+
+
Shares

तीन प्रदेशका मुख्यमन्त्रीमा ओलीको आफ्नै रोजाइ

बागमतीमा ल्याउन चाहन्छन् किरण थापामगर

प्रचण्डसँग तीन बुँदे सहमति गर्दा पनि ओलीले यी दुई नेताको सहमति लिएका थिए । यसका लागि ओलीले पौडेल र पोखरेललाई भेटेरै छलफलमा बस्न आग्रह गरेका थिए । तीन बुँदे सहमतिपछि भने भेटवार्ता हुन सकेको छैन ।

सइन्द्र राई सइन्द्र राई
२०८३ साउन १३ गते २१:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपासँग प्रदेश सत्ता साझेदारीका लागि तीन बुँदे सहमति गरे पनि आफ्नै पार्टीका पदाधिकारीसँग संवाद गर्न सकिरहेका छैनन् ।
  • पार्टी पुनर्निर्माणको एजेन्डा बोकेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसँग ओलीले भेट गर्ने भाका पटक–पटक सरेको छ ।
  • आफ्ना विश्वासपात्रलाई मुख्यमन्त्री बनाउन ओलीले कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व परिवर्तनको गृहकार्य थालेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

१३ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग प्रदेश सत्ता साझेदारीमा तीन बुँदे सहमति गरेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेताहरूसँग भने वार्ता गर्न सकिरहेका छैनन् ।

स्रोतका अनुसार पछिल्लो चार दिनदेखि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँग भेटवार्ता गर्ने भाका सर्दै आएको छ । ‘आज पनि भेट गर्ने भन्ने थियो, तर हुन सकेन,’ स्रोत भन्छ ।

गत शनिबार व्यवसायी शारदाप्रसाद अधिकारीको निवासमा तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर हुँदा ओलीसँगै पौडेल पनि देखिएका थिए । त्यस दिन महासचिव पोखरेलसँग सल्लाह गरेरै पौडेल सहमतिको साक्षी बन्न गएको स्रोत बताउँछ ।

‘तीन बुँदेमा जे लेखिएको हो, त्यस बाहेक पार्टीभित्र थप छलफल भएको छैन,’ उनी भन्छन्, ‘छलफल गर्ने भनिएको भाकाहरू सर्दै आएको छ ।’

यसअघि एमालेमा ओलीको एकलौटी चल्ने गरेको थियो ।

तर, गत २१ फागुनको निर्वाचनपछि पदाधिकारीभित्रै ओली अल्पमतमा छन् । विष्णु पौडेल र शंकर पोखरेल सहितका पदाधिकारीले पुनगर्ठन अभियान चलाइरहेकाले ओलीले पार्टी निर्णय एक्लै गर्न सक्ने स्थिति छैन ।

उच्च स्रोतका अनुसार प्रचण्डसँग तीन बुँदे सहमति गर्दा पनि ओलीले यी दुई नेताको सहमति लिएका थिए । यसका लागि ओलीले पौडेल र पोखरेललाई भेटेरै छलफलमा बस्न आग्रह गरेका थिए ।

तीन बुँदे सहमतिपछि भने भेटवार्ता हुन सकेको छैन । ‘नेकपालाई मुख्यमन्त्री दिएको प्रदेशहरूमा छलफल छलफल गर्नुपरेन । तर हामीले मुख्यमन्त्री पाउने प्रदेशहरूमा निर्णय गर्नुपर्‍यो, त्यो हुन सकेको छैन,’ एक पदाधिकारीले बताए ।

उनका अनुसार पौडेल र पोखरेलले छलफलका निम्ति गुन्डु जाने भाका सर्दै जानुमा भने ओलीले दिएको संकेत कारण हो ।

‘कोशी र लुम्बिनीको मुख्यमन्त्री फेर्ने तयारीमा अध्यक्ष देखिनुभएको छ । बागमतीमा पनि जुनियर नेतालाई मुख्यमन्त्री बनाउने योजना बनिरहेको बुझिन्छ,’ उनी भन्छन्, ‘अहिलेको मुख्य समस्या यही हो ।’

पौडेल र पोखरेल पक्षधर भने कोशी र लुम्बिनीका मुख्यमन्त्रीलाई निरन्तरता दिने पक्षमा छन् भने बागमतीमा पनि संसदीय दलका नेताले नै अवसर पाउनुपर्ने तर्क गरिरहेका छन् । कर्णालीमा समेत मुख्यमन्त्री फेर्न नहुने पक्षमा उनीहरू थिए ।

तर नेकपाको भागमा परिसकेकाले पार्टी सचिव समेत रहेका यामलाल कँडेलले राजीनामा बुझाएर नयाँ सरकार बनिसक्यो ।

साथ दिनेलाई अवसर

अध्यक्ष ओली भने सबै प्रदेशमा नयाँ मुख्यमन्त्री बनाउने गृहकार्य गरिरहेका छन् । मुख्यमन्त्री बनाउन चाहेका नेताहरुलाई गुन्डु बोलाएर छलफल गरिरहेको संकेत थाहा पाएपछि इतरसमूह सशंकित छ ।

‘पार्टी पुनगर्ठन गरिनुपर्छ भन्ने कसैलाई पनि सरकारमा नराख्ने योजनामा अध्यक्ष देखिनुभयो,’ एक शीर्ष नेता भन्छन्, ‘मुख्यमन्त्रीहरू नै पुनगर्ठन अभियानमा देखिएकाले उपनेता अथवा अरु कसैलाई मुख्यमन्त्री बनाउने तयारी चलिरहेको छ ।’

ओलीको विशेष ध्यान भने बागमती प्रदेशमा रहेको नेताहरू बताउँछन् । यहाँ पनि सिनियर नेताहरू पन्छाएर किरण थापामगरलाई मुख्यमन्त्री बनाउने योजना बनिरहेको स्रोत बताउँछ ।

किरण थापामगर

थापा ०७३ सालमा राप्रपाबाट एमाले प्रवेश गरेका थिए । ‘राप्रपाबाट आउँदा वडाध्यक्षको उम्मेदवार र जिल्ला सदस्य बनाउने बचन दिइएको थियो,’ पार्टी प्रवेश गराउने मध्येका एक नेता भन्छन् ।

उनका अनुसार क्रसर र जग्गा व्यवसायी थापाले ०७४ को स्थानीय चुनावमा वडाध्यक्ष जिते पनि । कांग्रेसका उम्मेदवार विनोद भट्टराईले ६९१ मत पाउँदा १५४७ मत पाएर थापा वडाध्यक्ष निर्वाचित भए ।

०७९ को स्थानीय चुनावमा उनी मेयर बन्न चाहन्थे । तर राप्रपाबाट किरणलाई एमालेमा ल्याउन पहल गर्ने मध्येकै बासुदेव थापाले चाहना राखे । बासुदेवले मेयरको टिकट पाउँदा पनि किरण वडाध्यक्षमै दोहोरिन तयार थिए ।

तर ओलीका विश्वासपात्र महेश बस्नेतको साथ पाउँदा किरणले वडाध्यक्षबाट सिधै प्रदेश सांसदको उम्मेदवार बन्ने अवसर पाए । महेशले प्रतिनिधि सभाको चुनाव हार्दा किरणले सजिलै जिते ।

भक्तपुर–२ (क) बाट कांग्रेसका विष्णुराज कार्कीले ११ हजार ९३५ मत ल्याउँदा किरणले १५ हजार २४२ मत ल्याएर जिते । ५० वर्षीय किरण थापामगर दोहोरिएर प्रदेशको स्वास्थ्यमन्त्री भइसके ।

जेनजी आन्दोलनपछि ओलीसँग उनी थप नजिक भए । ओली हाल बसिरहेको गुन्डुको अस्थायी निवासको प्रबन्ध मिलाउनेदेखि नयाँ घर बनाउने अभियानमा उनी जोडिएका छन् ।

यसकै बदला ओलीले भक्तपुर एमालेका उपाध्यक्ष थापालाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।

जबकी बागमती एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको राजनीतिक इतिहास पाँच दशक लामो छ । ६० वर्षीय थपलिया २०२८ सालमै स्ववियु सचिव निर्वाचित भएका थिए ।

२०३२ सालमा गठित कोकेमा आवद्ध भएका उनी २०३६ सालमा मीनभवन क्याम्पसको सभापति निर्वाचित भएका थिए । पछि अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएका उनले ५ वर्ष जेलजीवन बिताउनु परेको थियो ।

बीचका केही वर्ष शिक्षणमा बिताए पनि उनी एमालेमा निरन्तर छन् । ०७९ को चुनावमा चितवन–१ (ख) बाट निर्वाचित थपलिया संसदीय दलका नेता छन् ।

०७४ सालमा डोरमणि पौडेल मुख्यमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका थपलिया पनि दुई पटक आर्थिक मामिला मन्त्री भइसकेका छन् । उनी पनि ओलीलाई साथ दिने नेतामै गर्छन् ।

तर जेनजी आन्दोलनपछि अधिक नजिक बनेका किरणलाई मुख्यमन्त्री बनाउन ओलीले संसदीय दलको नेता नै फेर्ने गृहकार्य गरिरहेका छन् । यद्यपि बागमतीमा एमालेले सरकार बनाउन अहिले पनि सजिलो छैन ।

प्रकाश श्रेष्ठ र अमनकुमार मास्केले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचन लडेकाले एमालेसँग २५ सांसद मात्रै छन् । नेकपासँग २६ सिट छ । ११० सदस्यीय प्रदेश सभामा हाल १०४ जना रहेकाले सरकार बनाउन ५३ जना आवश्यक छ ।

अर्थात १२ सांसदको राप्रपा, ३ सांसदको नेमकिपा र २ सांसदको हाम्रो नेपाली पार्टीसँग थप परामर्श आवश्यक छ । तर यसतर्फ भन्दा बढी आन्तरिक उम्मेदवारको चासोमा एमालेमा बढी देखिन्छ ।

‘बागमतीमा किरण थापामगरलाई मुख्यमन्त्री बनाउनुपर्ने हुँदा कोशी र लुम्बिनीमा चलिरहेका मुख्यमन्त्री हटाउन खोजिदैछ,’ अर्का एक पदाधिकारी भन्छन् । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की त ओलीकै निर्वाचन क्षेत्रका प्रदेश सांसद हुन् ।

कार्कीले झापा–५ (क) बाट चुनाव लड्दै आएका छन् । तर पछिल्लो समय कार्की नेतृत्व परिवर्तनको पक्षमा उभिएपछि उनलाई हटाएर ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने ओलीको तयारी छ ।

लुम्बिनीमा पनि चेतनारायण आचार्य हटाएर भूमिश्वर ढकाललाई मुख्यमन्त्री बनाउने गृहकार्य चलिरहेको नेताहरू बताउँछन् ।

भूमिश्वर ढकाल

 

मुख्यमन्त्री आचार्य महासचिव शंकर पोखरेल निकट नेता हुन् । ढकाल भने अहिले पनि ओलीलाई हटाउने प्रस्तावको विपक्षमा वकालत गर्दै आएका छन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?