेका भट्ट अहिले नेकपाको प्रदेश संसदीय दलको नेताको भूमिकामा पनि छन् ।
माओवादी, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी मिलेर बनेको नेकपा सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल हो ।
कांग्रेसका निवर्तमान सभापति देउवा र प्रचण्डको वचनअनुसार चुनावपछि फेरिएको समीकरणका कारण उनी मुख्यमन्त्री बन्न पाएका थिएनन् । त्यसैले उनी बेलाबखत प्रदेशसभा सदस्य बनेकोमा चिन्ता व्यक्त गर्थे । तर भट्टको मुख्यमन्त्री बन्ने चाहना अहिले आएर पूरा भएको छ ।
मुख्यमन्त्रीमा नियुुक्त भएपछि भट्टले धेरै ठूलो चमत्कार नगरे पनि प्रदेशवासीको हितमा काम गर्ने प्रतिक्रिया दिएका छन् । ‘चमत्कारै त गर्छु भन्न सकिँदैन तर २७ लाख सुदूरपश्चिमवासीको हित हुने काम गर्छु,’ भट्टले भने, ‘यो नियुक्तिले जिम्मेवारी र चुनौतीको भारीले थिचेको महसुुस गरेको छु ।’
भट्ट सुदूरपश्चिमको पाँचौं मुख्यमन्त्री हुन् । नियुुक्तिका हिसाबले पनि प्रदेशसभाको दोस्रो कार्यकालमा उनी पाँचौं पटक नियुुक्त भएका मुख्यमन्त्री बनेका छन् । कार्यकालको सुरुवातमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर, राजनीतिक समीकरण फेरिएपछि उनी मन्त्रिपरिषद्ले समेत पूर्णता नपाउँदै बिदा भएका थिए । त्यसपछि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए । शाह २६ माघ २०७९ मा पहिलो पटक र २० साउन २०८१ मा दोस्रो पटक मुख्यमन्त्री बनेका थिए ।
त्यो बीचमा एकीकृत समाजवादी पार्टीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री बने । ६ वैशाख २०८१ मा नियुुक्त सोडारीले साढे दुई महिनामै पद छाड्नु परेको थियो । उनी त्यो बेला एमाले, माओवादी, नाउपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । कांग्रेस र एमालेको समीकरण बनेपछि साउनमा पदमुक्त हुनु परेको थियो ।
प्रतिक्रिया 4